site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
खैरेनीमा जाम
Sarbottam CementSarbottam Cement

२०५२ साल फागुन लाग्दा नलाग्दै दमौलीमा ह्वात्तै गर्मी बढ्यो । एक दिन बिहानै डीएसपी सनन्दनप्रसाद कुर्मी र म (सीडीओ) वस्तुस्थिति बुझ्दै स्थलगत गस्ती गर्ने क्रममा जिल्लाको पल्लो छेउ कोत्रेसम्म पुगेका थियौँ । गाडीमै समाचार सुन्दै गर्दा थाहा भयो – लमजुङ, पाउँदी ढीकनिर बाटोमाझ ट्रक पल्टिएर अवरोध हुँदा बेसीसहरतर्फको यातायात बन्द भएको तीन दिन भइसकेछ ।

पोखरा–सुनौली राजमार्गको स्याङ्जाखण्डमा सवारी दुर्घटनापछि पीडित र पीडकबीच क्षतिपूर्ति र उपचारको विषयमा कुरा नमिलेर राजमार्ग बन्द भएको पनि नौ दिन भइसकेछ । समाचार सुन्दै डीएसपीसाहेब हाँस्दै अनि पड्किँदै पनि थिए ।

‘नौनौ दिन राजमार्ग बन्द हुँदा पनि खुलाउन नसक्ने ! के हेरेर बसेका छन् त्यहाँका हाकिमहरू ? धिक्कार होस् ! त्यस्ताले के जागिर खानु ! म भए कि राजमार्ग खुलाउथेँ कि जागिरै छोडेर हिँड्थेँ । गृह प्रशासन पनि के सारो पानीमरुवा हो, त्यस्ता हाकिमलाई पूजा गरेर राखिछोड्ने !’

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै गफमा म पनि उनलाई साथ दिँदै थिएँ । दुइटै छिमेकी जिल्लाका प्रहरी प्रशासकलाई लाछी, पामरजस्ता उपाधिले मज्जैले सिँगारेर बोल्दै थिए, डीएसपी । म पनि उनलाई हौस्याउनमा कम थिइनँ । अरूलाई उडाउनु, होच्याउनु पनि मनको स्वादिलो खाजा न हो बाटो हिँड्दा !

बेलचौतारा चौकीमा पसेर कुर्मीसाहेबले जवान अफिसरहरूलाई फालिम गराए । अनि, तिनै बन्द राजमार्गको उदाहरण दिँदै खटनपटन, गस्ती, पेट्रोलिङजस्ता विषयमा दिनरात सजग रहन र सुरक्षा संयन्त्र चुस्तदुरुस्त राख्न अह्राए । खैरेनीटार र थर्पुचौकीमा पनि उताभन्दा अझै कडा निर्देशन दिँदै थिए ।

Global Ime bank

सदरमुकाम फर्किएपछि सँगै बसेर खाना खाईवरी म अफिस पसेँ । उनी दुई दिन क्या.बि. बस्नु छ भनेर त्यसै दिन बेलुकीपख आफ्नै घर वीरगन्जतिर लागे ।

बेलुकी आफ्नै निवासको छतमा निस्किएर ढकमक्क फक्रिएको जूनमा टलक्क प्रतिविम्बित भएको अन्नपूर्ण हिमालको दृश्यमा रमाउँदै थिएँ, निवासमुनि सुरिलो भाकामा एकनासले सुसेल्दै सुइँय्य...सुइँय्य... भुमरीमा नाचेको सेती मादीको निलो दोभानले मधुर संगीत छरेर मन तरंगित बनाइरहेको थियो । दिमाग आह्लादित तुल्याइरहेको थियो ।

अलि पर पर्ने पाञ्चायन मन्दिर परिसर र आफ्नै निवासकै कम्पाउन्डभित्र फुलेका जाहीजुही र इन्द्रकमलका थरीथरी फूलका सुवासले वातावरण मादक र मनमोहक थियो ।

जिल्लाको बीचबाटै चट्ट चिरेर पूर्वपश्चिम दौडिएको पृथ्वी राजमार्ग त्यतिखेर पुनर्निर्माणको क्रममा थियो । छेउभित्ता भत्किएको, पिच उप्किएर भताभुंग भएको र जथाभावी खाल्डाखौला परेको त्यो बाटोमा कतै ठूलो दुर्घटना भएर चक्काजाम भने बेहोर्नुपरेको थिएन ।

