
वि.सं. २०४४ सालतिरको कुरा हो । म अभिनेता विश्व बस्नेतले निर्माण गरिरहेको चलचित्र ‘अन्याय’मा काम गरिरहेको थिएँ । यस चलचित्रमा मैले प्रोडक्सन म्यानेजर, सहायक निर्देशकको जिम्मेवारीका साथै सानो भूमिकामा अभिनय पनि गर्नु थियो ।
चलचित्रको छायांकन युनिट स्वयम्भूमा बसेको थियो । त्यसबखत अहिलेजस्तो हातहातमा मोबाइल फोनको व्यवस्था थिएन । सम्पर्क गर्नुपरेको अवस्थामा ल्यान्डलाइन टेलिफोनबाटै सम्पर्क गर्नुपर्दथ्यो ।
द्वन्द्वनिर्देशक गोपाल भुटानी (उहाँ अहिले हामीबीच हुनु हुन्न । उहाँको निधन भइसकेको छ)ले मलाई खोजी रहनुभएको रहेछ । मेरो खोजीमा गोपाल खनाल पनि लाग्नुभएको रहेछ । उहाँहरू दुवैजनाले मलाई फोन गर्नुभएको रहेछ । तर, ‘अन्याय’को छायांकनका कारण म व्यस्त थिएँ । थाहा पाएर पनि फोन गर्न सकिरहेको थिइनँ ।
केही दिनपछि मैले गोपाल भुटानी दाइलाई फोन गरेँ । उहाँले मलाई कुनै भूमिका नबाँधेरै भन्नुभयो, ‘तपाईं चेतन कार्की सरलाई भेट्न आइहाल्नुस् ।’
अनि मात्रै उहाँले केही विस्तृत जानकारी दिनुभयो, ‘चेतन कार्की दाइले एउटा चलचित्रमा तपाईंलाई मूख्य भूमिकामा लिने कुरा गर्नुभएको छ । त्यसैले ढिलो नगरी भेट्न आउनुस् ।’
भुटानी दाइको कुराले म हौसिएँ । तिनताक म चलचित्र क्षेत्रमा संघर्ष गरिरहेको कलाकार थिएँ । गोपाल दाइको कुरोले हौसला बढ्नु स्वाभाविक थियो । र, म समय मिलाएर चेतन दाइलाई भेट्न गएँ ।
चेतन कार्की दाइसँग मेरो पहिलो भेट जीएएद्वारा २०३८ सालमा आयोजित नाटक प्रतियोगितामा भएको थियो । मैले पनि प्रतियोगितामा भाग लिएको थिएँ । दाइ निर्णायक हुनुहुन्थ्यो । नाटकबाट म पनि पुरस्कृत भएको थिएँ ।
त्यस दिन चेतन दाइले मेरो अभिनयको प्रशंसा गर्दै ‘भेट्दै गर्नू’ भन्नुभएको थियो । म पनि उहाँलाई प्रायः भेट्न गइरहन्थेँ । त्यसउप्रान्त उहाँले आफूले काम गरेका चलचित्रहरूमा मलाई सक्दो संलग्न गराउँदै आउनुभएको थियो ।
भुटानी दाइसँग कुरा भएको भोलिपल्टै म चेतन दाइसँग भेट गर्न गएँ । उहाँले एउटा भिडियो चलचित्र बनाउन लागेको जानकारी गराउँदै भन्नुभयो, ‘हामी एउटा भिडियो चलचित्र निर्माण गर्दै छौँ । त्यसमा आनन्द थापा र तिमीलाई मुख्य भूमिकामा काम गराउने कुरा भएको छ । तिम्रो चरित्र दृष्टिविहीन र आनन्दको चरित्र अपांग रहेको छ । यस भिडियो चलचित्रका नायक नै तिमीहरू दुईजना हौ । त्यसैले यसका लागि तिमीले समय दिनुपर्यो ।’
चेतन दाइको यो प्रस्तावले एकैचोटि आकाशमाथि पुगेको अनुभव गरेँ । ठूलो पर्दाको चलचित्र होस् वा सानो पर्दाको, त्यस बेलासम्म मैले सानोसानो साधारण भूमिका मात्रै निर्वाह गर्दै आएको थिएँ । यो मेरो अभिनय करियरको टर्निङ प्वाइन्ट नै थियो भन्दा गलत हुन्न ।
ममा खुसीको सिमाना रहेन । तर, म ‘अन्याय’सँग जोडिएको र त्यसमा पनि धेरै जिम्मेवारी बोकेको थिएँ । त्यसैले दाइसँग मैले १५ दिनको समय मागेँ । उहाँले पनि सहज रूपमा ‘हुन्छ’ भन्नुभयो ।
चेतन दाइबाट आएको यो प्रस्तावबारे मैले ‘अन्याय’का निर्देशक तुलसी घिमिरे र निर्माता विश्व बस्नेतलाई सुनाएँ । उहाँहरूले पनि सकारात्मक उत्तर दिनुहुँदै मैले गर्नुपर्ने अभिनयको छायांकन १५ दिनभित्रै सकाइदिनुभयो ।
‘अन्याय’मा मेरो भूमिकाको सुटिङ सकिएको भोलिपल्टै म चेतन दाइलाई भेट्न गएँ । त्यसबीचमा चेतन दाइ र निर्माण युनिटले छायांकनको सबै तयारी पूरा गरिसकेको थियो ।
फाल्गुण महिनाको पहिलो साता हामी चेतन दाइको नेतृत्वमा चलचित्र छायांकनका लागि साँखुदेखि माथि अवस्थित जहरसिंह पौवा पुग्यौँ ।
यो चलचित्रको नाम ‘मनका आँखा’ थियो । यसको कथा गोपाल भुटानीले लेख्नुभएको थियो । चलचित्रको निर्माण गोपाल खनालले गर्दै हुनुहुन्थ्यो भने यसको लेखन तथा निर्देशन चेतन दाइले गरिरहनुभएको थियो ।
दीपक ढकालले क्यामेरा सञ्चालन गरेको यस चलचित्रमा म र आनन्द थापासँगै मिथिला शर्मा, खेम सापकोटा र गोपाल दाइ स्वयंले अभिनय गर्दै हुनुहुन्थ्यो ।
जहरसिंह पौवाको बसाइ र छायांकनका समयका तितामिठा कुरा प्रशस्तै छन् । र, रोचक पनि । कुनै बेला लेखौँला ।
त्यसताका नेपाल टेलिभिजमा भीएचएस फर्म्याटबाट बनेका टेलिचलचित्र मात्र प्रसारण हुन्थ्यो । अथवा भनौँ, त्यो समय नै भीएचएसको थियो । युमेटिक, बेटा, डिजिटल आदि फर्म्याटको छायाङ्कन प्रविधि पछि मात्र आएका हुन् । नेपालमा त्यसताका ठूलो पर्दाको चलचित्र भने १६ एमएम र ३५ एमएममा खिचिन्थ्यो ।
‘मनका आँखा’मा मेरो लिप्सिङमा चेतन दाइको रचना र गोपाल योञ्जनको संगीतमा बनेको एउटा गीत ‘देउताहरू रमाउने...’ को छायांकन गर्नु थियो । यो गीत छायांकन गर्दा मलाई निकै गाह्रो भएको प्रसंग आज पनि मेरो स्मृतिमा छ । चलचित्रको सम्पादनपछि हेर्दा भने मेरो काम सन्तोषजनक नै रहेको पाएँ ।
‘मनका आँखा’ पाँच भागमा बनाएर पाँच हप्तासम्म नेपाल टेलिभिजनमा प्रसारण गरिएको थियो । पछि सोही चलचित्र भृकुटीमण्डपस्थित हाइभिजन हलमा प्रदर्शनमा आएको थियो । उक्त हलमा यो चलचित्र तीन महिनासम्म निरन्तर चलेको थियो । त्यसले पैसा पनि राम्रै कमाएको थियो ।
यो भिडियो चलचित्रको प्रसारण र प्रदर्शनपछि म कलाकारको रूपमा परिचित हुन पुगेँ । हुन त योभन्दा अगाडि पनि मैले थुप्रै टेलिचलचित्र र ठूलो पर्दाको व्यावसायिक चलचित्रमा अभिनय गर्ने मौका नपाएको होइन । तर, आम दर्शकका बीच मलाई ‘मनका आँखा’ले नै परिचित बनायो ।
त्यसैले मेरो जीवनको संघर्षमा, मैले चेतन कार्की दाइको नाम कहिल्यै भुल्न सक्दिनँ ।