site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
स्टारडमले सिनेमा चल्छ ? त्यो युग सकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट चलचित्र ‘छड्के–२’ ६ दिनमै उत्रियो । क्यूएफएक्सबाट यति छिट्टै उत्रिएको अनमोल केसीको यो पहिलो चलचित्र हो । छड्के–२ मा अनमोल केसी मुख्य भूमिकामा छन् । अनमोल इनिसियल बिजनेसका लागि पहिलो रोजाइका नायक मानिन्थे । उनलाई झरना थापाले आफ्नो चलचित्र ‘ए मेरो हजुर’को सिरिजमार्फत ‘मेगा स्टार’को उपाधि दिएकी थिइन् । त्यसयता धेरैले अनमोललाई ‘मेगा स्टार’ भन्न थाले ।

युवामाझ राम्रो क्रेज भएको मानिएका अनमोलकै कारण उनका चलचित्रले लोभलाग्दो इनिसियल बिजनेस गर्ने गरेको ठानिन्थ्यो । त्यसैले महँगो पारिश्रमिक दिएर निर्माताले उनलाई आफ्नो चलचित्रमा अनुबन्ध गराउँदै आएका थिए । अनमोल स्टारर यसअघिका चलचित्रका इनिसियल बिजनेस राम्रो पनि देखिएको थियो । उनलाई ५० लाख रुपैयाँसम्म पारिश्रमिक दिन निर्माता तयार थिए ।

तर, योपटक अनमोलको स्टारडमले काम गरेन । हालसम्मको सर्वाधिक कमाइको रेकर्ड बनाएको ‘छक्का पञ्जा’को चौथो सिरिजसँगै एकैदिन रिलिज भएको अनमोलको छड्के–२ ले हलमा राम्रै शो पाएको थियो । हलहरूले पाँच दिनअगाडि नै बुकिङ खुला गरेका थिए । सँगै बुकिङ खुला भएको ‘छक्का पञ्जा–४’ का कतिपय शो ‘फिलिङ फास्ट’मा बुकिङ भइरहँदा  छड्के–२ का दुई/तीनवटा टिकट पनि बिक्री भएको देखिँदैन थियो । फलतः चलचित्रले इनिसियल बिजनेस गर्न सकेन । इनिसियल बिजनेस त गरेन नै, तेस्रो/चौथो दिनमा पनि अनमोलको सिनेमामा दर्शकले चासो देखाएनन् । परिणामः हप्ता दिन नपुग्दै अधिकांश हलबाट चलचित्र उत्रियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अनमोलको चलचित्र उत्रिँदै गर्दा सँगै रिलिज भएको छक्का पञ्जा–४ को भने शो बढाइँदै थियो । दर्शक थपिँदै थिए । शो फिलिङ फास्ट मात्र होइन, कतिपय शो ‘शोल्ड आउट’ भइरहेका थिए । भलै, यो सिनेमाले पनि औसत समीक्षा बटुलिरहेको थियो । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको चलचित्रले औसत समीक्षा पाइरहँदा छड्के–२ ले चर्को गाली खाइरहेको थियो । समीक्षा मात्र होइन, सामाजिक सञ्जालमा पनि छड्के–२ का निर्देशक निगम श्रेष्ठ र अनमोलको चर्को आलोचना भइरहेको थियो ।

दर्शक र समीक्षकले त छड्के–२ को आलोचना गरे नै, यही चलचित्रका वितरकले पनि निर्माण पक्षको खुलेरै आलोचना गरे । छड्के–२ लाई सुनील मानन्धरले वितरण गरेका थिए । चलचित्रमा कथा नै नभएको, कथामा मिहिनेत नगरिएको, भनेको ठाउँमा नखिचिएको, मनलाग्दी रूपमा कलाकार राखिएको भन्दै उनले आलोचना गरे । आफूले चलचित्र हेर्न समेत नसकेको उनले बताए । तीन करोडमा बनेको छड्के–२ ले एक करोड रुपैयाँ पनि ग्रस कलेक्सन गर्न सकेन । चलचित्रमा कथामा मिहिनेत नगर्नु नै यसको मुख्य कारण रहेको उनको निष्कर्ष छ ।

