
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी)को सोमबार अन्तिम दिन रह्यो । र, यो खारेज गरियो ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्ल्यू बुसले त्यसअघि यूएसएआईडीका कर्मचारीसँग भावनात्मक भिडियो बिदाइमा सहभागिता जनाए । ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यूएसएआईडी खारेजीको ठूलो भुल गरेको बताए । ट्रम्प प्रशासनको यो असामान्य खुला आलोचनाका रूपमा रहेको अलजजिराले जनाएको छ ।
६ दशक पुरानो मानवीय र विकास संगठन यूएसएआईडी स्वतन्त्र एजेन्सीका रूपमा थियो । अमेरिकी तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले विदेशमा अमेरिकाको राष्ट्रिय सुरक्षालाई कूटनीतिक शान्तिपूर्ण तरिकाले प्रवर्द्धन र समृद्धिका निम्ति ‘सफ्ट पावर’का रूपमा यूएसएआईडीको स्थापना गरेका थिए ।
विदेशमन्त्री मार्को रुबियोले मंगलबार यूएसएआईडीलाई अमेरिकी विदेश मन्त्रालयमा समाहित गर्ने आदेश दिएका छन् ।
पूर्व राष्ट्रपतिद्वय र यू२ गायक बोनोले यूएसएआईडीका सयौँ कर्मचारीसँग भिडियो कन्फरेन्समा कुरा गरे । यो एक बन्द–प्रेस कार्यक्रमका रूपमा प्रस्तुत गरिएको थियो । गायक बोनोले कवितावाचन गर्दा आँसु रोकेका थिए ।
उनीहरूले आफ्नो जागिर र जीवनको काम गुमाएका सयौँ यूएसएआईडी कर्मचारीको प्रशंसा गरे । यो एजेन्सी ट्रम्प र उनको अर्बपति सहयोगी इलन मस्कद्वारा सरकारी कटौतीको पहिलो र सबैभन्दा तीव्र निसानामा परेको थियो ।
कर्मचारीलाई अचानक इमेल पठाएर सेवामुक्त गरिएको थियो । ट्रम्पले यो एजेन्सी ‘कट्टर वामपन्थी पागलहरू’द्वारा सञ्चालित र ‘ठूलो ठगीले भरिएको’ दाबी गरेका थिए । मस्कले यसलाई ‘अपराधी संगठन’ भनेका थिए ।
ओबामाले उनीहरूलाई आश्वासन दिँदै भने, “तपाईंको काम महत्त्वपूर्ण थियो र आउने पुस्ताहरूका निम्ति पनि महत्त्वपूर्ण रहनेछ ।”
ओबामाले ट्रम्पको दोस्रो कार्यकालमा सामान्यतया सार्वजनिक रूपमा कम ‘प्रोफाइल’ राखेका छन् । र, घरेलु र विदेशमा ट्रम्पले गरेका ठूला परिवर्तनको आलोचना गर्नबाट टाढा रहेका छन् ।
“यूएसएआईडी खारेज गर्नु अन्याय र त्रासदी हो, किनकि यो विश्वको सबैभन्दा महत्त्वपूर्ण काम हो,” ओबामाले भने ।
उनले यूएसएआईडीलाई जीवन बचाउनमा मात्र नभई विश्वव्यापी आर्थिक वृद्धिको मुख्य कारक भएको श्रेय दिए ।
यो हप्ता यूएसएआईडीको उत्तराधिकारीका रूपमा ‘अमेरिका फस्र्ट’ नामक विदेशी सहायता कार्यक्रम प्रस्तुत गरिने विदेश मन्त्रालयले जनाएको छ ।
“नयाँ प्रक्रियाले उचित निगरानी सुनिश्चित गर्नेछ र खर्च गरिएको प्रत्येक कर डलरले हाम्रो राष्ट्रिय हितलाई अगाडि बढाउनेछ,” मन्त्रालयले भनेको छ ।
“तपाईंले आफ्नो काममार्फत अमेरिकाको ठूलो शक्ति देखाउनुभयो र त्यो हो, तपाईंको असल मन,” बुसले यूएसएआईडीका कर्मचारीलाई भने ।