
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ बस्ने १७ वर्षीया संगीता मंडल २०७७ भदौ २९ गते बलात्कारको सिकार बनिन् । आफ्नै खेतमा घाँस काट्न गएको बेला गाउँकै चारजनाबाट सामूहिक बलात्कृत भइन् ।
गाउँमा पीडितको इज्जत भन्दा ठूलो गाउँको इज्जत हुने भन्दै घटनालाई गुपचुप बनाउन खोजियो । स्थानीयले ‘पञ्चहरु’ पञ्चायती गरेर गाउँमै जघन्य अपराध जस्तो घटनालाई मिलापत्र गराउने निधो गरे ।
पीडितलाई ५५ हजार क्षतिपूर्ति दिने समाजका ‘पञ्चहरु’ ले निर्णय गरे तर संगीताले मानिनन् । “मेरो अस्मिताको मूल्य ५५ हजार हो ?” उनले त्यतिबेला प्रश्न गरेकी थिइन् ।
घटनापछि उनी र उनको परिवारले न्यायका लागि प्रहरीमा जाने निधो गरे । प्रहरीमा जाहेरी दिए सामाजिक बहिष्कार गर्ने भन्दै गाउँकै ‘पञ्चहरु’ले चेतावनी दिए ।
कहीं कत्तैबाट न्याय पाउने आशा नदेखेपछि संगीताले भोलिपल्ट पासो लगाएर आत्महत्या गरिन् ।

संगीताको घटनालाई सम्झिदै इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले न्याय दिलाउनुको सट्टा उनको इज्जत अस्मिताको मूल्य तोकिनु गलत भएको बताए । “पीडितलाई न्याय दिलाउनु त कता कता समाजका ‘पञ्चहरु’ ले ५५ हजार तोकेपछि आत्महत्याको बाटो रोज्नुपर्यो”, उनले भने, “संगीताको घटनाले ग्रामीण भेगमा बस्नेहरुका लागि न्यायमा सहज वातावरण छैन भने पुष्टि गरेको छ ।”
अधिकारकर्मी एवं सञ्चारकर्मी पोखरेलका अनुसार संगीताको यो घटनालाई त्यतिबेला यहाँका मिडिया र अधिकारकर्मीले प्राथमिकताका साथ उठाएका थिए । छोरीलाई न्याय दिलाउन त्यतिबेला उनकी आमाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिईन् । सप्तरी प्रहरीले घटनाको अनुसन्धान गरेर सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।
अदालतले सोमबार दुई वर्षअघि भएको सो घटनाको विषयमा पञ्चायती गर्ने ‘पञ्चहरु’ लाई कैद सजायसहितको फैसला गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरुलाई कैद सजायको फैसला सुनाएको हो ।
सामूहिक बलात्कारपछि पीडितको इज्जत भन्दा गाउँको इज्जत ठूलो भन्दै घटना मिलाउन खोज्ने र प्रहरीमा जाहेरी दिए सामाजिक बहिष्कार गर्ने चेतावनी दिनेलाई पनि कैद सजाय भएको छ ।
सोही घटनामा वारेन्टपछि अदालतमा हाजिर भएका धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ । अर्का फरार विष्णु मण्डलको हकमा पक्राउ पर्नासाथ पेशी तोकी फैसला गर्ने गरी मुद्दा मुल्तवीमा राखिएको जिल्ला अदालत सप्तरीका श्रेस्तेदार कुमार मास्केले जानकारी दिए । बलात्कार गर्ने दुई जना किशोर सुधार गृहमा छन् ।
अदालतले सजाय सुनाएकाहरुको नजिकका नातेदार रहेका सोही ठाउँका शत्रुघन मण्डल र उजितलाल मण्डललाई १ वर्ष कैद र २५ हजार क्षतिपूर्ति वापतको रकम भराउने फैसला सुनाएको छ ।
पञ्चायतीमा सहभागी सत्यनारायण मण्डल, बासुदेब मण्डल, जयकान्त मण्डल, झमेली मण्डल, बेचन मण्डल, देव मण्डल, बिन्देश्वर मण्डल र बंशराज मण्डल समेतबाट जनही २० हजार जरिवाना भराई पीडित परिवारलाई क्षतिपूर्तिवापत दिइनेछ ।
इन्सेक सप्तरी प्रतिनिधि पोखरेलले सप्तरी जिल्ला अदालतको फैसलाबाट न्याय पाइन्छ भन्ने सन्देश आम सर्वसाधारणमा प्रवाह भएको बताउँछन् । उनले अदालतको फैसलाबाट जघन्य अपराधलाई गाउँमै मिलापत्र गराउने प्रवृति घट्ने विश्वास व्यक्त गरे ।