कतै लास परेको, गाडी बल्ड्याङ खाएको र यात्रु लुटिएजस्ता नराम्रा घटना देख्नुसुन्नु पनि परेको थिएन । त्यो जिल्लाको जिम्मेवार प्रशासक भएर जागिर खाँदाका सन्तोषका छाल सुनामीझैँ मनभरि बेलगाम नाचिरहेका थिए । विगत र वर्तमानको त्यही दोसाँधमा एक्लै रमाइरहेका बेला तल कोठामा कडा आवाजले जापानी फोनसेट बज्यो । हत्तपत्त झरेर रिसिभर उठाइहेरेको–

‘खैरेनीटारमा चक्काजाम भएछ सर ! घटनास्थल पुगेर जाम खुलाउने प्रयास गर्दै छु,’ इन्स्पेक्टर रणबहादुर केसी हतारहतार बोल्दै रहेछन् । त्यस दिन जिल्लाको निमित्त प्रहरी प्रमुख उनै थिए ।

‘कति बेरदेखि हो जाम भएको ? के कारणले भएको ? खै, मलाई त थाहै नदिई जानुभएछ त !,’ अलि रिसाएको स्वर थियो मेरो ।

‘जाहेर गर्छु भन्दाभन्दै नभ्याएर हतारमा हिँडिहालेँ सर,’ उनले भने । मैले सुनेँ । डीएसपी नहुँदाको खालीपनले मलाई नराम्ररी झस्कायो । बिहानभरि गिल्ला गरेर लमजुङे, स्याङ्जाली हाकिमका कुरा काटेका एकएक लवजहरू मनमा आवर्तित भइरहे ।

बिहानभरि त्यही चक्काजामकै विषयमा अरूको नाटीकुटी र खेदो गरेर बिताएका थियौँ, अहिले डीएसपी नभएको बेला एक्लै पर्यौ फेला ! – म आफैँलाई मनमनै उडाउँँदै पनि थिएँ ।

तर, भित्री मन कृष्णबिनाका अर्जुनजस्तै असहाय थियो । एकैछिनपछि उनै इन्स्पेक्टरले चक्काजामको कारण र घटनाको विवरण दिए ।

‘खैरेनीटारको मूल चोकमा पोखराबाट आएको रात्रिबस रोकिएको रहेछ । दुलेगौडाबाट चढेका दुईजना केटा खैरेनीटार उत्रिने रहेछन् । भाडा तिर्ने समयमा एक–दुई रुपैयाँ तल–माथिको विवादले त्यति बेलै कन्डक्टरमाथि आक्रमण भएछ । के कस्तो हतियार प्रयोग भएको थियो कुन्नि ! माझसडकमै लम्पसार परेको लास सग्लै भए पनि टाउको पट्ट फुटेर गिदी थुप्रो लागेको छ ! अगाडि हेरेर गाडी चलाउँदै गरेकाले पछाडिको घटनाबारे केही देखिनँ भन्यो ड्राइभरले । बसका अरू यात्रुजति लाखापाखा लागिसकेछन् । जो भेटिए ती पनि आफू त्यो बसको यात्रु थिएँ भन्दैनन् । वरपरका होटेल, पसल, यात्रु, व्यापारी सबैसँग बुझ्ने काम हुँदै छ । सबै बासिन्दा चपाएर मात्रै कुरा गर्छन् । अहिलेसम्म आक्रमणकारी पत्ता लाग्न सकेको छैन,’ बोल्ने उनै इन्स्पेक्टर थिए ।

लौ हेर ! एक छिनअघि मात्रै कौसीमा बसेर मिठामिठा तराना खेलाउँदै थिएँ मनमा, अहिले आफ्नै जिल्लाभित्र के–के पो भइसकेछ । दैवसंयोग या आकस्मिकता भन्नु सायद यही होला । दिमाग उसै तरंगित भयो । डीएसपी हिँडेकै दिन यत्रो घटना किन हुनुपरेको ? मनमनै भँडास पोख्तै थिएँ म ।

