
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टिम बंगलादेशलाई १–१ को बराबरीमा रोकेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । सेनुले मैदानको मध्यभागबाट एक्लै बंगलादेशका दुई रक्षकलाई छक्याउँदै १८ यार्ड बक्सभित्रबाट उत्कृष्ट ‘सोलो’ गरिन् ।
तर, खेलको अन्तिम १५ मिनेट सम्हालिन नसक्दा नेपाल बराबरीमा रोकियो । खेलको ७५औँ मिनेटमा एमएसटी सागोरिकाले गोल गर्दै बंगलादेशलाई बराबरीमा फर्काएकी थिइन् ।
बंगलादेशसँग बराबरी खेल्दै एक अंक जोडे पनि नेपालको उपाधि जित्ने सम्भावना भने समाप्त भइसकेको छ । नेपालले प्रतियोगिताका चार खेलबाट चार अंक जोड्यो ।
प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा भारतसँग ४–१ ले हार व्यहोरेको थियो । दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको नेपाल तेस्रो खेलमा रुससँग ३–० ले पराजित भएको थियो ।
नेपालसँगको बराबरीसँगै बंगलादेशको पनि उपाधि जित्ने सम्भावना समाप्त भएको छ । यो बराबरीपछि चार खेलबाट सात अंक जोड्दै बंगलादेश तालिकाको दोस्रो स्थानमा उक्लिए पनि शीर्ष स्थानको रुसभन्दा दुई अंकले पछि रह्यो । प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।
अब च्याम्पियनसिपको अन्तिम एक खेल बाँकी छ । जसमा तीन खेलबाट नौ अंक जोडेर शीर्ष स्थानमा रहेको रुसले भारतको सामना गर्दैछ । रुसलाई उपाधिका लागि अन्तिम खेलमा बराबरीको नतिजा पर्याप्त बन्नेछ । यता, भारतले भने उपाधि जित्न अन्तिम खेलमा रुसलाई कम्तिमा ४–० ले पराजित गर्नुपर्नेछ । तीन खेलबाट ६ अंक जोडेको भारत अहिले तालिकाको तेस्रो स्थानमा छ ।
च्याम्पियनसिपमा जितविहीन रहेको भुटानले अंकतालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो ।
साफले यूईएफए असिस्ट प्रोग्रामअन्तर्गत रहेर यू–१७ महिला च्याम्पियनसिप आयोजना गरेकाले च्याम्पियनसिपमा दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश र भुटानबाहेक रुस पनि सहभागी भएको हो ।