
तेहरान । इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढंगले विषको माध्यमबाट आक्रमण गरेको आरोपमा १०० भन्दा बढीलाई पक्राउ गरिएको छ ।
गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धेरै छात्रा बेहोस हुने, वाकवाकी लाग्ने, सास फेर्न कठिन हुने समस्याबाट पीडित भएका थिए । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
देशका २०० भन्दा बढी विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर ‘शत्रु समूह’ ले आक्रमण गरेका जनाउँदै गृह मन्त्रालयले अपराधीहरूलाई कानुनको दायरमा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ । यो घटनाबाट विद्यार्थी र अभिभावक क्रुद्ध एवम् भयभीत छन् ।
इरानी जनतामा त्रास सृजना गर्ने तथा विद्यालय बन्द गराउने उद्देश्यका साथ विषाक्त आक्रमण गरिएको गृह मन्त्रालयले बताएको छ । गत साताको मध्यदेखि विषाक्त आक्रमणका घटना नभएका, छात्राहरू बिरामी परेका खबर पनि प्राप्त नभएका उक्त मन्त्रालयको कथन छ ।
अल्वानियामा रहेको इरानको विपक्षी आतङ्कवादी सङ्गठनले उक्त आक्रमण गराएको ठानिएको छ । पक्राउ परेकाहरूसँग सोधपुछ र अनुुसन्धान जारी रहेकाले आतंकवादी संगठनसँगको उनीहरूको संलग्नता पुष्टि भइनसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानका ३१ प्रान्तमध्ये २५ वटा प्रान्तका करिब २३० विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थी विषाक्त आक्रमणको शिकार भएका पछिल्लो सरकारी तथ्यांकमा उल्लेख छ । रासस/एएफपी