site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजार हल्लाजस्तो छैन बैंकको नाफा पनि 

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब ७८ करोड नाफा कमायो । 
ग्लोबलको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार छ । 

दोस्रो त्रैमाससम्मको नाफाबाट उसले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा एक अर्ब ११ अर्ब ६१ लाख ९६ हजार छ । 

बाँकी ६ महिनामा अहिलेजति नाफा ग्लोबलले गरेमा उसको चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न सक्ने लाभांश १० प्रतिशत हुन मुस्किल हुन्छ । यही अवस्था अरू बैंकको पनि छ । 

Argakhachi Cement Island Ad

सामाजिक सन्जालदेखि व्यवसायी तथा नेताहरूले ग्लोबलसँगै सबै बैंकको नाफामा प्रश्न उठाए । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरूको नाफा ३३ अर्ब ७५ करोड रूपैयाँ छ । 

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा बैंकहरूको नाफा बैंकहरूको नाफा १.३४ प्रतिशतले घटेको हो । 

सामाजिक सन्जालमा आएको प्रतिक्रिया हेर्दा धेरैले बैंकले अर्ब नाफा गरेको देखिए पनि त्यसको लागि लगाएको पुँजी भने ख्याल नगरेको देखिन्छ । 

पुस मसान्तसम्मको तथ्यांकअनुसार बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७० अर्ब ७२ करोड २४ लाख ९० हजार रूपैयाँ पुगेको छ । 

बैंकले तीन खर्ब ७० अर्ब पुँजीमात्रै लगानी गरेर ६ महिनामा कमाएको नाफा ३३ अर्ब ७५ करोड रूपैयाँ हो ।

सेयरधनीलाई बाँड्न मिल्ने नाफा १९ अर्ब १६ करोड १४ लाख ६८ हजार हो ।

बाँकी ६ महिनामा यही अनुपातमा नाफा कमाएका चालु आर्थिक वर्षको नाफाबाट १० प्रतिशत पनि लाभांश वितरण गर्न बैंकहरूलाई मुस्किल पर्छ । 

गत आर्थिक वर्षमा बैंकहरूले दिएको औसत लाभांश १०.६९ प्रतिशत हो । जबकि गत आर्थिक वर्षमा बैंकहरूले एकवर्षको मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याजदर दिएका थिए । 

गत आर्थिक वर्षमा चारवटा वाणिज्य बैंकले लाभांश नै दिएनन् ।  उत्पादनमुलक क्षेत्रका कम्पनीमा बोटलर्स नेपालले २० प्रतिशत लाभांश दियो । 

बोटलर्स नेपाल तराईले ६० प्रतिशत लाभांश सेयरधनीलाई दियो । 

युनिलिभरले १२१५ प्रतिशत लाभांश दियो । नेपाल ल्यूबले ३० प्रतिशत लाभांश सेयरधनीलाई दियो । हिमालयन डिस्टिलरीले ७० प्रतिशत लाभांश दियो । 

गतवर्ष सबैभन्दा कम शिवम् सिमेन्टले १०.५३ प्रतिशत लाभांश दिएको हो । शिवम् सिमेन्टबाहेक उत्पादनमुलक कम्पनीले सेयरधनीलाई दिएको लाभांश बढी छ । 

तर बढी आलोचना भने बैंकलाई मात्र बढी भइरहेको एक बैंकरको धारणा छ ।

केही दिन अगाडि आयोजित सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो बैंकबाहेक अन्यत्रसमेत लगानी रहेको प्रतिफल बैंकमा कम रहेको बताएका थिए । 

“केही साथीहरूले बैंकको नाफा र ब्याजदरको विषयलाई चुनावी मुद्दा बढी बनाए,” ढकालले सो कार्यक्रममा भनेका थिए, “बैंकमा भनेअनुसारको नाफा छैन ।”

विगतदेखि सेयर बजारमा सूचीकृत बैंकबाहेक उत्पादनमुलक क्षेत्रको लाभांश निकै बढी छ ।  नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसी बैंकहरूको नाफा नबढे पनि बुझाउन नसकेको बताउँछन् । 

“पुँजीको अनुपातमा बैंकहरूको नाफा बढेको छैन, सोअनुसार लाभांश बैंकले दिएका छैनन्,” केसीले भने, “अर्बको नाफा चर्चा भए पनि पुँजीलाई कसैले ख्याल नै गरेनन् ।”

सबैले बैंकले नाफा कमाएर गाली गरेको भए पनि बैंकले गत वर्षको भन्दा कम नाफा गरेको कारण सरकारलाई बुझाउने करसमेत घटेको छ । 

गत आर्थिक वर्षको ६ महिनामा बैंकहरूले सरकारलाई १४ अर्ब ११ अर्ब रूपैयाँ कर वापत बुझाएका थिए । 

चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरूले १३ अर्ब ९३ करोड रूपैयाँ कर बुझाएका छन् ।  गत वर्षको ६ महिनाको तुलनामा बैंकहरूले बुझाएको कर १.२८ प्रतिशतले घटेको हो । 

यसरी नाफा घट्नुको पछाडि बैंकहरूको खराब कर्जा बढ्नु प्रमुख कारण हो ।  बैंकहरूले १४ अर्ब नोक्सानी व्यवस्थाको लागि छुट्याएका छन् ।
 
चालु आर्थिक वर्षको ६ महिनामा २.२५ प्रतिशत बैंकहरूको खराब कर्जा अनुपात (एनपीएल) पुगेको छ ।  गतवर्ष १.११ प्रतिशत एनपीएल पुगेको छ । 

बैंकमा गरेको लगानीको तुलनामा अन्य व्यवसायमा बढी प्रतिफल रहेको बताउँछन् उद्योगी पवन गोल्यान । 

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष रहेका गोल्यानले भने, “धेरैले बैंकको नाफा हेर्छन्, त्यसको लागि गरिएको पुँजी लगानी हेरिएको छैन, अहिले बैंकको तुलनामा अन्यन्त्र प्रतिफल बढी छ ।”

बैंकको नाफा अर्बको भनेर समाचार छापिने र सो अनुसारको प्रतिक्रिया सामाजिक सन्जालमा आउने गरेको हो । 

“धेरैको ध्यान बैंकको नाफामा मात्र गएको छ, प्रतिफलमा छैन,” एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “बैंकभन्दा बढी प्रतिफल उद्योग तथा टे«डिङको छ । यसको बारेमा चर्चा हुँदैन ।”
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्