site stats
बाह्रखरी :: Baahrakhari
खेल
काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ : परीक्षणबिनाको तयारीमा उपाधि लक्ष्य

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रशिक्षक जगदिश भट्टले नेपाली टिम उपाधि ह्याट्रिक गर्ने तयारीमा जुटेको बताए । तर, प्रशिक्षकको जफावमा पूर्ण आत्मविश्वासको भने कमी देखिएको थियो ।

प्रशिक्षक भट्टको जवाफमा पूर्ण आत्मविश्वास नदेखिनु स्वभाविक पनि छ । किनभने, यसपटक टिमको तयारी नै कमजोर छ । कमजोर यस अर्थमा कि यसपटक नेपाली टिमलाई चुनौती बढी छ । यसपटक प्रतियोगितामा दुई बलिया प्रतिद्वन्द्वी थपिएका छन् । एक भारत र अर्को हो काजकिस्तान ।

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला टोलीको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हो– भारत । नेपाली महिला टोलीले भारतलाई अहिलेसम्म हराउन सकेको छैन । नेपालमै सम्पन्न १३औँ सागको फाइनलमा नेपाली टिमले खेलेको पाँच सेट नै अहिलेसम्मको सबैभन्दा प्रतिस्पर्धी हो । काजकिस्तानविरुद्ध त नेपाली महिला टोलीले अहिलेसम्म खेलेको पनि छैन । 

Argakhachi Cement Island Ad

तर, काजकिस्तान नेपालको समूहमा छैन । परम्परागत प्रतिद्वन्द्वी भारत भने नेपालकै समूहमा छ । त्यसकारण नेपाललाई समूह चरणमै कठिन चुनौतीको सामना गर्नुपर्नेछ । समूहमा उपविजेता बने सेमिफाइनलमा काजकिस्तानविरुद्ध खेल्नुपर्ने सम्भावना प्रबल हुन्छ । त्यसकारण यसपटक नेपाललाई फाइनल पुग्नु नै मुख्य चुनौती हुनेछ ।

“हाम्रो लक्ष्य भनेको उपाधि नै हो । ह्याट्रिक गर्ने लक्ष्य राखेर नै नेपाल भलिबल संघले लामो तयारी गरिरहेको छ । हामी स्वर्णपदककै लक्ष्य राखेर प्रशिक्षण गरिरहेका छौँ,” नेपालका प्रशिक्षक भट्टले भने, “खेल हो, हामीभन्दा धेरै माथिको टिम भएका कारण हामी एकदम प्रयास गर्छौं । हाम्रो प्रदर्शन चाहिँ विगतको भन्दा राम्रो नै हुनेछ ।”

जेठ ८ देखि १४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थ्ति राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । समूह ‘ए’मा नेपालसँगै कीर्गिस्तान, भारत र बंगलादेश छन् । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान छन् ।

नेपाल लगातार दुईपटकको विजेता टिम हो । त्यसकारण स्वभाविक रुपमा नेपाल उपाधिको दाबेदार पनि हो । तर, त्यो सहज भने छैन । यस प्रतियोगिताका लागि नेपालले तीन महिनादेखि तयारी गरिरहेको छ । तर, तयारी आन्तरिक मात्र छ । यसबीचमा नेपाली टिमले कुनै पनि विदेशी टिमसँग मैत्रीपूर्ण वा प्रतिस्पर्धात्मक खेल खेलेको छैन ।

साढे तीन वर्षअघि काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भारतसँग पाँच सेटको नतिजामा हारेको थियो । जुन अहिलेसम्मको सबैभन्दा राम्रो नतिजा हो । त्यतिबेला सागको तयारीका लागि नेपालले थाइल्यान्डमा झण्डै दुई साताको तयारी गरेको थियो । 

थाइल्यान्ड विश्व महिला भलिबलमा राम्रो टिममध्येमा पर्छ । त्यहीबाट नेपालले सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेर फर्किएको थियो । तर, सागमा प्रतिस्पर्धा गरेको थियो । त्यति लामो तयारी गर्दा पनि नेपाली टिमले भारतको तगारो पन्छाउन सकेको थिएन ।

