
काठमाडौं । तालिकाको रेलिगेसन क्षेत्रमा संघर्षरत नवप्रवेशी फुटबल क्लब खुमलटारले हिमालयन शेर्पा क्लबविरुद्ध २–१ को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा खुमलटारलाई जित दिलाउन मेसुके ओलोमेउ र स्टेफानो बिनोङले एक–एक गोल गरे । हिमालयन शेर्पाका अबायोमी फाल्कुनेले गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । छैटौँ मिनेटमा फाल्कुनेको गोलबाट हिमालयन शेर्पाले अग्रता बनाएको थियो ।
तर, हिमालयन शेर्पाको अग्रता लामो समय टिक्न सकेन । १७औँ मिनेटमा ओलोमेउले गोल गर्दै खुमलटारलाई खेलमा फर्काएका थिए । यस्तै, ७८औँ मिनेटमा बिनोङले गरेको गोल निर्णायक बनेपछि तालिकाको पुछारमा रहेको खुमलटारले महत्त्वपूर्ण तीन अंक निश्चित गर्यो ।
जितसँगै २२ खेलबाट २४ अंक जोडेको खुमलटार अझै पनि तालिकाको १४औँ स्थानमा छ । जुन रेलिगेसन क्षेत्रभन्दा माथि रहेको संकटा क्लबभन्दा दुई अंक कम हो । १२औँ स्थानमा रहेको संकटाले २२ खेलबाट २६ अंक जोडेको छ ।
समान खेल खेलेको हिमालयन शेर्पा भने २९ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।