काठमाडौं । उमेर ढल्किँदै गएपछि बाआमाले परिवारको साथ खोज्छन् । उपचारका लागि पैसा जुटाउन नसकेपछि सन्तानको सहयोगको अपेक्षा गर्छन् । चलचित्र ‘फूलबारी’ पनि यस्तै अपेक्षा र जिम्मेवारीको वरिपरि घुम्ने चलचित्र हो । पूर्वी पहाडमा २७ वर्ष विद्यालयमा शिक्षक भएका जयनारायण सर (विपीन कार्की) ठूलो समाजसेवी पनि हुन् । जागिर छोड्दा आएको पैसाको अक्षयकोष खडा गरेर त्यसबाट प्राप्त ब्याजबाट उनी मिहिनेती र जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति दिने घोषणा गर्छन् ।
उमेरसँगै समयले कोल्टो फेर्छ । जयनारायण सरकी श्रीमती लक्ष्मीलाई अचानक मुटु दुख्न थाल्छ । डक्टरले सुविधासम्पन्न अस्पतालमा गएर उपचार गर्न सुझाउँछन् । पूर्वी पहाडको इलामको घर, छिमेकीलाई जिम्मा लगाएर जयनारायण लक्ष्मीको उपचारका लागि काठमाडौं लाग्छन् । जहाँ उनको जेठो छोरो फ्याक्ट्रीमा व्यवस्थापक छ । श्रीमतीको राम्रै काम छ । माइलो छोरालाई संगीतको ‘नशा’ छ । संगीतको सुरमा आफ्नो स्वर मिलाउने उसको भने जिन्दगी बेसुर छ । कान्छो छोरो अष्ट्रेलिया जाने अन्तिम तयारीमा छ । त्यसपछि चलचित्रको कथा कसरी अगाडि बढ्छ ? दुई घण्टा १० मिनेट लामो चलचित्र यसकै पेरिफेरिमा घुम्छ ।
चलचित्रको राम्रो पक्ष यसको संवाद हो । ‘फेमेली ड्रामा’ फूलबारीको कथा र कथावाचन शैली पुरानै छ । तर, यसका संवाद सजिव छन्, जसले दर्शकलाई ‘बोर’ हुन दिँदैन । पारिवारिक कथाभित्र ‘सिचुएसनल कमेडी’ले दर्शकलाई सिनेमा अवधिभर बाँध्छ । विपीनले अरुणालाई लक्ष्मीजी भनेको होस् वा छिनछिनमा अनुपमले माग्ने मिल्क टीको संवादमा, दर्शकले रमाइलो गर्छन् । एकै छिनमा हँसाउने चलचित्रले छिनमै दर्शकलाई भावुक बनाइदिन्छ । त्यसैले यसको संवाद पक्ष बलियो छ ।
कथामा भने ‘फूलबारी’ पुरानै युगमा फर्किएको छ । बुढेसकालमा गाउँमा आमाबुवा एक्लै हुन्छन् । सहरिया बन्ने होडमा रहेका छोराछोरीलाई आफ्नै करिअरको चिन्ता हुन्छ । बा अथवा आमामध्ये एकजनालाई गम्भीर रोग लाग्छ । तत्काल अप्रेसन गर्नुपर्ने बाध्यता खडा हुन्छ । अप्रेसन गर्न पैसा पुग्दैन । छोराहरूले वास्तै गर्दैनन् । अचानक भगवान बनेर कोही मान्छे आइदिन्छ । उसले पैसाको जोरजाम गरिदिएपछि अस्पतालले बल्ल अप्रेसन सुरु गर्छ ।
यही सूत्रमा नेपाली सिनेमा सुरुआती वर्षदेखि आजसम्म आएको हो । यही शैलीलाई ‘फूलबारी’ले अँगालेको छ । यही ढाँचालाई अँगाल्दा नेपाली सिनेमाले आफ्नो छुट्टै पहिचान स्थापना गर्न सकेन । विश्वमान चित्रमा आफ्नो स्थान खडा गर्न सकेन । यही आलोचना सुरुआती दिनदेखि आजसम्म नेपाली चलचित्रका निर्माताले खेप्दै आएका छन् । त्यसकै श्रृंखला हो ‘फूलबारी’ । हिन्दी चलचित्र ‘बागबान’को आइडियामा बनेको चलचित्र हो ‘फूलबारी’ ।
