site stats
बाह्रखरी :: Baahrakhari
देश
बालबालिकालाई दादुराबाट कसरी जाेगाउने ? लागेमा के गर्ने ? 
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको जनाएको छ । दादुरा महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले बालबालिकालाई दादुराविरुद्धको खोप दिन सुरु गरेको छ । यसअघि नेपालमा १३ जिल्लामा दादुरा रोगको संक्रमण देखिएको थियो । त्यसैले सरकारले नौ जिल्लाका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । 

दादुरा रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा संक्रमितले १८ जनासम्म रोग सार्न सक्छ । 

दादुरा बारे जान्नै पर्ने कुरा
दादुरा मिजल्स् भाइरसबाट हुने अति संक्रामक रोग हो । यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेषतः बालबालिकालाई लाग्न सक्ने मन्त्रालयले जनाएको छ । अति संक्रामक भएको कारण यो रोगले छिट्टै महामारीको रूप लिन सक्छ ।
“यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ,” मन्त्रालयले भनेको छ । 

दादुरा रोगविरुद्धको खोप अभियान आजदेखि सुरु 

11686271709.jpg

दादुराका लक्षणहरू
खोकी लाग्नु, उच्च ज्वरो आउनु, आँखा रातो हुनु, नाकबाट पानी बग्नु, शरीरमा राता मसिना बिमिराहरू देखिनु दादुराका लक्षणहरू हुन् । 

यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । “कम्पन हुनेजस्ता जटिलताको कारण मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ । त्यसैले दादुराका लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ, मन्त्रालयले स्पष्ट पारेको छ । 

21686271728.jpg

दादुराको विरामी पत्ता लागेमा गरिने उपचार तथा व्यवस्थापन
महामारी फैलन नदिन शंकास्पद विरामीहरूलाई आइसोलेसनमा राख्ने, हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने,  व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनु पर्नेमा मन्त्रालयको जोड छ । “बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुनुपर्छ । संक्रमित व्यक्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरू लैजान हुँदैन । घरभित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्नु पर्छ । संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहनु पर्छ,” मन्त्रालयको आग्रह छ, “दादुरा संक्रमित बालबालिकालाई साविकभन्दा बढी पोषिलो खानेकुरा खुवाउनु पर्छ । दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिन ए खुवाउनु पर्दछ ।” 

31686271746.jpg

दादुराबाट बच्न अपनाउनु पर्ने रोकथामका उपायहरू
दुई महिना र १५ महिनाका बालबालिकालाई दादुरा–रूबेला मिश्रित दुई मात्रा खोप अनिवार्य लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाँच वर्ष मुनिका बालबालिका दादुरा–रूबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउन सकिने पनि मन्त्रालयले जानकारी दिएको छ । 

“दादुरा–रूबेला भएको विरामीको सम्पर्कबाट टाढा रहनुपर्छ । ६ महिना देखि पाँच वर्षसम्मका बालबालिकालाई वर्षको दुई पटक वैशाख र कात्तिकमा महिनामा भिटामिन ए क्याप्सुल खुवाउनु पर्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरू खुवाउने र सरसफाईमा ध्यान दिनुनपर्छ ।

41686271767.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्