काठमाडौं । प्रमोद कँडेलले स्क्रिप्ट तयार पारिसकेका थिए । निर्देशक निगम श्रेष्ठको सहयोग र आग्रहमा चलचित्रमा लगानी गर्न श्रीधर पौडेल तयार भए । त्यसपछि प्रमोदले बोलाए, मुम्बईका आफ्ना साथीभाइलाई । उनीहरू एक कलमै नेपाल आउन तयार भए । त्यसपछि सुरु भयो सिनेमा निर्माणको तयारी ।
दोस्रो लकडाउन खुल्ने तयारीमा थियो । सिनेमाको काम थाल्ने योजना बनिसकेको थियो । ठिक त्यही समयमा श्रीधरको खुट्टा भाँचियो । उनी अस्पताल भर्ना भए । योजना बनिसकेको थियो । आँटेको काम रोक्ने कुरै थिएन, प्रमोद डीओपीलाई लिएर लोकेसन हेर्न चितवन गए ।
चितवनमै सुटिङ हुने भएपछि त्यहाँ केही समयका लागि अफिस चाहिने भयो । घर खोज्न थाले । निर्देशक निगम श्रेष्ठसँग भेट भयो । उनैले प्रस्ताव गरे– निर्वाणा फिल्म स्कुललाई अफिस बनाऔँ ।
प्रमोदले निगमलाई सिनेमा निर्माणमा सहयोग गर्न आग्रह गरे । निगमले नाइँ भनेनन् । निगमले कास्टिङको जिम्मेवारी सम्हाले । प्रमोद निर्देशक भइहाले । निगमसँग बसेर आफूले लेखेको स्क्रिप्टमा दुईपटक काम गरे ।
सिनेमा पारिवारिक कथामा आधारित थियो । यसको अर्थ परिवारको सदस्यका रूपमा एकले अर्कोलाई विश्वास गर्नुपर्ने थियो । होइन भने सिनेमा 'क्र्यास' हुन्छ भन्ने प्रमोदलाई लागेको थियो । एकले अर्कोसँग मेरो सम्बन्ध यो भनेर विश्वास जबसम्म गर्दैनन्, तबसम्म हामी सफल हुँदैनौँ भन्नेमा उनी ढुक्क थिए ।
“मेथड एक्टिङका लागि पनि कलाकारलाई एउटै घरमा राख्नुपर्छ भन्ने निष्कर्षमा म थिएँ,” प्रमोद भन्छन्, “तर, मैले मुम्बईमा मेथड एक्टिङमा पुगेर त्यहाँसम्म फर्किन नसकेर जिन्दगी बर्बाद भएको पनि देखेको थिएँ । त्यसैले मेथड एक्टिङको पनि कुन तहमा पुग्ने भन्ने थियो । तर, मेकरका हिसाबले लोभ हुनु त स्वाभाविक थियो । प्रोडक्सनले कतिसम्म रिस्क लिन्छ भन्ने पनि थियो ।”
छलफलबाट निष्कर्षमा पुगे– मेथड एक्टिङमा जाने । तर, यसका नकारात्मक र सम्भावित पक्षमा भने सधैँ सतर्क रहने ।
यद्यपि, कलाकारमा जबसम्म 'हामी फेमिली मेम्बर हौँ' भन्ने अनुभूत हुँदैन त्यो समयसम्म म सुटिङमा जान्न भनेर प्रमोदले भनिसकेका थिए ।
जिल्ला मालपोत कार्यालय चितवनबाट दुईसय मिटरभित्र एउटा घर भाडामा लिए । सुरक्षा पन्त, कमलमणि नेपाल, अरफान अली, ईश्वरी सिंह र सूर्य शर्मा भट्ट त्यहीँ बस्न थाले । कारण उनीहरूले एकअर्कालाई 'हामी परिवारका सदस्य हौँ' भन्ने अनुभूत गर्नुपर्ने थियो ।
सुरक्षा, कमलमणि, अरफान, ईश्वरी र सूर्य त्यहीँ बस्न थाले । त्यही घरमा बस्ने । खाने । त्यहीँबाट बजार जाने । आफ्ना काम गर्ने । पारिवारिक गफगाफ त हुने नै भयो । अथवा एउटा नर्मल परिवार जसरी घरमा बस्छ, त्यस्तै । अरूलाई त्यहाँ जान अनुमति थिएन । पाउनाको रूपमा जानु अलग कुरा ।
“मैले स्ट्रिक्ली भनेको थिएँ, तपाईंहरू एकाध समय यहाँ बसेर स्क्रिप्टको कुरा गर्नुहुन्छ ठिक छ । तर, स्क्रिप्टको काम गर्दा हामी अफिसमा गर्छौं । मात्रै यो तपाईंहरूको घर हो,” प्रमोद भन्छन्, “प्रोडक्सनले मात्रै सामान लगिदिन्थ्यो । छोरी भएकाले सुरक्षाजीले पकाउने, भाँडा माझ्ने गर्नुहुन्थ्यो ।”