तर, यही सूत्रको चौघेरा नाघ्न नसके पनि र हुबहु ‘बागबान’ भए पनि संवादमा लेखकले देखाएको ताकतले सिनेमा हेर्ने दर्शकले भने पट्यार मान्दैनन् । रामबाबु गुरुङ भावुकताभित्र मन्दमन्द तरिकाले दर्शक हँसाउने क्षमता राख्छन् । उनको त्यो फ्लेबर यसमा पनि देखिएको छ ।
चलचित्रको अर्को राम्रो पक्ष सिनेमेटोग्राफी हो । अमेरिकाबाट झिकाइएका सिनेमेटोग्राफरले राम्रो काम गरेका छन् । चलचित्रमा उत्कृष्ट सिनेमेटोग्राफी भयो भने त्यसको असर पर्दामा कस्तो देखिन्छ ‘फूलबारी’मा प्रष्ट देखिएको छ । क्यामेरा एंगल होस् वा सट डिजाइन, जोस हेरुमले मजाले काम देखाएका छन् ।
चलचित्रको अर्को अब्बल पक्ष यसको साउन्ड डिजाइन हो । उत्तम न्यौपानेले आफ्नो शिल्प देखाएका छन् । चलचित्रको केही ठाउँमा प्रयोग गरेका साउन्डले दृश्यलाई जीवन्त बनाएका छन् । साउन्डमा खेल्न सके त्यसले चलचित्रमा पर्ने प्रभाव कस्तो हुन्छ, ‘फूलबारी’का केही दृश्य उदाहरणीय लाग्छ ।
चलचित्रको अर्को सबल पक्ष यसको अभिनय हो । त्यसमका पनि विपीन कार्कीको बुलन्द अभिनयले दर्शकको मन जित्छ । उनको मायालु हाँसो होस् वा तनावका दृश्यमा देखिने उनको टिठ लाग्दो अनुहार र भावभंगी, चलचित्रमा प्राण भरेका छन् । उनको यो उम्दा अभिनयले चलचित्रका अन्य पात्रलाई फिका बनाइदिएको छ ।
विपीन यो चलचित्रमा दयाहाङको छिमेकी काकाको भूमिकामा छन् । अर्थात, आफ्नो उमेरभन्दा करिब दोब्बर उमेरको चरित्रमा छन् । तर, उनले आफ्नो जिम्मेवारीमा यति कुशलता देखाएका छन् कि लाग्छ, भोलि टिनेजरको भूमिका दिए पनि विपीन त्यसमा ‘फिट’ हुनेछन् ।
रामबाबु गुरुङले ‘कबड्डी’ बनाएर नेपाली चलचित्रका दर्शकलाई नयाँ स्वाद चखाएका थिए । त्यसैले रामबाबुबाट दर्शकले त्यही अपेक्षा गर्छन् । जुन स्वभाविक पनि हो । तर, उनले बलिउड फर्मुला पछ्याएका छन् । ‘बागबान’को सहारा लिएका छन् । त्यो पनि पुरानै ढर्रामा ।
‘बागबान’ नरहेको दर्शकले पनि चलचित्र सुरु हुँदा त्यसको अन्त्य करिब–करिब अधिकांश दर्शकले अनुमान लगाउन सक्छन् । यो चलचित्रले बक्सअफिसमा के गर्छ, त्यो त आइतबारसम्म पुग्दा निर्क्योल भइसक्नेछ । तर, यति चाहिँ भन्न सकिन्छ– चलचित्र उद्योगमा भने निश्चय नै इँटा थप्ने काम यो चलचित्रले गर्ने छैन । निर्देशकको निर्देशकीय क्षमतामा पनि ।
निर्देशक : रामबाबु गुरुङ
लेखक : उपेन्द्र सुब्बा
कथा/कन्सेप्ट : कमल किशोर मालपानी
निर्माता : मनिष ढकाल
कलाकार : दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की आदि ।