
काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने दोधारमा छ । अर्थात् अझै निर्णय गर्न सकेको छैन ।
पार्टीमा सभापति शेरबहादुर देउवालाई विश्वासको पक्षमा मत दिन बढीजसो सांसदहरुले दबाब दिएको स्रोत बताउँछ ।
पुस १० गते नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले) लगायत सात दल मिलेर अहिले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । संविधानको धारा ७६ (२) अनुसार सरकार बन्दा उनलाई १६९ सांसदले हस्ताक्षरसहित प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिकहाँ पुगेका थिए ।
संविधानमा रहेको व्यवस्था अनुसार उनले धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिँदैछन् । उनलाई सरकार सञ्चालन गर्न कम्तिमा १३८ जना सांसदको हस्ताक्षर आवश्यकता पर्छ ।
यो सरकार बन्नुपूर्व नेकपा(माओवादी) सहित चार दल कांग्रेससँगको गठबन्धनमा थिए ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको दाबी नछोड्दा माओवादीले एमालेलगायत रास्वपा, राप्रपा, जनमत पार्टीसहित सातदलीय गठबन्धन बनाएको थियो ।
कांग्रेसले भूराजनीतिक कारणले पनि आफूहरु सत्ता बाहिर रहनुपरेको निष्कर्ष निकाल्दै अहिले सोच विचार गरेर निर्णय गर्नुपर्ने बेला आएको बताएको छ ।
नागरिकता, संसद् विघटनलगायतका मुद्दामा राष्ट्रपतिको भूमिका हेरेर अहिले उक्त पदलाई केन्द्रमा राखेर छलफल भइरहेको कांग्रेसमा सभापति देउवा निकट एक नेता बताउँछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सरकार निर्माणमा भूराजनीतिक चलखेल देखिएको संकेत गरेका थिए ।
“हाम्रा मित्रहरू ढोकाबाट होइन पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार पार्नुपर्छ भनेर लागिरहेका छन् । यस्तोखाले त्रियाकलाप हामी हाम्रा छिमेकी, हाम्रा मित्रबाट अपेक्षा गर्दैनौँ । हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौं । तपाईंहरू सहयोग गर्न सक्नुहुन्छ गर्नुस्, सक्नुहुन्न आन्तरिक मामलामा हात हाल्ने, हुँडल्ने काम नगर्नुस्,” शनिबार एक कार्यक्रममा उनले भनेका थिए, “पत्रपत्रिका हेरिसक्नु छैन, कूटनीतिक गतिविधि भनिसक्नु छैन, यस प्रकारका तरिका बन्द गरौं, मित्रको हिसाबले चलौं, सार्वभौम समानताको सिद्धान्तअनुसार चलौ । हामी कसैमाथि अर्घेल्याईं गर्न गइरहेका छैनौं । हामीमाथि अर्घेल्याइँ नहोस् मात्रै भनिरहेका छौं । जो सरकार बन्छ मिलेर काम गर्न छिमेकीहरूलाई आग्रह गछौं । र, यहाँ जो सरकार बन्छ त्यसले हाम्रा छिमेकी मित्रराष्ट्रसँग सन्तुलित, सुमधुर र उचित सम्बन्ध राखेर पारस्पारिक सम्मानका आधारमा सम्बन्ध राखेर अगाडि बढ्छ । यहाँ आत्तिनुपर्ने इगोको विषय बनाउनुपर्ने कुनै विषय छैन ।”
प्रचण्डनै सम्पर्क गर्दैछन् देउवालाई !
सरकार बनेको केही समयपश्चात् कांग्रेस पूर्व उपसभापति तथा सांसद विमलेन्द्र निधि भारत पुगेर आएका छन् ।
कांग्रेसले विश्वासको मत लिए राष्ट्रपति दिन सकिने गरी माओवादी नेताहरुसँग अनौपचारिक कुराकानी भइरहेको एक नेता बताउँछन् ।
अहिले विश्वासको मत दिन सके कम्युनिष्ट एकता रोक्ने एउटा आधार हुने बुझाइ देउवासहितका नेताहरुको दबाब रहेको स्रोत बताउँछ ।
अहिले विश्वासको मत दिनुपर्ने पक्षमा पूर्णबहादुर खड्का, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रामचन्द्र पौडेललगायत रहेका छन् । यस्तै माओवादीबाट जर्नादन शर्माले निरन्तर देउवासँग संवाद गरिरहेका छन् ।
संसद् भवनमा भेटिएका एक सांसदले बाह्रखरीसँग प्रचण्ड स्वयम् देउवासँग संवादमा रहेको दाबी गरे ।
“ओजीजीको भर छैन । तपाईंले पनि विश्वासको मत दिनुहोस् । समीकरण जे पनि बन्न सक्छ भन्दै उहाँले फोन गरेको सूचना मैले पनि पाएको छु,” ती सांसदको दाबी छ, “केही नेता निरन्तर सभापतिको निवासमा पुगेका छन् । प्रचण्डसँगको छलफलबिना पुगे होलान् र ?”