‘लास उठाएर हस्पिटल पठाउनु र क–कसले वारदात गरेको हो, दोषीको तुरुन्त खोजतलास गर्नू । म पनि चाँडै आउँछु,’ इन्स्पेक्टरलाई भनेथेँ ।

‘हजुर आउनु पर्दैन सर । म सबै काम राफसाफ गर्छु । बस मालिक, बजारिया र चालकसँग फोनवार्ता हुँदै छ,’ इन्स्पेक्टर विश्वासको स्वरमा भनिरहेका थिए । तुरुन्तै लास उठाएर बाटो खुलाउनेमा आश्वासन  दिलाइरहेका थिए ।

आखिर सवारी दुर्घटनाको व्यवस्थापन गर्ने काम त प्रहरीकै न थियो । त्यसैले मैले पनि उनैको भर गरेर त्यतातर्फ जान ढिलाइ गरिरहेको थिएँ । डीएसपी कुर्मी  अत्यन्त चुस्तदुरुस्त अफिसर भए पनि इन्स्पेक्टरको व्यक्तिगत स्वभाव र क्षमताबारे अनभिज्ञ थिएँ म । त्यसैले अन्योलमै ओल्टेकोल्टे गर्दै असमञ्जस व्यहोर्दै थिएँ ।

समय बित्दै दश, एघार अनि बाह्र बज्दै गयो । उनी ‘जाम खुल्दै छ, अब खुली नै हाल्यो, वार्ता टुंगोमा पुग्नै लाग्यो’ आदि इत्यादि कुराका खबर दिँदै थिए मलाई ।

रातको एक बजेसम्म पनि चक्काजाम नखुलेपछि केस जटिल बन्ने अनुमान गरेँ मैले । दारुवाल उत्ताउला यात्रु, उस्तै चालक, खलासी र हुल्याहा लोकल ठिटाहरूले दंगाफसाद मच्चाउने सम्भावना टड्कारो देखियो । थुप्रै वृद्ध, सुत्केरी र बच्चाबच्ची यात्रु अलपत्र पर्ने र गुन्डा, अपराधीतत्व जम्मा भएर सरसामान लुट्ने, गाडीमा आगजनी गर्ने डर पनि उत्तिकै बढ्यो ।

हडबडीमै आफ्नो गाडी चालक शुकदेव रेग्मीलाई बोलाएर आफू चढ्ने निसान कम्पनीको पिकअपभरि हतियारसहितका सुरक्षागार्ड लिएर त्यतै लागेँ म ।

राजमार्गको पूर्वखण्डतिर काठमाण्डू र तराईबाट आएका हजारौँ गाडीको लाइन लागेको रहेछ । घटनास्थलदेखि तीन किलोमिटर वरै थर्पुमा गाडी छोडेर पैदल हिँडेँ । बाटैभरि अव्यवस्थित ढंगले तेर्सिएका हजारौँ गाडीको लाइन काटेर पैदल जानुपर्दा हदै झन्झट आइलग्यो । करिब तीन घण्टा हिँडेपछि उज्यालो हुनै लाग्दा बल्लतल्ल खैरेनीटार पुगियो ।

घटनास्थल पुग्दा यात्रु, बस ड्राइभर र मजदुरको बीसौँ हजारको जमघटले खैरेनीटारको चोकचौतारा र बजार क्षेत्र टनाटन भरिएको रहेछ । बीचबजारकै सडकमाझ लम्पसार परेको लास हेर्दा घन या कुनै धारिलो हतियारले खप्पर फुटाएर फक्लक्क दुई फ्याक लगाएझँै देखिन्थ्यो ।

टाउकोजत्रै परिमाणको गिदीको थुप्रो लागेको देखेर आश्चर्यमा परेँ म । नगिचैका दोकान, होटेल र भट्टीतिर पसेर घटनाबारे बुझियो । वारदातको छेउपुच्छर कसैले जानकारी दिएनन् ।

‘गाडी अघि बढाउनै लागेका बेला पछाडि भएको घटना भएकोले आफूले नदेखेको’ बयान दिए बसका ड्राइभरले । हुल्याहा केटाहरूले पैसा उठाउने खलासीलाई बसबाट तल खँगारेकै बेला बस अघि बढाउँदा चक्कामुनि  टाउको परेको भन्दै थिए कोहीचाहिँ ।

