site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेसनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि तीन रात चार दिनको “घलेगाउँ भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार सन्दीप क्षेत्रीसँग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब २५० जना वरिष्ठ अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो । घलेगाउँ भ्रमणका क्रममा त्यहाँको स्थानीय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृष्य अवलोकनसमेत गराइएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो ।

साथै, कलाकार सन्दीप क्षेत्रीसँग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउँ भ्रमणपश्चात् पोखरामा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्