पोखरा । ६० सदस्यीय प्रदेशसभामा समानुपातिक प्रणालीबाट आउने ४० प्रतिशत अर्थात २४ सांसदको टुंगो दलहरुले लगाएका छन् । दलहरुले विभिन्न क्लष्टरबाट बन्दसूचीमा रहेका उमेदवारहरुमध्येबाट प्रदेशसभा सदस्य बन्नेहरुको नाम टुंग्याएका हुन् । यही नाम उनीहरुले निर्वाचन आयोगलाई बुझाउने छन् र आयोगले औपचारिक घोषणा गर्नेछ ।
गण्डकीमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३६ सांसद यसअघि नै निर्वाचित भइसकेका छन् । उक्त निर्वाचनमा नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले)ले १२, नेकपा (माओवादी केन्द्र)ले (नेपाल समाजवादी पार्टी सहित) पाँच र स्वतन्त्र उमेदवार राजीव गुरुङ (दीपक मनाङे)ले मनाङ (ख)बाट जितेका थिए । मनाङे हाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
यता, समानुपातिक प्रणालीअनुसार भने गण्डकीमा एमाले पहिलो दल बनेको छ । उसले १० सांसद पाएको छ । दोस्रोमा रहेको कांग्रेसले नौ, माओवादीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सांसद पाएको छ ।
०७४ को निर्वाचनको तुलनामा एमाले, कांग्रेस र माओवादीले समानरुपमा समानुपातिक सांसद पाउँदा अघिल्लोपटक १÷१ सांसद पाएका राष्ट्रिय जनमोर्चा र तत्कालीन नयाँशक्ति पार्टी नेपाल भने बाहिरिए । त्यस्तै, थ्रेसहोल्ड कटाएर पनि सांसद नपाउने हाम्रो नेपाली पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको मत खेर जान पुग्यो ।
प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ५ मा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, “समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रत्येक प्रदेशको सम्पूर्ण क्षेत्रलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कूल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उमेदवार प्रदेशसभाको सदस्यमा निर्वाचित हुनेछन्,” भनिएको छ ।
समानुपातिकतर्फ छानिएकामध्ये सबैभन्दा बढी बागलुङबाट रहेका छन् । प्रदेशका ११ जिल्लामध्ये बागलुङबाट राप्रपाबाहेकका तीनै दलले समानुपातिक सांसद चुनेका छन् । एमालेले बागलुङबाट लिलबहादुर थापामगर, बिनाकुमारी थापा, कृष्णप्रसाद पाठक र गोविन्दबहादुर नेपालीलाई प्रदेशसभामा पठाएको छ ।
यस्तै, कांग्रेसबाट चम्पादेवी खड्का र दिलमाया पौवी सांसद बनेका छन् भने माओवादीबाट कुशुम बुढा सांसद बनेकी छन् ।
बागलुङपछि कास्कीबाट पाँचजना सांसद बनेका छन् । एमालेले कास्कीबाट प्रकाश बहादुर केसी, देवका त्रिपाठी, नन्दकला दमै र राजकुमारी भुजेललाई सांसद बनाएको हो । कांग्रेसबाट सरस्वती गुरुङ पनि सांसद बनेकी छन् ।
स्याङजाबाट चारजना सांसद बन्दा कांग्रेसले स्याङ्जाको वालिङ नगरपालिकाको वडा नं. ८ का दिदीबहिनी कल्पना तिवारी र सरस्वती अर्याल तिवारीलाई सांसद बनाएको छ । कल्पना कांग्रेसको प्रदेश उपसभापति हुन् भने सरस्वती केन्द्रीय सदस्य हुन् ।
एमालेबाट भने निर्मला थापा सांसद बन्दा पहिलोपटक प्रदेशसभामा प्रवेश गरेको राप्रपाले प्रदेश अध्यक्ष पञ्चराम गुरुङलाई अगाडि सारेको छ । लमजुङबाट एमालेकी यशोदा रिमाल, कांग्रेसबाट टीकाकुमारी बस्याल र पार्वती तामाङ तथा राप्रपाबाट बिन्दु अधिकारी पहाडी सांसद बनेकी छन् ।
पर्वतबाट कांग्रेसकी रेखा गुरुङ, म्याग्दीबाट कांग्रेसकी विमला गौचन, गोरखाबाट माओवादीकी सुशिला सिम्खडा र माओवादीबाटै नवलपुरकी दमयन्ती रुचाल सांसद बनेकी छन् ।