पोखरा । गोरखा २ बाट प्रतिनिधीसभा चुनाव लड्दै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट प्रदेशसभा उमेदवार बनेका सुरेन्द्रराज पाण्डेको लागि मत माग्दै भनेका थिए, “सुरेन्द्रराज पाण्डेजी खाली प्रदेशसभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ ।”
आफू चुनाव नलडेर प्रचण्डलाई ठाउँ खाली गरिदिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रचण्डकै भनाइलाई समर्थन गर्दै मुख्यमन्त्री पाण्डे र प्रधानमन्त्री चाहिँ प्रचण्ड भनेर बोलेका थिए । उनले भनेका थिए, “अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री ।”
आजको दिनमा भने डा. भट्टराईले भनेको आंशिक कुरामात्र सत्य हुन पुग्यो । प्रचण्ड प्रधानमन्त्री बन्छन् भन्ने उनको भनाइ सत्य ठहरियो भने सुरेन्द्रराज पाण्डेको च्याप्टर क्लोज हुन पुग्यो ।
नयाँ गठबन्धन बनाएर प्रचण्ड प्रधानमन्त्री बनेपछि ट्विटरमा डा. भट्टराईले लेखेका छन्, “नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक बधाई ! अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् ।”
यसको अर्थ गोरखाबाट चुनाव जितेका प्रचण्डले चुनावअघि भनिएअनुसार नै देशको नेतृत्व गर्नेछन् भने प्रदेश नेतृत्वका आकांक्षी र प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेसबाट चुनाव जितेका पाण्डे प्रमुख प्रतिपक्षीको भूमिकामा हुनेछन् । प्रचण्डले देशको ४४ औँ प्रधानमन्त्रीको शपथ लिँदा पाण्डेले चाहिँ १६८ (२) बमोजिम गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको शपथ लिन पाउने छैनन् ।
यी सबैको कारण, आइतबार बिहानको प्रचण्डको ‘बालकोट मुभ’ हो । र, त्योभन्दा पनि अगाडि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनी निकटका कार्यकर्ताको दबाब हो । जसका लागि सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताहरुले नेतृत्वले बुद्धि नपु¥याएको भनेर आलोचना गरिरहेका छन् भने नेता रामचन्द्र पौडेलले ‘प्रचण्डलाई धोका भएको’ टिप्पणी गरेका छन् ।
निरन्तर सत्तामा रहनको लागि निर्णायक बन्ने माओवादी यसअगाडि गण्डकी प्रदेशसभामा दुईवटा मुख्यमन्त्री फेरिँदा पनि निरन्तर सत्तामै रह्यो । प्रचण्ड एमालेसहितका सात दल र स्वतन्त्र सांसदसँग मिलेर प्रधानमन्त्री बन्दैगर्दा गण्डकीमा पनि प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिरै रहने परिस्थिति देखिएको छ ।
अघिल्लो निर्वाचनमा एकचौथाइमा खुम्चिएको कांग्रेसले पाँच वर्ष प्रतिपक्षको म्यान्डेट पाउँदा अकस्मात सत्ताको नेतृत्व गर्न पायो भने अहिले सबैभन्दा ठूलो दल बनेर पनि सत्ताबाहिर बस्न बाध्य बन्ने देखिएको छ । ०७४ मा कांग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा नौ गरी जम्मा १५ सिट जितेको थियो । यो भनेको ६० सदस्यीय प्रदेशसभाको एकचौथाइ मात्र हो ।
त्यतिबेला एमाले एक्लैले प्रत्यक्षमा १८ र समानुपातिक १० गरी कूल २८ सिट जितेको थियो । माओवादीका १२ सांसद, जनमोर्चाका ३ गरी एमालेले पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा ०७४ फागुन ४ मा सरकार गठन गरेको थियो ।
तर, एमाले र माओवादी मिलेर बनेको नेकपामा विवाद निम्तिँदा नेकपा विभाजन हुन पुग्यो । एमाले र माओवादी पुरानै अवस्थामा फर्किए । त्यसपछि बनेको गठबन्धनकै कारण ०७८ जेठ २९ गते कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुन पुगे ।
सोही गठबन्धन चुनावमा होमियो र परिणाममा कांग्रेसले प्रत्यक्षमा तीनगुणा सिट बढाउँदै प्रत्यक्षतर्फ ५० प्रतिशत अर्थात १८ सिट जित्यो । समानुपातिकमा पाएको नौ र माओवादीको आठ सिट जोड्दा ३५ सिट पुग्थ्यो । जुन सरकार बनाउनको लागि आवश्यक बहुमतभन्दा धेरै थियो । त्यसैले गण्डकीमा मुख्यमन्त्रीको आशा गर्दै कांग्रेसका चारजना नेताले संसदीय दलको नेतामा आकांक्षा राखेका थिए ।
तर, केन्द्रमा गठबन्धन टुटेर माओवादी एमालेसँग मिल्न जाँदा त्यसको घाटा गण्डकी कांग्रेसमा पनि देखिएको छ । नयाँ गठबन्धनबाट २२ सिट जितेर दोस्रो बनेको एमालेबाट मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ । आइतबार नै सर्वसम्मतरुपमा एमाले संसदीय दलको नेता चयन भएका पार्टी संगठन विभाग प्रमुख कास्की १ (क) बाट चुनाव जितेका खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् ।
प्रचण्डले नै मुख्यमन्त्री भनेर सुरेन्द्रराज पाण्डेको नाम लिँदा हच्किएको माओवादी भने राजनीतिक कोर्ष फेरिएसँगै गण्डकीको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । प्रचण्डले नै अर्को पार्टीको व्यक्तिलाई मुख्यमन्त्री भनेर तोक्दा हच्किएका माओवादीका नेताहरु अब भने मुख्यमन्त्री आलोपालोमा बन्ने र सुरुमा आफूले नेतृत्व गर्ने बताउन थालेका छन् ।
माओवादीले संसदीय दलको नेता त चुनिसकेको छैन । तर, वरिष्ठताका आधारमा तनहुँ १ (ख) बाट चुनाव जितेका हरिबहादुर चुमान नै नेता बन्ने देखिन्छ । प्रदेशसभामा दोहोरिएर चुनाव जितेका चुमान अघिल्लो कार्यकालमा पनि दलको नेता थिए ।
उनै चुमानले गण्डकीको मुख्यमन्त्रीमा माओवादीको सशक्त दाबी रहेको बताए । भने, “राजनीतिक कोर्ष फेरियो, अब आलोपालोमा हुन्छ । पहिलो कार्यकाल हामीले नेतृत्व गर्छौँ ।”
६० सदस्यीय गण्डकीमा सरकार बनाउनका लागि ३१ सांसद चाहिन्छ । एमालेको २२, माओवादी केन्द्रको ८ (प्रत्यक्ष ५ र समानुपातिक ३) तथा समानुपातिकबाट २ सिट पाएको राप्रपा मिलेको खण्डमा ३२ सिटसहितको सरकार बन्ने देखिन्छ ।