
इस्लामावाद । संयुक्त राष्ट्र संघले पाकिस्तानमा समातेर राखिएका एकजना भारत विरोधी लडाकुलाई 'विश्वकै खतरनाक आतंककारी'को संज्ञा दिएको छ । सन् २००८ मा भारतको मुम्बईमा १६६ जना मानिसको ज्यान जानेगरी भएको आतंककारी हमलाका लागि जिम्मेवार रहेको बताइएका ती पाकिस्तानीलाई संयुक्त राष्ट्र संघले दोस्रोपटक आतंककारीको संज्ञा दिएको हो ।
पाकिस्तानी नागरिक अब्दुल रेहान माक्कीकोबारे संयुक्त राष्ट्र संघले गरेको टिप्पणीको भारत सरकारले स्वागत गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले इस्लामिक मुलुक आफैँ पनि आतंकवादको शिकार भइरहेको तथा पाकिस्तानले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रियस्तरमा आतंकवादविरुद्धका प्रयासहरूमा सहयोग र समर्थन गर्ने बताएको छ ।
६८ वर्षीय माक्की प्रतिबन्धित लडाकु समूह लस्कर–ए–ताइबाका वरिष्ठ व्यक्तित्व हुन् । यो समूह विशेषगरी कास्मिरको विवादास्पद हिमाली क्षेत्रमा सक्रिय छ ।
उनलाई सन् २०१९ मा पाकिस्तानको पन्जाब प्रान्तमा गिरफतार गरिएको थियो । सन् २००० को नोभेम्बर र डिसेम्बरमा उनलाई दुईवटा छुट्टाछुटै घटनामा आतंकवादलाई आर्थिक लगानी गरेको अभियोगमा दोषी ठहराइएको थियो ।
माक्कीलाई एक वर्ष कैद सजाय सुनाइएको थियो । तर, अधिकारीहरूका अनुसार कुनै कारण उल्लेख नगरिकनै उनलाई अझै पनि हिरासतमा राखिएको छ । उनको मुद्दाबारे जानकार थुप्रै सरकारी अधिकारीले उनका अपिलहरूलाई मुल्तबी राख्दै उनलाई पन्जाबमा हिरासतमा राखिएको बताएका छन् ।
अल कायदा र इस्लामिक स्टेट उग्रवादीहरू तथा तिनका सहयोगीहरूलाई प्रतिबन्ध लगाउने मामिला हेर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सो परिषद्का १५ जना सदस्यको अनुमोदनमा माक्कीलाई पनि प्रतिबन्धको कालोसूचीमा राखेको छ ।
एपीबाट ।