
काठमाडौं । भुक्तानी कार्ड उद्योग सुरक्षा मापदण्ड परिषद् (पीसीआई एसएससी)को सल्लाहकार समितिमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) चयन भएको छ ।
कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी मापदण्डहरुको क्रमविकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको पीसीआई एसएससी अन्तर्राष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो ।
भिसा तथा मास्टरकार्ड जस्ता कार्ड नेटवर्कले पीसीआईबाट सर्टिफिकेसन अनिवार्य नै गरेको छ ।
कार्डमार्फत हुने कारोबारको सुरक्षा र तत्सम्बन्धी विकास हुने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने विश्वव्यापी संस्थाको सल्लाहकार समितिमा चयन भएकोमा नेप्सले गौरवान्तित भएको बताएको छ ।
सल्लाहकार समितिमा भएका सदस्य संस्थाले कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्छ । यसका साथै आआफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरी मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व गर्ने नेप्सले जनाएको छ ।
सल्लाहकार समितिको सन् २०२३ देखि २०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको र सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो । फलस्वरुप २०२३ जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको कम्पनीले जनाएको छ ।
यससँगै नेप्सले अमेजन, एप्पल, बैंक अफ अमेरिका, बार्कलेज बैंक, युरोपेली भुक्तानी काउन्सिल, एचडीएफसी बैंक, आईबीएम, जेपी मोर्गन, एनपीसीआई, येस बैंक, पेपल, माइक्रोसफ्ट जस्ता अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान प्रदान गर्ने बताएको छ ।
“यो हाम्रो लागि गौरवको विषय हो र यसले नेप्स नयाँ उचाइतर्फ बढिरहेको पनि संकेत गर्दछ,” नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्जिब सुब्बाले भनेका छन्, “हामीले यो अवसरलाई कार्डमार्फत हुने कारोबारको सुरक्षालाई अझै चुस्त र समयसापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नवीनता र सुरक्षित डिजिटल परिदृश्यको कल्पना साकार पार्ने चुनौतीको रुपमा पनि लिएका छौँ ।”