site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : अर्थतन्त्र चलायमान बनाउने परिसंघको आशा

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन केही लचिलो हुन खोजेको भन्दै नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर हुनुलाई परिसंघले सकारात्मक रूपमा लिएको जनाइएको छ ।

Argakhachi Cement Island Ad

मन्दीमा रहेको अर्थतन्त्रलाई गति प्रदान गर्ने दिशातर्फ राष्ट्र बैंकले थप कदम चाल्ने संकेतका रूपमा परिसंघले यो समीक्षालाई लिएको विज्ञप्तिमा उल्लेख छ ।

“८.५ प्रतिशत रहेको बैंक दरलाई एक प्रतिशत विन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ । यसले ब्याजदर घट्न गई बजारमा माग बढाउन केही सहयोग पुर्‍याउने नेपाल उद्योग परिसंघको अपेक्षा छ । बैंक तथा वित्तीय संस्थाहरूबाट जारी भएका ऋणपत्रहरूलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप)को रूपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइनु सकारात्मक छ । पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूले सुविधा पाउने गरी पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउने घोषणाले ऋणीहरूलाई केही सहजता प्रदान गर्ने हाम्रो विश्वास छ,” विज्ञप्तिमा लेखिएको छ ।

होटेल तथा रेस्टुरेन्ट, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोड रुपैयाँसम्मकोे अरू क्षेत्रमा प्रवाह भएको कर्जालाई यही असार मसान्तभित्र पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगलाई सहुलियत हुने परिसंघको बुझाइ छ ।

राष्ट्र बैंकले आउँदा दिनमा अरू विषयलाई समेत गम्भीरतापूर्वक लिई नीतिगत व्यवस्था गर्ने परिसंघको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्