1679645605.png)
काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । एपीएफले शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध १५ रनको जित दर्ता गर्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले प्रस्तुत गरेको १२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा १२१ रनको योगफल खडा गरेको थियो ।
एपीएफकी कप्तान सीता रानामगर ५२ रनमा अविजित बनाइन् । सीताले ५९ बलमा सात चौका प्रहार गरिन् । इन्दु वर्माले ३७ बलमा पाँच चौकासहित ४५ रन बनाइन् । ज्योती पाण्डे १३ रनमा पभेलियन फर्किदा मम्ता चौधरी तीन रनमा अविजित रहिन् ।सुदूरपश्चिमकी इश्वरी विष्टले एक विकेट लिइन् ।
१२२ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमकी कविता कुँवरले ५१ रन बनाए पनि टिमको हार टार्न सकिनन् । कविताले ६० बलमा तीन चौका र दुई छक्का प्रहार गरिन् । कविता जोशी २६ रनमा अविजित रहँदा सम्झना खड्काले १७ रन थपिन् ।

एपीएफकी सुमन बिष्टले दुई विकेट लिइन् । सीता र इन्दुले एक–एक विकेट लिए ।
प्रतियोगितामा लगातार दोस्रो जित निकालेको एपीएफले यसअघि पहिलो खेलमा मधेस प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको थियो । प्रतियोगितामा सुदूरपश्चिमको भने यो पहिलो हार हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई ५० रनले पराजित गरेको थियो ।
प्रतियोगितामा सुदूरपश्चिम, एपीएफ क्लब, मधेस प्रदेश, कोसी प्रदेश र आयोजक ललितपुर मेयर्स–११ गरी पाँच टिमको सहभागिता छ ।