“साग खेल्दा हाम्रो तयारी धेरै राम्रो थियो । हामीले थाइल्यान्डमा प्रशिक्षण गर्नुका साथै त्यहाँको स्थानीय टिमसँग मैत्रीपूर्ण खेल खेलेका थियौँ । त्यहाँबाट हामीले काभामा प्रतिस्पर्धा गरेका थियौं । र, उपाधि जितेर फर्किएलगत्तै साग खेलेका थियौँ,” नेपालकी कप्तान अरुणा शाही भन्छिन्, “तर, यसपटक हामीले आफूलाई परीक्षण गर्ने अवसर पाएका छैनौँ । तथापि, नयाँ प्रशिक्षक आउनुभएको छ । खेलाडीहरू प्राविधिक रुपमा राम्रो भएको छ । आशा गरौं, राम्रो नतिजा ल्याउनेछौं ।”

यसपटक बेल्जियमका ६४ वर्षे प्रशिक्षक यान ब्रान्डट् मूख्य प्रशिक्षकका रुपमा जोडिएका छन् । उनले खेलाडीलाई प्रविधिक रुपमा बलियो बनाएका छन् । र त कप्तान अरुणा भारतविरुद्ध बदला लिने लक्ष्यमा छिन् ।

“एक हिसाबले यो चुनौती हो । र, अर्को हिसाबले अवसर पनि । तर मैले यसलाई अवसरको रुपमा लिएको छु । किनकि, हामीसँग भारतलाई हराएर बदला लिने मौका छ,” आफ्नै कप्तानीमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताउन सफल अरुणाले थपिन् ।

प्रशिक्षक भट्ट पनि टिमले विगतको कमजोरीमा सुधार गरेको बताउँछन् । पहिले टिम सरस्वती चौधरी र प्रतिभा मालीमा धेरै भर पथ्र्यो । अहिले त्यो अवस्था नरहको भट्टको दाबी छ । उनी भन्छन्, “अन्य खेलाडी पनि समान रुपमा माथि आएको अवस्था छ । हामीले करिब तीन महिना प्रशिक्षण ग¥यौं । यस अवधिमा टिम सिस्टममा आएको छ । हाम्रो विगतमा भएका कमी कमजोरीमा सुधार भएको छ । डिफेन्स, रिसिभ र सर्भिसमा सुधार भएको छ ।”

यस प्रतियोगितामा नेपाललाई यसपटक घरेलु दर्शकको भने साथ मिल्नेछ । नेपालसँग अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलबाहेक अन्य विकल्प छैन । जहाँ मुस्किलले दुई हजार दर्शक अट्छन् । त्यही दर्शकले उक्त हल गुञ्जयमान बन्छ । गत सागमा पनि उक्त हलमा खुट्टा टेक्ने ठाँउ थिएन । आधाभन्दा धेरै दर्शक ‘गेट’मै रोकिएका थिए । यसपटक पनि नेपाली टिमले खेल्दा त्यही अवस्था हुने पक्का छ ।

“हामी घरेलु मैदान र दर्शकको साथ हुनेछ । यसको सकरात्मक र नकरात्मक दुवै प्रभाव छन् । खेलाडीले त्यसलाई कसरी लिन्छन् भन्ने हो,” प्रशिक्षक भट्टले पत्रकार सम्मेलनमा भनेका छन्, “हाम्रो लक्ष्य भनेको उपाधि नै हो । त्यसलाई लक्ष्य गरेर नेपाल भलिबल संघले लामो तयारी गरेको छ । अन्य खेलाडीले पनि जिम्मेवारी बोध गरेर मानसिक रुपमा आफूले केही गर्नुपर्छ भनेर उत्सुकतापूर्वक प्रशिक्षण गरिरहेको अवस्था छ ।”

यसपटक नेपालकी महत्त्वपूर्ण खेलाडी प्रतिभा माली टिममा छैनन् । चोटका कारण अन्तिम अवस्थामा उनको नाम हटाइएको थियो । ६ नयाँ अनुहार टिममा छन् । स्पाइकर रिमा कुँवर, पूजा चौधरी, मिडल ब्लकर कविता भट्ट, संगम महतो, सेटर प्रगति नाथ र लिबेरो शान्तिकला तामाङ टिममा नयाँ अनुहार हुन् ।

नेपाली टिम

अरुणा शाही (कप्तान र सेटर), सरस्वती चौधरी (स्पाइकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), रिमा कुँवर (स्पाइकर), पूजा चौधरी (स्पाइकर), साफिया पुन (मिडल ब्लकर), कविता भट्ट (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिबेरो) र शन्तिकला तामाङ (लिबेरो) ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्