site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई स्वर्ण, भारत १४ स्ट्रोकले पराजित
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालले मंगलबार नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको टिम स्पर्धामा स्वर्ण पदक जितेको छ। नेपालका नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र सद्भाव आचार्यको टिमले भारतलाई १४ स्ट्रोकले पराजित गर्दै स्वर्ण पदक जितेको छ ।

सुवास र सद्भावको जोडीले आज दोस्रो दिन ७–अन्डर १३७ स्कोर जोडे। समग्रमा १७–अन्डर २७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरूले नेपाललाई स्वर्ण दिलाएका हुन्। आज सुवासले ४–अन्डर ६८ र सदभावले ३–अन्डर ६९ स्कोर गरे। सुवास र सदभावले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए।

समग्रमा ३–अन्डर २८५ सहित भारतले रजत पदक प्राप्त गर्‍यो। आज सुमित कोटवालले ८–अन्डर ६४ र सुरज जोशीले २–ओभर ७४ स्कोर गरे। यो जोडीले आज भारतको लागि ६–अन्डर १३८ स्कोर जोड्दै दोस्रो स्थान प्राप्त गरेको हो। समग्रमा ५–ओभर २९३ सहित भुटानले कास्य पदक हात पार्‍यो । आज ७–ओभर १५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले १–अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले ८–ओभर ८० मा खेल सकाए।

प्रतियोगिताको व्यक्तिगततर्फ भारतीय सुमित कोटवाल ८–अन्डर ६४ को सानदार स्कोरमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले समग्रमा १२–अन्डर १३२ सहित पहिलो दिनका लिडर नेपालका सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे। ४–अन्डर ६८ को कार्ड बनाएका सुवासले समग्रमा १०–अन्डर १३४ को स्कोर बनाउँदा दोस्रो स्थानमा तल झरे। राष्ट्रिय टिमका सदस्य सदभाव आचार्यले आज ३–अन्डर ६९ को स्कोर निकाले। समग्रमा ७–अन्डर १३७ सहित उनी तेस्रो स्थानमा छन् ।

यसैगरी भुटानका उगेन दोर्जी समग्रमा ४–अन्डर १४० सहित चौथो, नेपालका टासी छिरिङ र भारतका बरूण मुथप्पा समग्रमा २–अन्डर १४२ सहित संयुक्त रूपमा पाँचौँ स्थानमा रहे। यस्तै नेपालका वाङचेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा १–ओभर १४५ सहित सातौँ तथा पाकिस्तान उमैर सलिम र नेपालका टासी डोङले समग्रमा ५–ओभर १४९ स्कोरका साथ संयुक्त रूपमा नवौँ स्थान बाँडे।

भारतका सुमितले बोगी रहित ८–अन्डरको स्कोर बनाउँदा फ्रन्ट र ब्याक नाइन दुवै ४–अन्डर ३२ मा सकाए। उनले दोस्रो, चौंथो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरे। त्यसपछि उनले १०औँ, १४औँ, १५औँ र १८औँ होलमा पनि एक–एक सट बचाए।

सुवासले फ्रन्ट नाइन १–अन्डर ३५ मा पुरा गरे। पहिलो होलमा बोगी खेपेका उनले ५–पारको तेस्रो होलमा ईगलको सफलता प्राप्त गरे। सातौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले। यसपछि ११औँ, १४औँ र १८औँ होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे।

सदभावले बोगी रहित राउण्ड खेले। फ्रन्ट नाइन ३–अन्डर ३३ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले तेस्रो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गर्दा ब्याक नाइनको सबै होलमा पार बचाए।

महिलातर्फ कश्मीरा शाहले ८–ओभर ८० स्कोर गरिन्। समग्रमा १४–ओभर १५८ सहित शीर्ष स्थानमा उक्लिएकी छिन्। उनले पहिलो दिनकी लिडर सुष्मा सिग्देललाई ३ स्ट्रोकले पछि पारेकी छिन्। सुष्माले आज १२–ओभर ८४ स्कोर गर्दा समग्रमा १७–ओभर १६१ मा ३६ होलको खेल पुरा गरिन्। १४–ओभर ८६ सहित समग्रमा ४०–ओभर १ सय ८४ सहित तेस्रो स्थानमा रहेकी छिन्।

३६ होलको समाप्तिमामा २०–ओभर १६४ सम्मको स्कोर बनाएका ३० खेलाडीले कट बनाएका छन्। जसमा १६ जना नेपाली खेलाडी रहेका छन्।

नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा ४४ पुरुष र सात महिला गरी ५१ गल्फ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धामा प्रतिस्पर्धा भैरहेको छ। ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहेको छ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro