
काठमाडौं । संघीय राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
खेलको छैटौँ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४औँ मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि, खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । जितसँगै आर्मीले पाँच खेलमा आठ अंक जोडेको छ । फ्रेन्ड्सले पाँच खेलमा चार अंक जोडेको छ ।
त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ ।
खेलको ६४औँ मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सञ्जिव विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७५औँ मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए ।
आजको बराबरीसँगै पुलिसले पाँच खेलमा एक अंक जोडेको छ । पुलिस अंकतालिकाको पुछारमा रहेको छ । एनआरटीले पाँच खेलमा दुई अंक जोडेको छ ।