
काठमाडौं । रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन दुवै गोल अन्जन राईले गरे । फ्रेन्ड्सका लागि विकाश थापाले एक गोल फर्काएका थिए ।
खेलको तेस्रो मिनेटमै अन्जनले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर, २०औँ मिनेटमा विकाशले गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए ।
३५औँ मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गर्दा पुलिस २–१ ले अगाडि बढ्यो । अन्जनको यही गोल निर्णायक बन्दा पुलिसले तीन अंक निश्चित गर्यो ।
जितसँगै २२ खेलमा ३१ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लिएको छ । फ्रेन्ड्स समान खेलबाट २४ अंकका साथ १३औँ स्थानमा छ ।
जितसँगै पुलिसले लिगमा फ्रेन्ड्सविरुद्ध लिड डबल (दुवै भेटमा पराजित) गरेको छ । पहिलो भेटमा पुलिसले ३–१ को जित निकालेको थियो ।