सबै अन्दाजकै भरमा हल्ला गरिरहेका थिए । घटनाको समय छिप्पिँदै जाँदा विवाद लम्बिँदै गइरहेको थियो । बेलुकैदेखि जाममा परेर वाक्कदिक्क भएका भोका अनिदा यात्रुहरू, झैझगडा र हत्याको घटनाबाट आतंकित बजारवासीहरू मलाई देख्दै लुँडो लागेर घेर्न आइपुगे । अनि, ‘तुरुन्त चक्काजाम खोलिदेऊ’ भन्ने अनुनयविनय गर्न थाले ।

धेरैजसो यातायात मजदुरहरू रातभर मादकपदार्थ सेवन गरेर झल्लु बनिसकेका रहेछन् । कतिपय यात्रुको हालत पनि उस्तै थियो । कोही भने ससाना समूहमा बाँडिएर ‘मजदुरको रगतमाथि होली खेल्न पाइन्न’, ‘हत्यारालाई फाँसी दे’ भन्दै चर्का नारा उरालेर वातावरण तताउन थाले । सम्झाउँदा कुरा सुन्ने र सम्झिने अवस्थामा कोही देखिएनन् ।

एकजना व्यापारीले बीचबजारको किराना पसलमा पीसीओ पनि राखेका रहेछन् । जाममा फसेका यात्रुहरू रातिदेखि नै घरपरिवारलाई फोन गर्न धुइरो लागेका देखिन्थे ।

त्यसै दिन देवघाट जाने कार्यक्रम तय भएकाले ‘आउन सक्दिनँ’ भनेर मैले पनि त्यही पीसीओबाट सभामुख रामचन्द्र पौडेललाई फोन गरेँँ । उनले मलाई त्यहीँ बसेर शान्ति सुरक्षाको व्यवस्थापन गर्न भनेका थिए । अनि, म कमान्ड पोस्टतिर लागेँ ।

मलाई फोनको लाइनमा देख्नेबित्तिकै भीडका कुनै एक मानिसले ‘लास दबाउनू, हत्यारालाई बचाउनू भनेर सीडीओलाई मन्त्रीको फोन आयो’ भन्ने हल्ला चलाउन थालेछन् । हल्ला सुरु गर्ने बागलुङ जाने बसबाट ओर्लिएका बूढामान्छे रहेछन् । उनले किन त्यो छुल्याइँ गरे, थाहा हुन सकेन ।

हल्ला एक कान दुई कान हुँदै मैदानसम्म छताछुल्ल भयो । अनि त हो, हल्लाकै भरमा चलेको भीडको आक्रोशलाई पनि केले थेग्ने ? पोखरातिरबाट आएका उत्ताउला मजदुरहरूले बाजेको पसल र टेलिफोन बुथमा तोडफोड गरेछन् । मोटरसाइकलमा आगो लगाइदिएछन् ।

हुँदाहुँदै बजारको ओल्लोपल्लो छेउकुनातिर यातायात चालु गर्ने र बन्द गर्नेबीच सानातिना झडप र चर्काचर्का वादविवाद पनि हुन थाल्यो ।

हुँदाहुँदै दिन पनि छिप्पिँदै गयो । बजारमा भीडभाड बढेको हल्ला गाउँबेसी जताततै फैलिएछ । टाढाटाढाका गाउँदेखि किशोरकिशोरी तथा उमेरदार महिलाहरू बच्चाबच्ची च्यापेर रमिता हेर्न त्यसै भीडमा थपिए । लौरा टेकेका बूढाबूढी र बालबच्चा हतेरेका ऐभाँती समेत तमासे बनेर भीडमा हेलिए ।

तन्नेरीतरुनी समेत सिँगारपटार गरेर रोदी जमाउने मुडमा ओइरिए । हुँदाहुँदै खैरेनीटारको ओल्लो कुनादेखि पल्लो छेउसम्म दुई लाखभन्दा बढी नै मान्छे भरिए ।