प्रमोद बेलाबेलामा जान्थे । तर, उनले पहिला नै भनिसकेका थिए– म यहाँ निर्देशकको रूपमा होइन पाहुनाको रूपमा आउँछु ।
चितवनका स्थानीय प्रमोद कहिलेकाहीँ आफ्ना साथीहरूलाई लिएर उनीहरू बसेको घरमा जान्थे । “म रेन्डम्ली साथीहरूलाई आइज जाउँ आज म तलाई सुरक्षालाई भेटाइदिन्छु भन्थेँ,” प्रमोद नोस्टाल्जिक हुन्छन्, “साथीहरू पनि कलाकारलाई भेट्न जाने भनेपछि उत्साहित हुन्थे । सुरक्षाजी म र मेरा साथीहरूलाई चिया बनाएर खुवाइरहनु भएको हुन्थ्यो । सुरक्षालाई यसले कसलाई लिएर आयो भन्ने हुन्थ्यो ।”
एकदिन प्रमोदले हीरालाल कँडेललाई लगेर गए । जो त्यतिबेलासम्म ‘बहाव’मा अनुबन्ध भइसकेका थिएनन् । कमलमणि त सुरक्षाका बुवा भइहाले ।
“दाइ–छोरी (सुरक्षा)को हात माग्न आइयो, के छ विचार ? त्यो मुभमेन्ट खुब मजाको भएको थियो । हामी सुरक्षाको हात माग्न आएको भनेर कुराकानी गरिरहेका थियौँ,” प्रमोद सम्झिन्छन्, “सुरक्षाजी ढोकाको कर्नरमा बसेर चिहाएर हामीलाई हेर्दै कुरा सुनिरहनु भएको थियो ।”
कसको काम के हो ? प्रमोदले दिएका थिए । सुरक्षाको ब्वाइफ्रेन्ड हुन्छ । उनीहरू लुकीलुकी चोरीचोरी भेट्नुपर्ने थियो । तर, दिदीलाई रोक्नुपर्ने काम सुरक्षाका भाइको थियो । दिदीलाई कसरी हुन्छ अवरोध सिर्जना गर्न प्रमोदले भनिरहेका थिए । त्यही समय प्रमोदले सुरक्षाको ब्वाइफ्रेन्डलाई भनिरहेका हुन्थे– आज मलाई जसरी पनि तिमीहरू एकान्तमा डेट गरिरहेको फोटो चाहिन्छ । जहाँसुकै जाओ मतलभ भएन । प्रोडक्सनलाई बिल र मलाई फोटो चाहियो ।
प्रमोद कठोर रूपमै प्रस्तुत हुन्थे ।
यता, भाइले सुरक्षालाई छोडेको छैन । तर, उनलाई भने ब्वाइफ्रेन्डसँग डेट गर्नु नै छ । त्यस्तो अवस्थामा उनीहरूले भाइलाई कसरी झुक्याएर जान्छन् भन्ने सिनारियो रमाइलो थियो । जुनदिन यिनीहरू भाइलाई छलेर मिलाएर जान्छन्, यिनीहरू कम्फर्टेबल भए भन्ने बुझाइमा प्रमोद थिए ।
“भाइलाई छलेर उनीहरू डेटिङ जान त सफल भएछन् । तर, एकदिन पब्लिक एरियामा गएछन् । सुरक्षालाई चिनेर पब्लिकले घेरिहालेछ,” प्रमोद भन्छन्, “नर्मल मान्छेले चिनेर घेरेपछि उनीहरू भागेर आउनुपर्यो ।”
यसरी डेढ महिना बसेपछि प्रमोदले महसुस गरे, अब यिनीहरूले एकअर्कालाई परिवारको सदस्य ठान्न थाले ।
सुरक्षाले कमलमणिलाई डेढ महिनामा बुवा भन्न थालिसकेकी थिइन् । भाइ भन्न थालिसकेकी थिइन् । त्यसपछि उनीहरू चलचित्रको छायांकनमा निस्किए ।
पारिवारिक ड्रामामा जबसम्म चलचित्रभित्रका पात्रले एकले अर्कोलाई चिन्न सक्दैन तबसम्म दर्शकले महसुस गर्न नसक्ने प्रमोद सुनाउँछन् । त्यसैले आफूले डेढ महिना लगाएर क्यारेक्टरहरूबीच आत्मीयता विकास गरेको उनी बताउँछन् ।
“मैले कस्तो काम गरेँ, त्यो त शुक्रबारबाट पक्कै थाहा हुनेछ । तर, मैले मेरो सिनेमाको जहाज ढलपल हुन नदिने प्रयास गरेको छु,” निर्देशक प्रमोद भन्छन्, “जबसम्म मेथड एक्टिङ हुँदैन, तबसम्म सोचेको कथा कल्पना गरेअनुसार भन्न सकिँदैन भनेर यसमा पनि मिहिनेत गरेका छौँ ।”
प्रमोदको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बहाव’ यही शुक्रबारबाट अल नेपाल रिलिज हुँदै छ ।