
काठमाडौं । कुनै पनि प्रतिस्पर्धामा भाग लिएपछि जित हासिल गर्नु खेलाडी वा टिमको उद्देश्य हुन्छ । तर, अन्तिम समयमा आएर हार व्यहोर्नुपर्दा सबैको मन खिन्न हुन्छ । मुखमा राख्नै लाग्दाको गाँस अर्काले खोसेजस्तै हुन्छ ।
फाइनलमा पराजित हुनुको यस्तो तितो अनुभव प्रशिक्षक उर्जन श्रेष्ठले जति अरूले सायदै बुझेका होलान् । श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली युवा टिमले खेलेका दुई दक्षिण एसियाली क्षेत्रीय प्रतियोगितामध्ये दुवैमा नेपाली टिमले निराशा व्यहोरेको इतिहास छ ।
सन् २०२२ मा श्रीलंकामा आयोजित यू–१७ र सन् २०२४ मा नेपालमा आयोजित साफ यू–२० प्रतियोगितामा प्रदर्शनमा अब्बल रहँदारहँदै पनि नेपाली युवा टिम फाइनलमा निराश बनेका थिए ।
उमेर समूहमा नेपालले सन् २०१५ मा पहिलोपटक दक्षिण एसियाली प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमै आयोजित साफ यू–१९ च्याम्पियनसिपमा घरेलु टिम च्याम्पियन बनेको हो । नेपालले यसबाहेक साफ च्याम्पियनसिप र उमेर समूहको साफ च्याम्पियनसिप भने जित्न सकेको छैन ।
सन् २०२२को साफ यू–१७ च्याम्यिनसिपमा नेपाल फाइनलमा भारतसँग २–०ले पराजित भएको थियो । सन् २०२४को साफ यू–२० च्याम्पियनसिपमा पनि बंगलादेशसँग ४–२ले पराजित भएको थियो । जब कि दुवै प्रतियोगितामा नेपालले दुवै टोलीलाई समूह चरणमा पराजित गरेको थियो ।
यही तितो इतिहासबीच नेपालले फेरि साफ यू–१९ मा सहभागिता जनाउँदै छ । प्रतियोगिता भारतमा मे ९देखि १८सम्म आयोजना हुने तालिका छ । प्रतियोगितामा नेपालले समूह चरणमा भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । यी तीन टोली समूह ‘बी’मा छन् ।
नेपालले आज (आइतबार) नेपाली समयानुसार ७ः४५ बजे उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध मंगलबार खेल्ने तालिका छ ।
प्रतियोगिताका निम्ति नेपाली युवा टिम भारत पुगिसकेको छ । विगतका अनुभवलाई सदुपयोग गर्दै प्रतियोगिताको उपाधि जिताउने लक्ष्यमा छन्, प्रशिक्षक उर्जन ।
“अघिल्लोपटक प्रशिक्षण दिएका चार–पाँचजना खेलाडी अहिले पनि टोलीमा छन् । मैले कसरी खेलाउँछु भन्ने खेलाडीले बुझेका छन् । टोलीमा नयाँ खेलाडीहरू समेटिए पनि उनीहरूलाई मैले प्रशिक्षणमा बुझाएको छु । यसपटक हामी जितेर आउँछौँ,” प्रशिक्षक श्रेष्ठले उत्साहका साथ भने ।
२३ सदस्यीय उक्त टोलीमा बी डिभिजन लिग खेलिरहेका १७ खेलाडी छन् भने यसअघि नै उमेर समूहबाट राष्ट्रको प्रतिनिधित्व गरिसकेका चार पुराना अनुहार छन् ।
मुख्य प्रशिक्षक श्रेष्ठलाई तेस्रो मौका
टोलीको नेतृत्व गरेका प्रशिक्षक उर्जन श्रेष्ठका लागि यो तेस्रो अवसर हो । प्रशिक्षक श्रेष्ठले यसअघि दुईपटक राष्ट्रिय टोलीको नेतृत्व लिइसकेका छन् । उनले सन् २०२२ मा नेपाली राष्ट्रिय यू–१७ र सन् २०२४ मा यू–२० पुरुष टोलीको नेतृत्व गरेका थिए ।
तर दुवैमा नेपाल उपविजेता बनेका थियो । यी दुवै संस्करणका उनै प्रशिक्षक श्रेष्ठको काँधमा तेस्रोपटक जिम्मेवारी आएको हो । उनी यसपटक विगतका प्रतियोगितामा गरेका गल्तीलाई नदोहोर्याउने बताउँछन् ।
“मैले दुईचोटि टिमको नेतृत्व गरिसकेको छु । तर दुर्भाग्यवश दुवैचोटि साना–साना गल्तीका कारण हामी चुक्न पुग्यौँ । तिनै टोलीलाई पहिले जितेर फेरि हार्नुपर्दाको पीडा त मैले भोगेको नै छु । हामीले यस्तै गल्ती नदोहोर्याउने गरी साना कुरामा पनि धेरै अभ्यास गरेका छौँ,” प्रशिक्षक श्रेष्ठले भने ।