site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुमन र मञ्जुले जिते एभरेस्ट म्याराथनको उपाधि
Tiktok banner adTiktok banner ad

काठमाडौं । तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १९औँ संस्करणको ४२ किमितर्फको उपाधि पुरुषमा सुमन कुलुङ राई र महिलामा मञ्जु रावतले जितेका छन् ।

हिमालय एक्सपिडिसन्सको आयोजनामा सम्पन्न म्याराथनमा पुरुषतर्फ सुमनले सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको निर्धारित दूरी तीन घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे । ४२ किमिको उपाधिसँगै सुमनले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

दोस्रो स्थान हासिल गरेका दलबहादुर कुवरले तीन घण्टा ५७ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गरे । कुवरले ८५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो स्थान हासिल गरेका उमेश राईले चार घण्टा दुई मिनेट तीन सेकेन्डमा दूरी पूरा गर्दै ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे ।

महिलातर्फको उपाधि जितेकी कर्णालीकी मञ्जुले निर्धारित दूरी पाँच घण्टा २८ मिनेटमा पूरा गरिन् । उनले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । महिलातर्फ दोस्रो बनेकी लाक्पा निग्मा शेर्पाले निर्धारित दूरी पाँच घण्टा २८ मिनेट ३६ सेकेन्डमा पूरा गरिन् । उनले ८५ हजार रुपैयाँ पुरस्कार पाइन् । तेस्रो स्थान हासिल गरेकी दिल कला कुलुङले पाँच घण्टा ३१ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै ७५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगिताको २१ किमि खुला हाफ म्याराथनको उपाधि भारतकी सम्झना राईले जितिन् । निर्धारित दूरी तीन घण्टा १९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी सम्झनाले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । अस्ट्रेलियाकी इमा विलियम्सले सो दूरी तीन घण्टा २१ मिनेट ४१ सेकेन्डमा पूरा गरी दोस्रो भइन् । विलियम्सले ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यस्तै, तेस्रो स्थान हासिल गरेकी रसियाका अलेक्जेन्दर बुर्टसेभले निर्धारित दूरी पूरा गर्न तीन घण्टा २३ मिनेट ५४ सेकेन्ड लगाइन् । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

७० किलोमिटरको अल्ट्रा म्याराथनमा नेपालका तिर्थबहादुर तामाङले निर्धारित दूरी आठ घण्टा ३८ मिनेट नौ सेकेन्डमा पूरा गर्दै पहिलो भए । उनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो स्थान हासिल गरेका तिलकबहादुर सुनुवारले नौ घण्टा दुई मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पार गरे । उनले एक लाख रुपैयाँ पुरस्कार पाए । किरण कुलुङ राईले निर्धारित नौ घण्टा २६ मिनेट ३८ सेकेन्डमा पूरा गरी तेस्रो भए । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विदेशी खेलाडीतर्फको म्याराथनमा अमेरिकाका टेट पोलम्यानले निर्धारित दूरी चार घण्टा ४७ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भए । सो दूरी ६ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरी अस्ट्रेलियाका किरा बसमन्नो दोस्रो स्थानमा रहँदा बेलायतका म्याथु विलियम चिन तेस्रो भए । चिनले सो दूरी ६ घण्टा ३० मिनेट ४३ सेकेन्डमा पूरा गरे ।

विजेताहरुलाई आयोजक संस्था हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष विक्रम पाँडेकाजीलगायतले पुरस्कार प्रदान गरेका थिए । विश्वको सर्वोच्च स्थानमा आयोजना हुने एकमात्र म्याराथन रहेको प्रतियोगितामा यसपटक नेपालसहित २८ देशका २०४ धावकले प्रतिस्पर्धा गरेका थिए । सहभागीमध्ये ६९ नेपाली र १३५ विदेशी धावक रहेको म्याराथनका रेस डाइरेक्टर शिखर पाँडेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro