काठमाडौं । वि.सं. २०७० सालमा चलचित्र ‘छ एकान ६’ पाइरेसी भयो । निर्माता त्यसको मारमा परे । चलचित्र पाइरेसी हुँदा त्यसको असर हलमा दर्शक नजाँदा सिनेमा हल, निर्माता र वितरकलाई त पर्छ नै । डिजिटल राइट्स किन्ने कम्पनी/व्यक्तिलाई पनि असर पर्छ । चलचित्र पाइरेसी भएपछि ओभरसिज मार्केट करिब–करिब ठप्प प्रायः हुन्छ ।
०७३ मा ‘छ एकान ६’ टिमकै चलचित्र ‘छक्का पञ्जा’ रिलिज भयो । उक्त चलचित्र पनि पाइरेसी भयो । पाइरेसीको मारमा परेका निर्माता तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले प्रहरीमा उजुरी गर्यो । प्रहरीले ‘छक्का पञ्जा’ फेसबुकमार्फत सार्वजनिक गर्ने कृष्ण सुवेदीसहित चार युवकलाई पक्राउ पनि गर्यो ।
पाइरेसीको कानुन आकर्षित हुँदा हुने कारबाहीलगायत समाचार सञ्चारमाध्यम र युट्युबमा छ्यापछ्याप्ती आएपछि सुवेदीले आत्महत्या गरे । त्यसपछि दीपक–दीपा आलोचनाको सिकार भए । चर्को आलोचनापछि दीपकले फेसबुकमा लेखेको लामो स्टाटसको एउटा अंश यस्तो थियो, ‘उजुरी गरेँ । व्यक्ति समातियो पनि । कारबाही गर्नुपर्ने तर एउटा गरिब मजदुरी गरेर खाने परिवारको केटा परेछ । उसको आमालाई देखेर आफ्नै आँखामा आँसुु आयो । प्रहरीलाई अनुरोध गरेर आइन्दा यस्तो नगर भनेर छोडिदियौँ । अपराध महाशाखा प्रमुख सर्वेन्द्र खानल र मैले पाइरेसी गरे पनि पैसा कमाउने नियतमा पाइरेसी भएको देखिन्न, त्यसैले कारबाही नगरौँ, केटाहरूको भविष्य बिग्रिन्छ भनेर सामान्य तारिखमा छोडियो ।’
दीपकले पटक–पटक भन्दै आएका छन्, ‘कृपया यस्ता सामग्री हात पर्दा नहेर्नु राम्रो । हेरे पनि सेयर वा ट्याग नगरौँ । त्यसले तपाईंको पनि भविष्य बिग्रन सक्छ, साइबर एक्टले समात्छ ।’
दीपकराज गिरी वा उनीजस्ता धेरै चलचित्रकर्मीले ‘पाइरेसी नगरौँ र पाइरेसीबाट आफूसम्म आइपुगेको सामग्री सकेसम्म नहेरौँ, हेरे पनि अरूलाई नदेखाऔँ’ भनिरहेका हुन्छन् । तर, जसले जतिसुकै आग्रह गरोस्, पाइरेसी हुने क्रम रोकिएको छैन । बरु, झन् बाक्लिएको छ ।
यति बेला ‘छक्का पञ्जा–४’ हलमा प्रदर्शन भइरहेको छ । हलमा दर्शकको ठूलो उपस्थिति पनि छ । तर, ‘छक्का पञ्जा–४’ का क्लिप्स सामाजिक सञ्जाल टिकटकमा ‘भाइरल’ भइरहेका छन् । छोटा दृश्यदेखि लामा–लामा सिन टिकटकमा हेर्न सकिन्छ । टिकटकमा उपलब्ध सिन हेर्दा ‘छक्का पञ्जा–४’ कस्तो चलचित्र हो, मजाले बुझिन्छ ।
त्यसो त दीपक–दीपा मात्र होइन, चलचित्र पाइरेसीको मारमा पर्ने थुप्रै सिनेकर्मी छन् । बिग बजेटमा ठूलो अपेक्षा गरेर निर्माण गरिएको चलचित्र ‘फन्को’ रिलिजअगाडि नै पाइरेसी भएको थियो । जसको मारमा यसका निर्माता परे नै ।
आठ वर्षअगाडिको ‘हिट’ चलचित्र ‘पशुपतिप्रसाद’ हलमा प्रदर्शन भइरहेका बेला पाइरेसी भयो । चलचित्र लोकप्रिय भयो । दर्शक र समीक्षक दुवैबाट तारिफ बटुलेको सिनेमा पाइरेसीकै कारण हलमा राम्रोसँग चल्न पाएन ।
यसको सिलसिला यतिमै रोकिँदैन । गएको जेठमा रिलिज भएको चलचित्र ‘कबड्डी–४’ पनि हलमा प्रदर्शन भइरहेका बेला ‘लिक’ भयो । युट्युबमा पूरै चलचित्र लिक भएपछि निर्माण पक्षलाई टाउको दुखाइ बनेको थियो । चलचित्र ‘प्रेम गीत’ पनि पाइरेसी हुँदा निर्माण पक्ष प्रहरीसमक्ष पुगेको थियो ।
सामाजिक सञ्जालको अधिक प्रयोगअघि निर्माण युनिटकै लापरबाहीका कारण युट्युबमा सिनेमा लिक हुने गरेका थिए । अहिले भने सामाजिक सञ्जालका प्रयोगकर्ता यसमा सक्रिय हुने गरेका छन् ।
“पछिल्लो समय निर्माण पक्ष सचेत हुँदा कलाकार तथा निर्माणसँग सम्बन्धित व्यक्तिबाट भने चलचित्र लिक हुने क्रम रोकिएको छ,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “तर, अहिले हलमा सिनेमा हेर्न गएका दर्शकले मोबाइलबाट खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको पाइएको छ ।”
यसरी हुने पाइरेसी नियन्त्रणका लागि सिनेमाघर नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने उनी बताउँछन् । टिकट हेरेर सिटमा दर्शक राख्ने व्यक्तिले बीचबीचमा ‘चेक’ गरेको खण्डमा टिकटक र फेसबुकमा सिनेमा आउने क्रम कम हुने उनको भनाइ छ ।
“सिनेमा चलिरहेका बेला सिटमा दर्शक राख्ने सिनेमाघरको व्यक्तिले चेक गरेर कसैले सिनेमा खिचिरहेको छ कि छैन भनेर चेक गर्नुपर्ने अवस्था देखिएको छ,” उनी अगाडि थप्छन्, “सिनेमा खिच्दा मोबाइलको लाइट बल्ने भएकाले सहजै कसले खिचिरहेको छ भन्ने पत्ता लगाउन सकिने भएकाले पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।”
युट्युबमा अपलोड गरिएको भिडियो कपिराइट ‘क्लेम’ गरेर हटाउन सकिए पनि टिकटकमा अप्ठ्यारो हुने उनी सुनाउँछन् । पाइरेसीको मारमा आफू पनि परेको स्मरण गर्दै दीपेन्द्र भन्छन्, “पशुपतिप्रसाद हलमा चलिरहेका बेला पाइरेसी भयो । त्यसको असर हलमा त पर्यो नै । त्यसले हाम्रो ओभरसिज मार्केट त डामाडोल पारिदियो,” दीपेन्द्र भन्छन्, “हामीले ओभरसिज मार्केटबाट लिएको करिब एक करोड रुपैयाँ सिनेमा लिक भएपछि फिर्ता गर्नुपरेको थियो । थुप्रै ठाउँमा डिल भइरहेका बेला लिक हुँदा बिक्री नै गर्न पाइएन ।”
यसपटक चलचित्र ‘पशुपति प्रसाद–२ भष्मे डन’ सुरु हुनुभन्दा अगाडि हरेक शोमा कलाकारले पाइरेसी नगरिदिन आग्रह गर्नेछन् । छोटो भिडियोमार्फत चलचित्रका कलाकारले सिनेमा हलमा ‘क्लिप्स’ मोबाइलमा नखिच्न आग्रह गर्नेछन् । यसले केही प्रभावकारिता सिर्जना गर्छ भन्ने निर्देशक दीपेन्द्रको विश्वास छ ।
केही समयअगाडि रिलिज भएको आफ्नो चलचित्र ‘के घर के डेरा’ पनि युट्युबमा पाइरेसी भएको उनी बताउँछन् । टिकटकमै चलचित्रका क्लिप्स हेरेर रमाइलो मान्ने पनि धेरै व्यक्ति रहेको उनी बताउँछन् ।
युट्युबमा अनधिकृत रूपमा ‘छक्का पञ्जा–४’ का क्लिप्स आउन थालेपछि युट्युब कम्पनी ओएसआर डिजिटलले साइबर ब्युरोमा उजुरी दिएको छ । “टिकटकमै पार्ट–१, पार्ट–२ गर्दै १०/१२ वटासम्म पार्ट टिकटकमा राख्ने गरेको पाइएपछि हामी साइबर ब्युरोमा गएका हौँ,” ओएसआरका व्यवस्थापक रुपेन्द्र खड्गी भन्छन्, “आगामी दिनमा यसो गर्न नहुने रहेछ भनेर व्यक्तिमा चेतनाको विकास होस् र कानुन आकर्षित गरेर कारबाही होस् भनेर पनि हामी साइबरमा ब्युरोमा गएका हौँ ।”
पार्ट–पार्ट गरेर सिनेमा आउँदा त्यसको नकारात्मक असर व्यापारमा पर्ने गरेको उनी सुनाउँछन् । “दुई/चार सेकेन्डको क्लिप्स आउँदा त प्रोमोसन हुँदा त प्रोमोसन नै हुन्छ । तर, पार्ट–पार्ट गरेर ९० प्रतिशतसम्म सिनेमा आउँदा त्यसको नकारात्मक असर पर्ने गरेको छ,” रुपेन्द्र भन्छन्, “यति धेरै सिनेमा लिक हुन थाल्यो, सिनेमाको स्टोरी नै रिविल हुन थालेपछि सिनेमा हेर्न जानेलाई पनि रमाइलो हुँदैन ।” सिनेमा हेरेर मनोरञ्जन लिनुपर्नेमा मोबाइलमा खिच्नेतर्फ दर्शक लागेको उनको गुनासो छ ।
‘छक्का पञ्जा–४’ का कार्यकारी निर्देशक समेत रहेका निर्मल शर्मा व्यापारमै असर गर्ने गरी टिकटकमा क्लिप्स आएको भन्दै यसलाई हटाउने काम भइरहेको बताउँछन् । “हामी टिकटकमा आएका भिडियो हटाउने काम गरिरहेका छौँ । अहिलेसम्म २०० वटा भिडियो हटाइसक्यौँ,” निर्मल भन्छन्, “बाँकी भिडियो पनि हटाउने काम भइरहेको छ ।”
रुपेन्द्र नयाँ प्रविधि, नयाँ प्लेटफर्म भएकाले केही समय लाग्ने बताउँछन् । यद्यपि, टिकटकले राम्रो रेस्पोन्स गरिरहेको उनले जानकारी दिए ।
टिकटकमा रहेका ‘छक्का पञ्जा–४’ का भिडियो दुबईबाट हटाउने काम भइरहेको निर्मल बताउँछन् । “सबैभन्दा पनि पहिला त सामाजिक सञ्जालका प्रयोगकर्ता नै सचेत हुनुपर्यो, जो सामान्य भ्युज र कमेन्टका लागि यो गैरकानुनी काम गरिरहेका छन्,” निर्मल अगाडि थप्छन्, “हाम्रो करोडौँ लगानी र एक वर्षभन्दा धेरै दर्जनौँले गरेको मिहिनेतको संवेदनशीलतालाई पनि ख्याल गरिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो ।”
भ्युज तथा कमेन्टको लोभमा अरूको करोडौँ लगानी र मिहिनेतलाई जोखिममा नपारिदिन उनको आग्रह छ । यसको रोकथाम गर्न सिनेमा हलले आफ्नो जनशक्ति परिचालन गर्नुपर्नेमा उनको जोड छ ।