Global Ime bank

अनमोलको चर्को आलोचना भइरहँदा उनले शुक्रबार माफि मागे । आफूले दर्शकलाई निराश बनाएको स्वीकार गर्दै उनले यो दिन बिर्सिदिन आग्रह गरे । आउँदा दिनमा पुनः मिहिनेत गरेर दर्शकमाझ आउने बताए । अनमोलले माफी मागेपछि उनको अहिले चौतर्फी तारिफ भइरहेको छ ।

अनमोल अभिनीत चलचित्रले आकर्षक इनिसियल बिजनेस गरेन । यसको अर्थ उनको स्टारडमले काम गरेन भन्ने पनि हो ? अनमोललाई आफ्नो चलचित्रमा लिने अधिकांश मेकरको अपेक्षा इनिसियल बिजनेस नै हुने गरेको निर्देशक नरेशकुमार केसी बताउँछन् । यद्यपि, छड्के–२ ले अब स्टारडमको युग सकिएको संकेत गरेको उनी बताउँछन् ।

“इन्डियामा अक्षय कुमारका चलचित्रले डेढ/दुई करोड ओपनिङ गर्न थालेका छन् । यसको अर्थ स्टारडमको युग सकिसक्यो भन्ने हो । अब स्टारडम होइन, कथा बिक्छ,” नरेश स्पष्ट पार्छन् ।

स्टारको आइडिया स्टारलाई पर देखिन्छ, छुन पाइँदैन भन्ने हो । हलमा मात्र देखिन्छ, रियलमा सम्भव छैन भन्ने हो । तर, सामाजिक सञ्जालको प्रयोग र सहज पहुँचको समयमा स्टारडम कायम नरहने नरेशको तर्क छ । “अहिले हरेक कलाकार सामाजिक सञ्जालमा आएर लाइभ बस्छन्, दर्शकसँग अन्तरक्रिया गर्छन् । दिनकै सामाजिक सञ्जालमा देखिने र अन्तरक्रिया गर्न आउने कलाकारको स्टारडम कसरी कायम रहन्छ ?,” उनी प्रश्न गर्छन्, “पर देखिने मात्रै तर छुन नपाइने व्यक्ति नै स्टार हो भन्ने स्टारको आइडिया हो, जुन अहिले सम्भव छैन ।”

अब स्टारडम होइन, कथामा भर पर्नुपर्ने उनी स्पष्ट पार्छन् । अक्सर नेपाली सिनेमाका मेकरले कथामा कति खर्च गर्छन् भनेर सोध्ने समय आएको उनी बताउँछन् । कथा बलियो नभएसम्म चलचित्र अब्बल नहुने तथ्यलाई स्वीकार्नुपर्नेमा उनको जोड छ ।

हलबाहेक रिटर्न्स आउने अर्को भरपर्दो विकल्प नरहेको नेपाली सिनेमा उद्योगमा सबैभन्दा पहिला कथामा नै ध्यान दिनुपर्ने उनी बताउँछन् । अन्यथा, स्टारकास्ट, स्टारकास्टको भीड र राम्रो लोकेसनले मात्र चलचित्र नचल्नेमा प्रस्ट हुनुपर्ने उनको ठहर छ ।

निर्माता रोहित अधिकारी अब पारिश्रमिक केका आधारमा निर्धारण गर्ने भन्ने विषय उठेको बताउँछन् । “५० लाख पारिश्रमिक केका लागि दिने भन्ने पनि छड्के–२ ले प्रश्न खडा गरिदियो,” रोहित भन्छन्, “स्टारको फिल्मले ओपनिङ राम्रो गर्छ, स्टार लिएपछि शुक्रबार र शनिबार दुई दिन स्टारले दर्शक तान्छ, आइतबारदेखि राम्रो चलचित्र भयो भने आफैँ चल्छ भन्ने हो ।” तर, छड्के–२ ले अलमल सिर्जना गरिदिएको उनी बताउँछन् ।

५० लाख पारिश्रमिक तिरेको स्टारको सिनेमाले १० लाख पनि ओपनिङ गर्न नसके कसलाई स्टार र केलाई स्टारडम मान्ने भन्ने गम्भीर विषय अगाडि आएको रोहित बताउँछन् । “यसअगाडि केही चलचित्रमा स्टारले हलसम्म दुई दिन दर्शक तानेको देखिएको थियो । तर, छड्के–२ ले त्यस्तो देखाएन । एक्सन फिल्ममा मात्र स्टारडमले काम नगरेको हो कि अब अरूमा पनि यस्तै हो भन्नेमा अलमल देखियो,” उनी अगाडि थप्छन्, “कोभिड पछाडि स्टारडमले काम नगरेको हो कि भन्नेजस्तो पनि देखिएको छ । बलिउडसँग जोडेर हेर्ने हो भने पनि स्टारडमले काम नगरेको प्रस्ट हुँदै गएको दखिन्छ ।”

राम्रै शो त्यो पनि प्राइम समयमा पाउँदा पनि स्टारको सिनेमाले राम्रो ओपनिङ गर्न नसक्दा निर्माता अलमलमा परेको रोहित सुनाउँछन् । राम्रो शो र प्राइम समय पाउँदा पनि स्टारको चलचित्र यसरी ‘फ्लप’ भएको यो पहिलोपटक हो । दर्शक नआएर दैनिक ८० प्रतिशत शो क्यान्सिल भएको पनि पहिलोपटक हो ।

यसले स्टारकास्ट होइन, कथा राम्रो हुनुपर्ने सन्देश दिएको निर्देशक नरेशकुमार केसी बताउँछन् । अन्यथा, यही परम्परा दोहोरिरहने उनको भनाइ छ ।

“दुईजना बडिगार्ड अघिपछि लगाएर हिँड्दैमा कोही स्टार हुँदैन । र, स्टारडम सिनेमा हलमा देखिँदैन । सो कल्ड स्टारले अबको जमानामा सिनेमा चल्दैन,” नरेश अगाडि थप्छन््, “अब स्टार लेखकको अब्बल कथा लेखनले मात्रै चलचित्र चल्छ ।”

सिनेमा निर्माण कम्पनी आइसफल प्रोडक्सनका सञ्चालक रामकृष्ण पोखरेल आफूले बनाउने चलचित्रमा स्टारडमले महत्त्व नराख्ने बताउँछन् । आफूले सधैँ सिनेमाको कथाअनुसार कलाकार खोज्ने गरेको उनको भनाइ छ । “म सधैँ कथाअनुसार कलाकार खोज्छु । मलाई को स्टार को ननस्टार, को चिनिएको र को नचिनिएको भन्ने कुराले अर्थ राख्दैन,” रामकृष्ण भन्छन्, “मैले ‘हल्कारा’मा पनि कथाअनुसारको पात्र खोज्ने क्रममा अडिसनबाट कलाकार लिएको थिएँ ।”

जसले राम्रो काम गर्न सक्छ, उसैलाई लिनुपर्ने उनको धारणा छ । “कथा राम्रो भयो भने सिनेमा आफैँ चल्छ । राम्रो भएन भने सायद चल्दैन होला,” उनी भन्छन्, “स्टारकास्ट गरेर मैले यसको अनुभव त गरेको छैन, तर पनि स्टारडम नभए सिनेमा चल्दैन भन्नेचाहिँ होइन । स्टारडमलाई हामी फलो नै गर्दैनौँ । स्टारडमले हाम्रो सिनेमामा भ्यालु नै राख्दैन ।”


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC