
काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो)को सबैभन्दा शक्तिशाली रकेटले ब्रोडब्यान्ड स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनी वानवेबका ३६ स्याटेलाइट प्रक्षेपण गरेको छ ।
ईसराको लन्च भेहिकल मार्क–३ (एलभीएम३) रकेटले भारतको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयानुसार आइताबर बिहान करिब ९ बजे ‘लिफ्ट अफ’ गरेको थियो । आइतबार बिहानै १० बजेतिर ईसरोले सबै स्याटेलाइटहरू सफल रूपमा लो अर्थ अर्बिट (एलईओ)मा स्थापित भएको जनाएको छ ।
यी स्याटेलाइटहरू पृथ्वीबाट ४५० किलोमिटरमाथि छोडिएको छ । आउँदा केही दिनमा आफैँ पृथ्वीबाट १२ सय किलोमिटरमा स्थापित हुनेछन् ।
योसँगै वानवेबसँग अन्तरिक्षमा रहेका ब्रोडब्यान्ड स्याटेलाइटको संख्या ६१८ पुगेको छ । यसअघि, १७ प्रक्षेपण बढीजसी रुसी अन्तरिक्ष एजेन्सीबाट गरेर वानवेबले ५८२ स्याटेलाइट अन्तरिक्षमा राखिसकेको छ ।
स्पेसएक्सको स्टारलिंक र अमेजनको कुइपरझैँ वानवेबले सन् २०२३ भित्रमा अन्तरिक्षबाट व्यावसायिक रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने योजना राखेको छ ।