
काठमाडौं । दीपक सिंह ठकुरीको पहिलो अन्तर्राष्ट्रिय गोलमा नेपाल भुटानसँग हारबाट जोगिएको छ ।
दीपकले अन्तिम मिनेटमा गोल गर्दा नेपाल प्रधानमन्त्री त्रिदेशीय कपमा भुटानसँग १–१ को बराबरीमा रोकिएको हो ।
नेपालले भुटानसँग बराबरी खेलेको यो पहिलो पटक हो । नेपालले यसअघिका १३ वटै खेलमा जित निकालेको थियो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानका तेन्जिङ नोर्बुले गोल गर्दा नेपालका दीपकसिंह ठकुरीले बराबरी गोल फर्काए । बराबरीसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले १७ गते उपाधिका लागि लाओससँग खेल्नेछ ।
खेलको १९औँमिनेटमा दावा छिरिङले गरेको कर्नर प्रहारमा बक्सभित्र रहेका तेन्जिङ नोर्बुले लोअर हेडर गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।
तर, नेपालले ९०औँमिनेटमा बराबरी गोल फर्कायो । नेपालका निसान्त खड्काको कर्नरमा अनन्त तामाङको हेडरलाई दीपक हेडमार्फत नै गोल गरे । खेलको इन्जुरी समयमा दीपकले अर्को गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए ।
दीपकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनले यही प्रतियोगिताको पहिलो खेलमा लाओसविरुद्ध डेब्यू गरेका थिए ।
पहिलो हाफमा कुनैपनि डरलाग्दो आक्रमण बुन्न नसकेको नेपालले ७०औँमिनेटपछि भने केहि उत्कृष्ट आक्रमण बनाएको थियो ।
७०औँमिनेटमा दीपक राज सिंह ठकुरीले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो ।
७७औँमिनेटमा नेपालका मनिष डाङ्गीले बराबरीको सुनौलो मौका गुमाए । भुटानका रक्षक फुन्त्सो जिग्मेले नियन्त्रणमा लिन नसकेको बल खोस्दै मनिषले १८ यार्ड बक्सको बायाँ भागबाट गरेको प्रहार दोस्रो बारको नजिकैबाट बाहिर हुइकियो ।