
टोकियो । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चारजनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ ।
क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
तुलनात्मक रूपमा शान्त जापानमा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका छन् । गत वर्ष जापानमा बन्दुकसँग सम्बन्धित नौ घटना भएका थिए । ती घटनामा चारजनाको मृत्यु भएको थियो ।
गत वर्ष पूर्वप्रधानमन्त्री शिञ्जो आबेमाथि चुनावीसभामा गोली हानेर हत्या गरिएको थियो । रासस÷सिन्ह्वा