site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ ।

हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन् । इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएका छन् ।

यस्तै, प्रतिवादीतर्फका वकिललाई ६ दिनको समय दिइएको सूचना अधिकारी दाहालले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत १८ जनासँग न्यायाधीश न्यौपानेसमक्ष बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १८ र फरारसहित ३० जनाविरुद्ध संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग–दाबी गरेर जिल्ला अदालतमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो । रासस

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्