
काठमाडौं । जलविद्युत् आयोजना निर्माण, उत्पादन, प्रसारण र उपभोगमा प्रभावकारिता कायम गर्न नसक्दा विद्युत् व्यवस्थापनमा गम्भीर चुनौती देखिएको पाइएको छ । बुधबार सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदनमा विद्युत् व्यापार योजना र पूर्वाधारमा समन्वय नहुँदा, माग र आपूर्तिको व्यवस्थापन प्रभावकारी बन्न नसकेको उल्लेख छ ।
प्रतिवेदनअनुसार, समयमै आयोजना सम्पन्न नहुँदा लागत बढेको, आयोजनाबाट अपेक्षित उत्पादन पनि पूरा नभएको उल्लेख छ । सम्पन्न भइसकेका आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न ढिलाइ, प्रसारण लाइनको अभाव तथा अव्यवस्थित वितरण व्यवस्थाले समस्या थप जटिल बनाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, ट्रान्समिसनलाइन निर्माणमा समेत प्रभावकारी समन्वय र अनुगमनको अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा सरकारको ऊर्जा सम्बन्धी दीर्घकालीन योजना कार्यान्वयनमा प्रश्न उठाएको छ ।
विशेषज्ञहरूका अनुसार, विद्युत् क्षेत्रको सुधारका लागि परियोजना व्यवस्थापनमा पारदर्शिता, समयपालना र अन्तर्संस्थागत समन्वय आवश्यक छ ।