site stats
बाह्रखरी :: Baahrakhari
देश
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

बझाङ । बझाङको साइपाल गाउँपालिका–४, धुलीकी संगीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् । २६ वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सगरमाथाको सफल आरोहण गरिन् ।

सगरमाथा क्षेत्रमा झन्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइसँग अभ्यस्त हुन क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् ।

बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गएको महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् ।

Argakhachi Cement Island Ad

वर्षौँदेखि साँचेको सपना आँखैअगाडि देखेपछि उनका आँखा रसाए । “खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरै बेरसम्म आँसु थाम्न सकिनँ,” उनी भन्छिन् ।

‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।

रोकायाले वि.सं. २०७५ कात्तिकमा पहिलोपटक अरू चार बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर, मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरूले साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी बढ्दै गएको थियो ।

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । “साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन,” उनी भन्छिन्, “सबैलाई मनाउन धेरै मिहिनेत गर्नुपर्‍यो ।”

मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा भयो । उनले भनिन्, “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न संघसंस्था धाएँ । कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।”

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख रुपैयाँ खर्च लागेको उनले सुनाइन् । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्