site stats
विदेश
नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

सिड्नी । अष्ट्रेलियाले आफ्नो बैंक नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले बिहीबार उक्त घोषणा गरेको हो ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिरअंकित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त बैंकले जनाएको छ ।

Agani Group

केन्द्रीय बैंकको यो निर्णयसँगै हालै राजसिंहासन सम्हालेका बेलायतका राजा चार्ल्स तृतीयको फोटो नोटमा छापिने छैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अष्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन् ।

गएको सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको मृत्यु भएपछि राष्ट्राध्यक्षको सम्मानमा अष्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आह्वान गरेका थिए । यसले  संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई  पुनः सतहमा ल्याएको छ ।

Global bank

संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अष्ट्रेलियाका राष्ट्राध्याक्ष राजा चार्ल्स तृतीय छन् । सन् १९९९ मा भएको जनमतसंग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।

केन्द्रीय बैंकको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको जनाइएको छ । सरकारको यो समर्थनबाट अष्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको संकेत गरेको छ ।

नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ । सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ । नयाँ नोटको प्रारूप पनि तयार भइसकेको छैन । त्यसबारे थप निर्णय पनि नभएको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन् ।

राजा चार्ल्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन् । बेलायतको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय