site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुखको दौडबाट पछि हट्दैछ कांग्रेस ! एमालेलाई नछाड्ने, माओवादी उमेदवार भएका ठाउँमा प्रतिस्पर्धा पनि नगर्ने 
फाइल तस्बिर

काठमाडौं । माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकको कार्यतालिका सभाुमखको चयन रहेको छ ।

संघीय संसद् सचिवालयले सभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार मंगलबार अर्थात् माघ ३ गतेलाई उमेदवारी दर्ताको समय छुट्याइएको छ ।

उमेदवारी दर्ता गर्न एकदिन मात्र समय बाँकी रहँदा सभामुख उमेदवार कुन पार्टीबाट को भन्ने टुंगो लागिसकेको छैन । 

सत्ता गठबन्धनबाट समेत सभामुखको उमेदवार कसलाई बनाउने भन्ने निर्णय भइसकेको छैन ।

एमालेको भागमा पर्ने सहमति भए सभामुखमा पार्टी नेता पृथ्वीसुव्वा गुरुङ उमेदवार रहने सम्भावना बढी रहेको सो पार्टी स्रोत बताउँछ ।

तर, गठबन्धनले गुरुङकै नामलाई भने फाइनल गरिसकेको छैन । तर, गठबन्धनबाट एक उमेदवार बन्ने निश्चित भएको बुझ्न सकिन्छ । किनभने एमाले सभामुख छाड्ने पक्षमा छैन । 

यता, संसदको पहिलो दल नेपाली कांग्रेसले पनि सभामुख उमेदवार कसलाई बनाउने टुंगो लगाइसकेको छैन । 

कांग्रेसमा अर्जुननरसिंह केसी, रमेश लेखकलगायतलाई सभामुख बनाउनुपर्ने केही नेताहरुको तयारी छ ।

तर, पार्टी सभापति देउवाले कसलाई सभामुखको उमेदवार बनाउँछन् भन्ने जानकारी कांग्रेसकै नेताहरूलाई समेत छैन ।

प्राथमिकतामा राष्ट्रपति, सभामुखमा ‘च्याखे’ दाउ

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दियो । पार्टीभित्रै देखिएको असन्तुष्टिका बाबजुद सभापति शेरबहादुर देउवाले विश्वासको मत दिएरै छाड्ने निर्णय लिए । कार्यसम्पादन समिति बैठक हुँदै संसदीय दलको बैठकभित्रै निर्णय गराएर विश्वासको मत माओवादीलाई दिए ।

सभापति देउवाले कांग्रेसलाई राष्ट्रपति पाउनेगरि विश्वासको मत दिने राजनीतिक माहोल तयार पारेको दाबी देउवा निकट नेताहरूको छ । 

प्रचण्ड–देउवाबीच शक्ति राष्ट्रको दबाबका कारण त्यो सहमति बनिसकेको दाबी देउवा निकट एक सांसद तथा केन्द्रीय सदस्यले बाह्रखरीसँग गरे । उनले कांग्रेसले सभामुख पद भन्दा पनि राष्ट्रपति बन्ने तयारी गरिरहेको बताए । यसमा प्रचण्ड र माओवादी केन्द्र पनि सहमत भएको दाबी ती सांसदको छ ।

“हामीले सभामुखलाई च्याखे थाप्ने अस्त्र मात्र बनाएका छौं । हाम्रो चाहना सभामुख उपसभामुख भन्दा धेरै राष्ट्रपति हो,” ती सांसदको दाबी छ, “अघिल्लो गठबन्धन हामीले जोगाउन सकेनौं । त्यो भन्दैमा सबै गुमाउने हाम्रो उद्देश्य हैन । त्यसकारण राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा हामीले खेल्ने हो । हाम्रो राष्ट्रपतिमा बढी ध्यानकेन्द्रित छ ।”

ती सांसदले माओवादीले सभामुख पाए कांग्रेसले उमेदवारी नदिने समेत दाबी गरे । 

कांग्रेस माओवादी सहकार्य हुने भन्दै उनले प्रदेशमा पनि माओवादीले उमेदवारी दिएको पदमा कांग्रेसले उमेदवारनै नउठाएको बताए ।

“प्रदेश १ मा सभामुख माओवादीले पायो हामीले उमेदवारी दिएनौं । वाग्मतीमा माओवादीले मुख्यमन्त्री उठायो विश्वासको मत हामीले दियौँ तर राप्रपाले सभामुख पाउँदा हामीले उमेदवार बनायौं,” ती सांसदले भने, “हो यही सहकार्य राष्ट्रपति चुनावमा हुन्छ । केन्द्रमा सभामुख माओवादीले पाएको भए हामीले उमेदवार दिने थिएनौं । एमाले पाए उमेदवार कोही उठाउँछौं ।”

गएको पाँच वर्षमा राष्ट्रपति र सभामुख पदको महत्व बढेको छ । नागरिकता विधेयक र संसद् विघटनको घटनाले आलंकारिक पद राष्ट्रपतिमा दलहरूको चासो ह्वात्तै बढेको हो । 

देउवा निकट ती सांसद पनि गोप्य हुने राष्ट्रपतिको मतदानमा माओवादी–कांग्रेस गठबन्धनलाई कायम राख्ने र अरु दललाई विश्वासमा लिएर आफूहरु सफल हुने तर्क गर्छन् । 

“प्रदेशले पनि मत हाल्न पाउँछ । हामीले माओवादीलाई सहयोग गरेका कारणले उसले हामीलाई मत हाल्छ किनभने राष्ट्रपतिको चुनावमा गोप्य मतदान हुन्छ,” उनले बाह्रखरीसँग दाबी गर्दै थपे, “राजनीति सम्भावनाको खेल हो । अंकगणित भोलि नमिल्ला फरक कुरा हो । तर, हामी प्रदेशतिर नेकपा एस, जसपालगायत अरु दललाई पनि मिलाएरै छाड्छौं ।”

कांग्रेसको केहीदिन अघि बसेको पदाधिकारीसहितका नेताको बैठकले पनि सभामुख निर्वाचनका लागि अरु दलसँग संवाद थाल्ने निर्णय गरेको थियो ।

अर्थात् सबै दलहरूसँग संवाद गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमध्ये सकेजति पद लिने तयारी कांग्रेसले गरेको छ । 

प्रवक्ता प्रकाशरण महत राष्ट्रपति पाएको खण्डमा आफूहरुले सभामुखमा उमेदवार नै नबनाउने तयारीमा रहेको बताउँछन् ।

सभामुख र राष्ट्रपति महत्वको पद र साझा बनाउनुपर्ने भएकाले पनि कांग्रेसको स्वाभाविक दाबी रहने कथन उनको छ । 

प्रवक्ता महतले उपराष्ट्रपति र उपसभामुख पनि सरकारसँग नजोडिने भएकाले पनि कांग्रेसले पाउनुपर्ने बताए । उनले सहमति नभए कांग्रेसले निर्वाचनको मैदान खाली नछाड्ने पनि जिकिर गरे । 

“राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख पद सरकारसँग जोडिएको विषय हैन । यसलाई साझा बनाउन कांग्रेसले पाउनुपर्ने आवश्यकता छ,” उनले भने, “सहमति हुन्छ भने फरक विषय भयो । तर, उहाँहरुले कसरी लिनुहुन्छ । सहमति नभए हामी मैदान खाली गर्दैनौं ।”

तर, कसलाई उमेदवार बनाउने भन्ने विषयमा भने महतले कुनै जानकारी दिएनन् । बरू विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले खेल्ने भूमिका पनि महत्वपूर्ण हुने उनको तर्क छ ।

“हामीले संवाद र छलफल अघि बढाएका छौं । ४ पदको विषयमा प्रमको भूमिका महत्वपूर्ण देखिन्छ । उहाँको लागि पनि परीक्षणको घडी अहिले हो,” उनले भने । 

पार्टी सभापति देउवा विश्वासपात्र महतको भनाईले पनि विश्वासको मत दिनुपूर्व कांग्रेस माओवादी सहमति भएको स्पष्ट संकेत गर्छ । 

संवैधानिक पदहरूको बाँडफाँटमात्र नभएर ओली–दाहाल विश्वास तहलाई पनि इंगित गरेको छ । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखक सभामुखका निर्वाचनका लागि सत्ता गठबन्धनको कदमअनुसार कांग्रेसले थप रणनीति तर्जुमा गर्ने बताउँछन् । 

“हामीले अन्य दलसँग संवाद अघि बढाउने निर्णय गरिनै सकेका छौं । संवाद अघि बढाउँछौं,” लेखकले बाह्रखरीसँग भने, “सरकार कसरी प्रस्तुत हुन्छ त्यो पनि हेरौं । हामी सत्तारुढ दलले चाल्ने कदमअनुसार निर्णय गरेर अघि बढछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro