काठमाडौं । नेपालमा अक्सर बन्ने सिनेमा भनेको लभस्टोरी र सोसल ड्रामा हुन् । नयाँ मेकर हुन् वा पुराना, धेरैको पहिलो रोजाइमा लभस्टोरी र सोसल ड्रामा नै पर्छन् ।
कारण हो, लगानी । अर्थात्, जुन जानरामा बनाउँदा कम लगानी हुन्छ, त्यसैमा सिनेमा धेरै बन्छन् । त्यसो त सोसल ड्रामा र लभस्टोरी भन्नेबित्तिकै सिनेमाको लगानी कम हुन्छ भन्ने होइन । तर, मेकरले चाहेको खण्डमा बजेट कम गर्न सकिने अवस्था यी जानराका सिनेमामा धेरै हुन्छ । राजनीतिक विषयवस्तु उठान गरेका चलचित्रमा यस्तो सम्भावना न्यून हुन्छ ।
‘प्रोडक्सन रिच’ देखाउने हो भने राजनीतिक सिनेमामा ठूलो लगानी हुन्छ । प्रोडक्सन भ्यालु कमजोर देखाएर सिनेमा बनाउने हो भने त्यो अलग पाटो भयो । तर, त्यसको असर पर्दामा देखिन्छ । दर्शकको रोजाइमा नपर्ने सम्भावना उच्च हुन्छ । त्यसैले नेपालमा पोलिटिकल सिनेमा कमै बनाइन्छ ।
जति धेरै लगानी चलचित्रमा हुन्छ, त्यति नै निर्माताको लगानी ‘रिस्क’मा हुन्छ । रिस्क नै सही, अहिले रिलिजको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा–४’ राजनीतिक विषयमा आधारित छ । आफ्नो ३० वर्षे करिअरमा जोखिम मोलेर राजनीतिक विषयमा चलचित्र निर्माण गरेको निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् । ‘छक्का पञ्जा–४’ शतप्रतिशत राजनीतिक विषयमा आधारित चलचित्र भएको उनी सुनाउँछन् । आफ्नो चलचित्रमा ‘पोलिटिक्स’बाहेक केही नरहेको उनी स्पष्ट पार्छन् ।
“म मेरो करिअरको ३०औँ वर्षमा आएर पनि अलिअलि रिस्क लिन सकिनँ भने कहिले लिने ? हाम्रो स्टोरी टेलिङ सधैँ एउटै किन हुनुपर्ने ? सधैँ माया–पिरतीमा आधारित चलचित्र मात्रै कति बनाउने ?,” दीपक प्रश्न गर्छन्, “हामीले हाम्रो विषयवस्तु र स्टोरी टेलिङलाई गहनताका साथ रमाइलो तरिकाले किन नपस्किने ?”
राजनीतिक सिनेमा चल्दैन भन्नु गलत भएको उनी बताउँछन् । राजनीतिले गाँजेको देशमा यो विषयमा पनि सिनेमा बनाइनुपर्नेमा उनी जोड दिन्छन् । उनी भन्छन्, “हाम्री हजुरआमालाई समेत हाम्रो राजनीतिबारे थाहा छ भने, सबैले थाहा पाएको आफ्नै विषयमा किन सिनेमा नबनाउने ? तर, हामी यही विषयमा चलचित्र बनाउन डराइरहेका छौँ ।”
‘रिच प्रोडक्सन’ देखाउनुपर्ने भएकाले राजनीतिक विषयवस्तु उठान गरेर सिनेमा बनाउनु निकै खर्चालु भएको दीपक स्वीकार गर्छन् । “विश्वसनीयता जगाउन मास जुटाउनुपर्छ । मास जुटाउन सहज छैन । तर, हामीले दर्शकले विश्वास गर्ने सिनेमा बनाएका छौँ ।”
बलिउड सिनेमा हेरेर नेपाली दर्शकले त्यस्तै रिच प्रोडक्सन ‘छक्का पञ्जा–४’ मा नखोज्ने दीपकको जिकिर छ । “नेपाली राजनीतिमा नेताले गर्ने भाषणमा कति जनता उपस्थित हुन्छन्, त्यति मास हामीले हाम्रो सिनेमामा उपस्थित गराएका छौँ,” दीपक स्पष्ट पार्छन्, “विशेष अवस्थामा काठमाडौं, पोखरा, धनगढीमा हुनेजस्ता भाषणमा जस्तो लाखौँ मास अवश्य पनि हाम्रो सिनेमामा छैन । जिल्लातिर हुने आमसभामा चार/पाँच सय अथवा हजार मान्छे उपस्थित हुने हो, त्यो हाम्रो सिनेमामा देखिन्छ ।” यति मान्छे जुटाउनु पनि नेपालमा बजेटका हिसाबले निकै कठिन रहेको उनको अनुभव छ ।
पछिल्ला केही वर्षयता नेपाली चलचित्रको प्रचार गर्ने केही शैली छन् । जस्तै : सिनेमा हल रहेका देशभित्रका प्रमुख सहरमा चलचित्रका मुख्य कलाकार पुगेर स्थानीय पत्रकारसँग भेटघाट गर्ने । मिले कलेज तथा स्कुलमा जाने । र, स्थानीय महोत्सवमा गएर आफ्नो सिनेमाको प्रचार गर्ने ।
यो शैली अब पुरानो भइसकेको दीपक बताउँछन् । हरेक चलचित्रले यही तौरतरिका अपनाएकाले यसको प्रभावकारिता कति भन्नेमा पनि प्रश्न उठ्न थालिसकेको छ ।
अहिलेको समयमा आँगन–आँगनमा पुग्नुभन्दा हातहातमा पुग्नु जायज भएको दीपकको तर्क छ । इन्टरनेट र मोबाइलको प्रयोग उच्च भइसकेको अवस्थामा अब सहर–सहर डुलेर प्रचार गर्नुभन्दा हातहातमा पुग्ने सोसल मिडियामार्फत जानु उपयुक्त हुने आफ्नो टिमको निष्कर्ष रहेको उनी सुनाउँछन् ।
चलचित्रका गीत बजारमा धेरै बज्नु, ट्रेलर धेरैले हेर्नु, सिनेमा हलमा प्रोमोसन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हुने दीपक बताउँछन् । “हामी सुरुमा मोफल जाने, जिल्ला टुरमा जाने गर्यौँ, त्यो पनि ट्रेन्डकै रूपमा स्थापित भयो । त्यो पुरानो भइसक्यो भन्ने हाम्रो बुझाइ हो,” दीपक स्पष्ट पार्छन्, “अहिले हामी सामाजिक सञ्जालमा केन्द्रित भएका छौँ । अहिले टिकटक नचलाउने कमै हुनुहुन्छ भन्ने लाग्छ । त्यसैले हामी अहिले टिकटकलगायत सामाजिक सञ्जालमा फोकस भएका छौँ । पछि यही नै पो ट्रेन्ड बस्छ कि !”
सिनेमा बनिरहेका बेला त्यसलाई छोडेर देश दौडाहामा जाने गरेको विगत सम्झँदै उनी अहिले समाजिक सञ्जालमा लगानी गरे पुग्ने बताउँछन् । गीत, ट्रेलर तथा सामाजिक सञ्जालमा राखिएका अरू ‘कन्टेन्ट बुस्ट’ गर्नु पछिल्लो समय केही चलचित्रले अपनाउन थालेको प्रचारको नयाँ शैली हो । कतिले टिकटक स्टारलाई पैसा तिरेर आफ्नो चलचित्रको कन्टेन्टमा टिकटक बनाउन लगाउने गरेका छन् । आफ्नो चलचित्रको गीत लोकप्रिय भएकाले टिकटक बनाउन कसैलाई पैसा तिर्नु भने नपरेको दीपक बताउँछन् ।
“सफल हुन्छ नै भन्ने त छैन, तर हामी सफल हुन्छौँ भनेर यो माध्यमबाट प्रचारमा लागेका छौँ । सफल भयो भने भोलि यही नै ट्रेन्डका रूपमै स्थापित होला,” उनी भन्छन्, “सधैँ पुरानै ट्रेन्ड फलो गर्नुपर्छ भन्ने छैन । नयाँ–नयाँ तरिका अवलम्बन गर्दै जानुपर्छ ।”
‘छक्का पञ्जा–४’ प्रति दर्शकको प्रतीक्षा रहेकाले पनि प्रचारप्रसारमा धेरै समय र तौरतरिकामा जोड नदिएको दीपकको भनाइ छ । “छक्का पञ्जाको पहिलो सिरिजदेखि तीनसम्म आइपुग्दा दर्शकको मन जित्न सकेका छौँ कि भन्ने हाम्रो विश्वासले पनि केही काम गरेको छ,” उनी भन्छन्, “त्यो पनि हाम्रो लगानी नै हो भन्ने लाग्छ ।” ‘छक्का पञ्जा’को ‘ब्रान्ड’मा आफूहरूले विश्वास गरेको उनी बताउँछन् ।
‘छक्का पञ्जा’को यो चौथो सिरिज हो । अर्थात्, यो ‘सिक्वेल’ र ‘प्रि–क्वेल’ दुवै होइन । त्यसो भए नाम मात्र किन ? “हलिउडका १०औँवटा सिरिज हुने तर हाम्रो त यो चौथो सिरिज हो, हामीले ब्रान्ड अवश्य प्रयोग गरेका हौँ,” जवाफमा दीपक भन्छन्, “तर, हाम्रा हरेक सिनेमा नयाँ हुन् । हरेक सिनेमाको कथा नयाँ छ । पात्र उही होला, तर कथा फरक छ ।”