गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । डढेलोमा परी गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३, हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै तम्घासस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो ।
मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।
सोही ठाउँमा डढेलोमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल पठाइएको छ ।
यसैबीच, इस्मा गाउँपालिकामा बिहीबार भएको आगलागीबाट दुई घर र तीन गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । इस्मा गाउँपालिका–५, दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय सामुदायिक वनमा लागेको डढेलो बिहीबार अपराह्न गाउँ पसेपछि घरगोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए ।
दुई सातादेखि गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा लागेको डढेलो निभाउन स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई हम्मेहम्मे भएको छ । रासस