सभापति देउवालार्इ भेट्न प्रधानमन्त्री प्रचण्ड सोमबार बेलुका धुम्बाराही पुगेका छन् । देउवाले ‘वि विल कम व्याक’ भनेर सांसदहरूसँग भनेको ती नेताको दाबी छ ।
इतर समूहका नेता डा. शेखर कोइरालासँग पनि सभापति देउवाले संवाद गरेका छन् । सोमबार पनि संसद् भवनमै सांसदहरूसँग देउवाले राय बुझेका छन् ।
सहभागी एक सांसदले दिएको जानकारी अनुसार देउवाले कुरा सुन्ने बाहेक अरु प्रतिकृया दिएनन् ।
“चिया संवाद भित्रै भयो । उहाँ दोधारमा हुनुहुन्छ । स्पष्ट कुरा भन्नुभएको छैन,” ती सांसदले भने, “प्रतिपक्ष दललाई धारणा बनाउन यत्रो समय नलाग्नुपर्ने हो । निर्णय शनिबार संसदीय दलको बैठकबाटै हुनुपर्ने हो नि तर, भएन । उहाँले आज रात केही योजना बनाएको हुनुपर्छ ।”
देउवा शक्ति चाहन्छन् वा वाम एकता रोक्न भन्ने प्रश्नमा ती नेता प्रदेशदेखि केन्द्रसम्मको सरकार पनि महत्वपूर्ण रहेको बताउँछन् ।
“जसरी ओली र देउवासँग भारतले त्यो रात खेल्यो त्यसको नतिजा अहिले देखियो नि ! शेरबहादुर देउवा सत्ताको चतुर खेलाडीले पनि एकपटक धोका पाए नि,” कांग्रेसका एक सांसदले भने, “अहिले त्यही शक्ति विश्वासको मतमा पनि खेल्न खोज्दैछ । राष्ट्रपति कांग्रेसबाट बन्नुपर्छ भनेर खेलाइरहेको छ । डेढदेखि २ वर्षमा कम्युनिष्ट फुटाइदिन्छु भनेको छ । अहिले हामी त्यसैमा मख्ख पर्ने कि प्रतिपक्षमा बस्ने भन्ने दोधारमा छौं ।”
सोमबार संसद् भवनबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले पनि सिङ्गो संसद् आफ्नो पक्षमा उभिने दाबी गरेका थिए ।
गठबन्धनमै आवद्ध दल एमाले अध्यक्ष ओलीले पनि कांग्रेसले विश्वासको मत दिनसक्ने संकेत गरका थिए ।
यता २३ पुसमा बसेको संसदीय दलको बैठकले पनि विश्वासको मत दिने सम्बन्धमा कुनै निर्णय गर्न सकेन ।
प्रमुख प्रतिपक्ष दलले निर्णय गर्न नसक्नुभित्र केही रहस्य भने लुकेको एक सांसदको टिप्पणी छ ।
महामन्त्री समेत रहेका पार्टी सांसद विश्वप्रकाश शर्मा विश्वासको मतको विषयमा कांग्रेसभित्र फरक मत भएको स्वीकार गर्छन् । उनले मत दिन हुने र नहुनेमा आफ्ना सांसदहरुले धारणा राखिरहेको बाह्रखरीलाई जानकारी दिए ।
“पार्टीभित्र विश्वासको मत दिन हुने र नहुने दुबै पक्षमा साथीहरूको धारणा छ,” उनले भने, “छलफल भइरहेको छ । हामी भोलि बिहान ९ बजे यहाँ बैठक बसेर निर्णय गर्छौं । सोही निर्णय सबैलाई मान्य हुन्छ।”
अर्का महामन्त्री गगनकुमार थापा कांग्रेसले विश्वासको मत दिन नहुने पक्षमा छन् । उनी कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने जिकिर गर्छन् ।
“पहिलो दल भएकाले सरकार बनाउने इच्छा राख्नु र प्रयास गर्नु अश्वभाविक थिएन । अहिले सात गठबन्धनले मिलेर बहुमत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो,” उनले भने, “उनीहरु एक ठाउँ बसेर यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । यसमा हामीले गलत राजनीतिक खेल खेल्नुहुँदैन । नजाने गाउँको बाटै नसोध्नु भनेजस्तो हामीले सत्ता ढाल्ने वा विश्वासको मत दिने खेलमा लाग्नुहुँदैन ।”