
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीविरुद्ध २–० को जित निकाल्दै न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगको सम्भावनालाई बलियो बनाएको छ ।
आइतबार घरेलु मैदान सेन्ट जेम्स पार्कमा न्युक्यासललाई जित दिलाउन सान्ड्रो टोनाली र ब्रुनो गुइमारेसले गोल गरे । खेलको दोस्रो मिनेटमा टोनालीले गोल गर्दै न्युक्यासललाई अग्रतामा राखेका थिए । निर्धारित ९०औँ मिनेटमा गुइमारेजले घरेलु टिमको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे ।
खेलको ३५औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्डको दर्शन गरेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । न्युक्यासलका स्भेन बोटमनमाथि कुइनाले प्रहार गरेपछि रेफ्रीले सुरुमा ज्याक्सनलाई पहेँलो कार्ड देखाएका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा रेफ्रीले पहेँलो कार्डको निर्णय परिवर्तन गर्दै सोझै रातो कार्ड देखाएपछि ज्याक्सनले मैदान छाडेका हुन् ।
जितसँगै ३६ खेलबाट ६६ अंक जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा छ । यो जितसँगै न्युक्यासलले शीर्ष पाँचमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । यो हारले चेल्सीको सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट ६३ अंक जोडेको चेल्सी तालिकाको पाँचौँ स्थानमा छ । चेल्सीलाई पछ्याइरहेको एस्टन भिल्लाको पनि समान ६३ अंक नै छ । यस्तै, सातौँ स्थानमा रहेको नटिङ्घमले पनि ३५ खेल खेल्दा ६१ अंक जोडेको छ ।