सेती किनार आसपासका बोटेदरै परिवारका चेलीबेटीहरू त चक्काजामलाई जात्रा सम्झिएर हान र तीनपानेका सुराही पुङ घैँटाग्यालेन र उसिनेका अन्डा, माछाका सिद्राले भरिएका थुन्से बोकेर भीडको छेउभित्ता कुनाहुँदो खाजापानीको मेसो मिलाउन थालेछन् ।

बन्द, हड्तालको कबै प्रत्यक्ष अनुभव नगरेका गाउँलेलाई निकै रमिताको भएछ, त्यो चक्काजामको तमासे खेल । अब लाठीचार्ज र हवाईफायर आदि कारबाहीले जाम खुलाउन झन्झन् अप्ठ्यारो पर्दै गयो ।

हाइस्कुलमा रहेको सुरक्षा कमान्ड पोस्ट त माउरीको चाकाजस्तै मान्छेमान्छेले भरिभराउ भयो । टारको यताउता कुनाभित्तातिर कतै रोधी त कतै चुट्का पनि चल्न थाल्यो । के रमाइलो गाउँलेहरूलाई ?

आफूलाई भने धर्मसंकट । प्रहरीका लाठी प्रयोग गरेर पिटपाट प्रविधिमा बाटो खुलाउन असम्भव लाग्यो । मादकपदार्थले उत्तेजित बनेको भीडमाथि लाठीचार्ज र हवाईफायर झन् बढी घातक हुन सक्थ्यो । दिनभरिजसो यताउता चलफिर गर्दै त्यत्तिकै बिलखबन्दमा परियो ।

लाठी, गोलीको बलमा सरकारी दमन हुने आशंकाले स्थानीय नेता भने बिहानैदेखि दुला पसिसकेका थिए । खोज्दा पनि कोही भेटिएका हैनन् ।     उता समस्या सल्टाउन पोखराबाट पर्याप्त अफिसर र जवानसहित आएका एसएसपीसाहेब अज्ञात ठाउँबाट आएको ढुंगो लागेर रगताम्मे बनेको पुर्पुरो छाम्दै बेलचौताराको चौकीतिर नाम्सिए ।

कसले ढुंगा प्रहार गरेको भन्ने पत्तै लगाउन सकेन जासुस प्रहरीले । बेलाबेला उत्तेजित हुँदै चर्का नारा लगाउने भीडलाई सम्झाइबुझाइ गरेर तनाव शान्त पार्न थुप्रै इन्स्पेक्टर र जुनियर अफिसरहरू खटिइरहेका थिए । म पनि पुलिस ड्रेसमै हेलमेट लगाएर बख्तरबन्द गाडीमा वरपर गर्दै उपस्थिति जनाइरहेको थिएँ ।

एकैछिन आफू यताउता लागे सीडीओ भाग्यो भनेर मुर्दावादको नारा लगाइहाल्छन् भन्ने विश्वास थियो । अपराह्नतिर स्थिति अझै गन्जागोल भएपछि भरतपुर तालिम केन्द्रका थप प्रहरी आएर छ्यापछ्याप्ती भए । खैरेनीटारभरि पुलिसैपुलिस भरिए ।

बेलाबेला चर्का नारा लगाउँदै जुलुसले पनि दुरुमपानीको थप करामत देखाउँदै गर्दथ्यो । दिन घर्किंदै गयो । सबै पक्ष थाक्दै पनि गएछन् क्यार ! पोखराबाट आएका यातायात व्यवसायी, मजदुर नेता र प्रशासनको अथक प्रयासपछि अपराह्न चार बजे बल्ल लास उठाउने र बाटो खोल्ने सहमति भयो ।

पोखरा क्षेत्रीय अस्पतालमा लास पठाएर जाम खुलेपछि नेबैलीका मेनेजर विनोद कोइराला टुप्लुक्क आइपुगे । रमिता हेर्ने र मलाई ढाडस दिने दुवै उद्देश्य थिए होलान् । दुवै भाइ बेलुकी सँगै एउटै गाडीमा दमौली फर्कियौँ ।

दिनभरि हजारौँ आक्रोशित यात्रु र मजदुरको भीडभाडबाट सकुशल किनारा लाग्न सकेकामा भने आफैँलाई भाग्यमानी सम्झिरहेको थिएँ । स्याबासी पनि दिँदै थिए, विनोदजी ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !