site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवासँग प्रतिस्पर्धा छाडेर सहकार्य गर्दा राष्ट्रपति बनेका पौडेल
Sarbottam CementSarbottam Cement

पोखरा । दुई वर्षअगाडि २०७७ मंसिर १७ गते । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रशासनले नियन्त्रणमा लियो । तनहुँमा निषेधाज्ञा नै जारी गर्नुपर्‍यो । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा पौडेल तनहुँ १ बाट पराजित हुन पुगेका थिए । पराजित भए पनि गृहनगरमा नै एक पुलको उद्धाटन गर्न जानेक्रममा कांग्रेस र तत्कालीन नेकपाका कार्यकर्ताबीच विवाद हुनपुग्यो । बुल्दीखोला पुलले व्यासको १, १० र ११ जोड्थ्यो । सोही पुल उद्धाटन गर्न जाने क्रममा नेकपा निकट युवा संघले विरोध गर्‍यो । झडपकै स्थिति सिर्जना भएपछि निषेधाज्ञा जारी भयो । पौडेललाई प्रशासनले नियन्त्रणमा लियो ।

वरिष्ठ नेतालाई नियन्त्रणमा लिएपछि आक्रोशित बनेको कांग्रेसले भोलिपल्ट विरोध कार्यक्रम राख्यो र अन्तिममा पुलको उद्धाटन नै गरिछाड्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनै पौडेलले ओलीले अर्को महिना, पुस ५ गते संसद् विघटन गरेपछि त्यसको विरोधको अग्रमोर्चामा उभिए । संसद् विघटनकै कारण तत्कालीन नेकपा फुट्न पुग्यो, पुराना दल ब्यूँतिए । नेकपा (एमाले) फुटेर नेकपा (एकीकृत समाजवादी) जन्मियो । हेर्दाहेर्दै दुईतिहाइको सरकार ढल्न पुग्यो । नयाँ पाँचदलीय गठबन्धन बन्यो र संसद्मा एकचौथाइको भूमिकामा पनि नरहेको नेपाली कांग्रेस सत्तामा पुग्यो ।

यी सबै उपक्रम चलिरहँदा चुनाव हारे पनि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’को संयोजक बनेर पौडेल तत्कालीन सत्ता राजनीतिकै केन्द्र वरपर थिए ।

Global Ime bank

तत्कालीन पाँचदलीय गठबन्धनको उक्त संयन्त्रको नेतृत्व गरिरहँदा नै उनलाई यसलाई आगामी चुनावसम्म टिकाउने र आफू प्रधानमन्त्री बन्ने आशा पनि उत्तिकै थियो । गतसाल सम्पन्न प्रतिनिधिसभाको चुनावमा गठबन्धनबाट उमेदवार बनिरहँदा उनले तनहुँमा आफूलाई भावी प्रधानमन्त्री नै भनेर चिनाइरहेका थिए ।

“गठबन्धनको सुत्रधार म नै हुँ, गठबन्धनको कमान्डर मलाई नै बनाइएको छ । मलाई प्रधानमन्त्री बनाउन सबैलाई मान्य हुन्छ,” गतसाल मंसिर १ गते पौडेलले चुनावमा विजयी गराइदिन भन्दै मतदातासामु मत माग्दा बोलेको वाक्य हो यो । तनहुँ १ मा कांग्रेसबाट उमेदवारी दिएका पौडेल तत्कालीन गठबन्धनका साझा उमेदवार थिए र उनले आफू नै भावी प्रधानमन्त्री बन्ने बताउँदै मत मागिरहेका थिए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट पौडेल विजयी पनि भए । प्रतिनिधिसभाको उक्त निर्वाचनमा पाँचदलीय गठबन्धन कायम थियो । सोही गठबन्धनका सुत्रधारमध्येका एक पौडेल नै थिए । गठबन्धनका अन्य सबै नेताहरुलाई पनि मिलाउने र भावी प्रधानमन्त्री बन्ने उनको योजना थियो । सोहीअनुरुप उनी लबिइङमा पनि लागे । 

तर, नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेको समयसीमाको अन्तिम दिन पुस १० गते उक्त गठबन्धन भत्कियो । नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच को पहिला प्रधानमन्त्री बन्ने विषयले गर्दा गठबन्धन टुट्न पुग्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेतृत्वको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बने ।

प्रचण्ड अर्कै गठबन्धनबाट प्रधानमन्त्री बनिसकेपछि पौडेलले प्रतिक्रिया दिए, “प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो ।”

पौडेलले त्यसो भन्नुको पछाडि प्रचण्डले नै पौडेललाई राष्ट्रपतिको प्रस्ताव गरेका थिए । गठबन्धनबाट माओवादीले सुरुमा नेतृत्व गर्ने र आलोपालो प्रणालीबाट कांग्रेसले पछि सरकारको नेतृत्व गर्ने तत्कालीन पाँचदलीय गठबन्धनको निर्णय कांग्रेस सभापति शेरबहादुर देउवाले नमानेपछि पौडेल निराश बन्न पुगे ।

तनहुँमा उनले भावी प्रधानमन्त्री भनेर मत मागे पनि उनको दल कांग्रेसले संसदीय दलको निर्वाचनबाट देउवालाई नै निर्वाचित गरिसकेको थियो । देउवाकै समकालीन नेता पौडेललाई भने स्वयं देउवाले नै राष्ट्रपतिको आश्वासन दिएर व्यवस्थापन गर्न खोजेका थिए । तर, देउवाकै अडानका कारण गठबन्धन टुटेपछि गठबन्धन कायम राखिराख्नुपर्छ भन्ने पौडेलको सपनामा पनि तत्कालका लागि तुषारापात भयो ।

पार्टीभित्र र बाहिर पनि देउवाको चर्को आलोचना हुनपुग्यो । तर, पुस २५ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर रिझाउने प्रयासमा लागेको कांग्रेस राष्ट्रपति चुनावमा भने पुरानै गठबन्धनमा फर्किएको छ । तत्कालीन पाँचदलीय गठबन्धनको आकार बढेर नौदलीय बन्न पुगेको छ । अनि, नौदलीय गठबन्धनबाट राष्ट्रपतिमा विजयी भएका छन्, उनै पौडेल । कांग्रेसको राजनीतिक जितमा रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।

प्रधानमन्त्री बनेर कार्यकारी बन्ने इच्छा थाँती रहँदारहँदै राष्ट्रपति बनेर पौडेलको लागि शीतलनिवासको ढोका खुलेको छ ।

देउवासँगको प्रतिस्पर्धामा सधैँ पराजित भएका र कार्यकारी पदमा पुग्नबाट वञ्चित पौडेल पछिल्लो महाधिवेशनबाट देउवासँग नजिकिन पुगेका थिए । पौडेल राष्ट्रपति बन्दै गर्दा लामो समयसम्मका प्रतिस्पर्धी शेरबहादुर देउवाले लेखेका छन्, “राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।”

प्रतिस्पर्धा देउवासँग, पराजय पनि देउवासँगै

पौडेल र देउवा कांग्रेस राजनीतिका सहकर्मी र प्रतिस्पर्धी हुन् । चाहे त्यो २०२८ को नेविसंघको अधिवेशन होस् वा पार्टीको महाधिवेशन । उनीहरु आमनेसामने भइरहे । तर, पौडेलको लागि शीर्ष नेतृत्व पाउन भने असम्भवप्राय देखियो ।

२०२८ साल असोजमा चितवनमा नेविसंघको दोस्रो महाधिवेशन भयो । सभापतिका लागि देउवा र पौडेल बलियो प्रतिस्पर्धी बने । तर, सर्वसम्मतीको नाममा देउवा २०२८ सालमा नेविसंघको सभापति भए ।

नेपाली कांग्रेसभित्र उनीहरुको प्रतिस्पर्धा १३ औँ महाधिवेशनसम्म पनि उस्तै रह्यो । तर, त्यहाँ पनि देउवाले नै बाजी मारे ।

१३ औँ महाधिवेशनसम्म प्रतिस्पर्धी बनेर फरक समूहको नेतृत्व गरेका पौडेल गतसाल मंसिरको १४ औँ महाधिवेशनको प्रक्रियामा नै संलग्न भएनन् । उनी बाहिरिएपछि सभापतिका आकांक्षी रहेका देउवाले घरमै गएर “तपाई चाहिने मान्छे” भन्दै आश्वासन दिएका थिए । पौडेललाई देउवाले त्यतिबेला नै राष्ट्रपति बनाउने वचन दिएको चर्चासमेत चल्दै आएको छ ।

१४ औँ महाधिवेशनमा नै समूह छाडेर मौन बसेका पौडेलमाथि देउवालाई सहयोग गरेको आरोप नलागेको पनि होइन । तर, देउवाले राष्ट्रपतिको लागि आश्वासन दिएको र तत्कालीन पाँचदलीय गठबन्धनको सरकार रहँदा बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पनि बनाएका कारण उनी देउवाप्रति सकारात्मक बन्न थालेको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् ।

कांग्रेसभित्रै गत स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने भनेर कांग्रेसभित्रै विरोध भइरहँदा गठबन्धन गर्नुपर्ने पक्षमा पौडेलले चर्को अडान लिएका थिए । उनलाई राष्ट्रपतिको लागि देउवा मात्र नभएर गठबन्धनका नेता प्रचण्डले समेत आश्वासन दिएका थिए ।

अन्ततः आन्तरिक राजनीतिमा देउवासँग प्रतिस्पर्धा गरेर असफलता मात्रै पाएका पौडेलले देउवासँगको सहकार्यकै कारण देशको सर्वोच्च पद ‘राष्ट्रपति’मा निर्वाचित हुन सफल भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC