बारा । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।
हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खातामा रहेको करिब दुई करोड रुपैयाँ रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।
पर्साको बहुदरमाई नगरपालिका–२ मा बस्दै आएका कुर्मीले देवताल गाउँपालिका–४, टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार ५२६ र उनकी पत्नीको खाताबाट २१ लाख ५३ हजार ८८५ गरी ५७ लाख चार हजार ४११ रुपैयाँ हिनामिना गरेको उनीहरूको आरोप छ ।
कुर्मीले उनीहरूसहित १३ बचतकर्ताको एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाई सो रकम हिनामिना गरेको आरोप छ । महागढीमाई नगरपालिका–२, बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा कुर्मीविरुद्ध किटानी जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले बताए । रासस