site stats
बाह्रखरी :: Baahrakhari
देश
ऋणब्याज चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नदिएपछि...

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१२ का मो. युसुफले घर बनाउनका लागि मासिक ३६ प्रतिशत ब्याजमा ऋण लिए । उनले डाक्नेश्वरी–१ बस्ने चन्द्रकान्त साहलाई जग्गा राजीनामा पास गरी धितो राखेर तमसुक बनाई मासिक ३६ प्रतिशत ब्याज दिने सर्तमा ऋण लिएका थिए ।

उनले ०७३ चैत ११ गते १० लाख रुपैयाँ ऋण लिएका हुन् । सोबापत सप्तरीका दुई ठाउँका गरी आठ कठ्ठा १४ धुर जग्गा चन्द्रकान्तले भनेअनुसार जगरनाथ साहको नाममा राजीनामा पास गरिदिए ।

युसुफले उक्त जग्गा धितो राखेर तमसुक गरी लिएको १० लाख ऋण र मासिक ३६ प्रतिशत ब्याजसहित पूरै रकम चुक्ता गरे । तर, जग्गा र तमसुक फिर्ता पाएनन् । हाल युसुफको मृत्यु भइसकेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि उनका छोरा डाक्नेश्वरी–१२ का ३६ वर्षीय मो. आफताब आलमले चन्द्रकान्त र जगरनाथविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिए । तीमध्ये जिल्ला प्रहरी कार्यालय सप्तरीले डाक्नेश्वरी–१, कविलासा टोलका ५५ वर्षीय चन्द्रकान्तलाई पक्राउ गरेको छ । जगरनाथ फरार रहेको प्रहरीले जनाएको छ ।

चन्द्रकान्तलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ ।

सप्तरीमा यसरी मिटरब्याजीबाट पीडित हुने अरू व्यक्ति पनि रहेको बताइन्छ । यसअघि, सप्तरीकै खडक नगरपालिका–७, कल्याणपुरका मिटरब्याजी रामदेव साह तेलीबाट पीडित भएको भन्दै पटक–पटक प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले तेलीमाथि कारबाहीको माग गरेका थिए । तर, उनी अझै पक्राउ परेका छैनन् । तेलीविरुद्ध पनि इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता छ ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध (संहिता), २०७४ को दफा २५२ मा आपराधिक विश्वासघात गर्न नहुने उल्लेख छ । सोही ऐनको दफा २५३ मा आपराधिक लाभ लिन नहुने व्यवस्था छ । आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा रूपान्तरण गरेमा वा बेइमानीपूर्वक उपयोग गरेमा वा हक टुटाई अरूलाई दिलाएमा आपराधिक विश्वासघात गरेको ठहरिने उल्लेख छ । यस्तो अवस्थामा संस्थाको व्यवस्थापक, कर्मचारीलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना तथा अरूलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको समेत व्यवस्था छ ।

दफा २५३ अनुसार कुनै व्यक्तिलाई क्षति पुर्‍याउने डर, त्रासमा पारी बेइमानीपूर्वक आफ्नो वा अरू कसैको लागि लाभ उठाएमा वा लाभ उठाउने नियतले कुनै काम गराएमा वा कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिन्छ ।

आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

सोही ऐनको दफा २५४ मा यस कसुरबाट कसैलाई हानि, नोक्सानी पुगे बिगो खुलेकोमा बिगो असुल गरी पीडितलाई भराउने र बिगो नखुलेकोमा पीडितलाई मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्