
काठमाडौं । पहिलो सेटमा पराजित भए पनि उत्कृष्ट पुनरागमन गर्न सफल नोभाक जोकोभिचले मंगलबार राति रुसका करेन खाचनोभलाई ३–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएका छन् । यससँगै कीर्तिमानी २३औँ ग्रान्डस्लामको उपाधि जित्ने जोकोभिचको सम्भावना कामय रहेको छ ।
दुईपटकको फ्रेन्च ओपन विजेता जोकोभिचले सुरुमा ११औँ वरियता प्राप्त खाचानोभको सर्भिसमा कमजोरी फेला पार्न सकेनन् । तर, दोस्रो सेटको टाइब्रेक लिएपछि सर्बियाका जोकोभिचले पछाडि फर्केर हेर्नु परेन । तेस्रो वरीयताका जोकोभिचले खाचनोभलाई ४–६, ७–६(७/०), ६–२, ६–४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
“उनले पहिलो दुई सेटमा उत्कृष्ट प्रदर्शन गरे । त्यतिबेला म आफ्नो लय भेट्टाउन संघर्ष गरिरहेको थिएँ । त्यतिबेला मेरो खेल अलि सुस्त थियो,’’ ३६ वर्षे जोकोभिचले भने, “त्यसपछि मैले उत्कृष्ट टाइब्रेक खेलेँ । त्यस क्षणदेखि मैले केही माथिल्लो स्तरमा खेल्न सकेँ । र, यो प्रतिस्पर्धालाई समाप्त गर्न लगातार आठ अंक जित्न सफल भएँ ।’’
यद्यपि जोकोभिच आफ्नो प्रदर्शनबाट पूर्ण रूपमा सन्तुष्ट थिएनन् । उनले आजको खेलमा जित सहज नहुने पहिले नै थाहा भएको बताए । उनले थपे, “मैले आज केही सजिलो शटहरूमा अंक गुमाए । यी चिजहरू कहिलेकाहीँ हुन्छन् । कहिलेकाहीँ यस्तो हुँदैन । उनको सर्भिस राम्रो छ । तर कहिलेकाहीँ त्यो राम्रोसँग चल्दैन । त्यसैले मैले उनलाई उजागर गर्ने प्रयास गरेँ । र अप्रत्याशित खेले । कडा प्रतिस्पर्धामा यो ठूलो जित हो । र, ग्रान्डस्लाम क्वार्टरफाइनलबाट यति नभए के आशा गर्ने ?’’
जोकोभिचले अब फाइनल प्रवेशका लागि विश्व नम्बर एक कार्लोस अल्कारेजविरुद्ध प्रतिस्पर्धा गर्ने छन् । अल्कारेजले गएराति नै पाँचौँ वरीयताका स्टेफानोस सिट्सिपसलाई ३–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । स्पेनका २० वर्षे अल्कारेजले ग्रिसका २४ वर्षे सिट्सिपसलाई ६–२, ६–१, ७–६(७/५) को स्कोरमा हराएका हुन् ।
‘‘पक्कै पनि तेस्रो सेटमा मैले राम्रोसँग ध्यानकेन्द्रित गर्न सकिनँ । मैले संघर्ष गर्नुपर्यो । तर, विजयी नतिजा निकाल्न सकेकोमा खुसी छु । उत्कृष्ट खेल भयो । अन्तिममा मलाई केही कठिन भयो,’’ अल्कारेजले खेलबारे भने, ‘‘मलाई आफूप्रति विश्वास थियो, जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यो स्तरमा यत्तिको प्रतिस्पर्धा हुन्छ भन्ने सदैव मेरो दिमागमा हुन्छ ।’’
जोकोभिचले दुईबीचको प्रतिस्पर्धा नजिकबाट नियाल्ने मौका पाएका छन् । र, जोकोभिच र अल्कारेजबीच शुक्रबार हुने सेमिफाइनलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
“यो खेल सबैले हेर्न चाहेका छन् । खेल्न र हेर्नको लागि वास्तवमै राम्रो खेल हुनेछ,’’ अल्कारेजले जोकोभिचविरुद्धको सेमिफाइनल खेलबारे भने, “यदि तपाईं उत्कृष्ट बन्न चाहनुहुन्छ भने उत्कृष्ट प्रतिद्वन्द्वीलाई हराउनुपर्छ । र जोकोभिच विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।’’