site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बढुवा, सरुवाको निम्ति दिने–लिनेलाई जेल हाल्छु : गृहमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने उनले उल्लेख गरे । राम्रो काम गरेँ भनेर आफू विश्राम गरेर नबस्ने उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

गृहमन्त्री श्रेष्ठले जुनसुकै पार्टीका नेता भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि दृढता व्यक्त गरे । आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरू पनि भ्रष्टाचारकाण्डमा परे कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको उनले बताए ।

बढुवा, सरुवाका निम्ति अनियमितता गरेर रकम दिने र लिने दुवैलाई जेल हाल्ने उनले सुनाए ।

“तपाईंहरूले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पत्ति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रूपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ । हामी आशा गर्छौँ, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन । राज्यका अरू अंगहरूले पनि सकारात्मक निर्णय गर्नेछ भन्ने आशा गर्नैपर्छ,” उनले भने, “हामीले एक÷दुईवटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौँ । हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचारकाण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन । त्यसरी नयाँ ढंगले काम गर्दै छौँ । सबैको सहयोग चाहिएको छ । हामीले संस्थागत र प्रणालीगत रूपमा काम गर्न जरुरी छ । खबरदार, अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई’नि जेल हाल्छु ।”

उनले आफू सयौँपटक चुनाव हार्न तयार रहेको तर निष्पक्ष र संवैधानिक मूल्य–मान्यता बिर्सन नसक्ने पनि बताए ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्