
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले आसन्न महिला लिगका निम्ति दर्ता खुलाएको छ । मंगलबार एन्फाले यसबारे सूचना जारी गरेको हो ।
महिला लिगका निम्ति संघमा आबद्ध ए, बी, सी र अन्य इच्छुक क्लबहरूका निम्ति दर्ता प्रक्रिया खुला गरिएको हो ।
गत वैशाख २६ गते एन्फाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/२०८२ को क्यालेन्डरअनुसार आगामी असार महिनादेखि लिग सुरु हुने तालिका छ ।
क्लब नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भएको हुनुपर्ने एन्फाले जनाएको छ । क्लबले प्यान नम्बरको एक थान प्रतिलिपि, क्लब वा संस्थाको बैंक खाता नम्बर एक थान, प्रतियोगितामा सहभागिता जनाउन गरेको माइन्युटको प्रतिलिपि, ८०/८१ को लेखापरीक्षण एक थान, संस्थाको ८०/८१ सालको नवीकरण प्रमाणपत्र बुझाउनुपर्ने जनाइएको छ ।
प्रतियोगिताको दर्ता शुल्क प्रतिटिम पाँच हजार रुपैयाँ तोकिएको छ । एन्फाले दर्ता गर्ने अन्तिम मिति आगामी जेठ १३ गतेलाई तोकेको छ ।