१. जिल्ला पञ्चायत सदस्यको चुनाव थियो । प्रत्येक दुई वर्षमा हो क्यारे ३ जना सदस्यको पद रिक्त हुन्थ्यो र चुनाव पनि हुन्थ्यो । तनहुँ जिल्ला पञ्चायतमा २७/२८ सालतिर ३ जना सदस्यको चुनाव हुनेभयो । जिल्ला सभासद्ले मत दिन्थे । उमेदवार धेरै हुन्थे । उमेदवारहरूले पनि ३ मत दिन पाउँथे । दुई जना उमेदवार अलि कमजोर थिए । सबैभन्दा बढी मत ल्याउने तीन जनाले जित्थे । धेरै उमेदवारले के ठानेछन् भने भोट ल्याउनेजस्तालाई दिए त उसले आफैँलाई हराइदिन सक्छ । त्यसैले उमेदवारहरूले एक भोट आपूmलाई र अरू भोट ती दुई जनालाई दिएछन् । मत गन्दा थाहा भयो कमजोर ठानिएका दुवै उमेदवारले चुनाव जितेछन् । भोट हालुन्जेल यिनलाई डमी भनेर जिस्क्याएका थिए । डमीले जितेपछि सबै जिल्ल परे ।
२. जनमत संग्रहपछि राष्ट्रिय पञ्चायतको चुनाव बालिग मताधिकारका आधारमा हुनेभयो । कांग्रेसले चुनाव बहिष्कार गर्ने भनेपछि प्रशासन सकेसम्म धेरै उमेदवार उठाउने रणनीतिमा लाग्यो । अर्कातिर अलि धेरै भोट ल्याउनेजस्ता उमेदवारले पनि गाउँपिच्छे उमेदवार उठाउने रणनीति अपनाए । तनहुँ जिल्लाबाट राष्ट्रिय पञ्चायतमा दुई जना चुनिन्थे । आफ्नै गाउँबाट उठेको उमेदवारलाई एक भोट जित्लाजस्तो उमेदवारलाई अर्को भोट दिने गाउँलेहरूको सल्लाह हुन्थ्यो । त्यसो गर्दा दुवै सिटमा स्थापित उमेदवार नै जित्थे । प्रतिस्पर्धामा आउने उमेदवारको भोट काटिन्थ्यो । यसैले गाउँपिच्छे आफू जित्न हैन अरूलाई हराउन उठ्ने उमेदवारहरूलाई ‘कैँची’ उमेदवार भन्ने गरिन्थ्यो । यस्ता कैँचीकै कारण राम्रा उमेदवार हारेर नराम्रा जित्ने पनि हुन्थ्यो । अनि मतदाता र कैँचीहरूसमेत पछुताउँथे ।
यसपटकको निर्वाचनमा कैँची उमेदवार देखापर्न थालेका छन् । कैँचीका कारण भोट काटिनेमा को को पर्ने हुन् र कैँचीहरू पछुताउने हुन् हैनन् ? तमासा देखिने नै छ ।