काठमाडौं । केही वर्ष अगाडिसम्म नेपाली चलचित्र क्षेत्रमा सिनेमाका विषयलाई लिएर थुप्रै छलफल, अन्तरक्रिया र बहस हुन्थ्यो । सानो बन्द कोठामा प्रोजेक्टरमा सिनेमा देखाएर उक्त चलचित्रको विषय, प्रस्तुति, अभिनय, प्रभाव, बजार निरन्तरताका विषयमा छलफल गरिन्थ्यो ।
बाक्लै फिल्म फेस्टिभल हुन्थे । हरेक फेस्टिभल कम्तीमा तीन–चार दिन चल्थे । त्यहाँ देशी–विदेशी सिनेमा हेरिन्थ्यो । सिनेमासँग सम्बन्धित विभिन्न विषयमा सोही क्षेत्रका व्यक्तिसँग छलफल तथा अन्तरक्रिया हुन्थ्यो । तर, केही वर्षयता यो सबै ठप्प प्रायः छ भन्दा अत्युक्ति हुँदैन ।
हलमा सिनेमा प्रदर्शन हुने र दर्शकले हेर्नेबाहेक खासै धेरै चलचित्रसँग सम्बन्धित क्रियाकलाप भएको छैन । एकाध फेस्टिभल त छन्, तर तिनले पनि पर्याप्त छलफल र बहस गराउन सकेका छैनन् । त्यसको प्रभाव र कभरेज न्यून रहेको स्वयं फेस्टिभल आयोजकले नै बताउँदै आएका छन् ।
नेपाली सिनेमामा फरक धार, मौलिक सिनेमा, विषय, बजार, नेपाली डायस्पोरामा नेपाली सिनेमा, डिजिटल प्लेटफर्म, अब्सट्रयाक सिनेमालगायत थुप्रै विषयमा छलफल तथा बहस हुन्थ्यो । नेपाली सिनेमा अब कसरी अगाडि बढ्छ र यसको भविष्यलगायत विषयमा अन्तरक्रिया हुन्थ्यो । अहिले नेपाली सिनेमा क्षेत्रमा यी विषय गौण प्रायः छन् । कुनै पनि क्षेत्रको विकास र विस्तारका लागि त्यसमाथि गहन छलफल र अन्तरक्रिया आवश्यक हुन्छ । विषयमाथिको मन्थनले त्यसको विकासलाई सहयोग गर्छ ।
निर्देशक मीन भाम चलचित्रसँग सम्बन्धित संवाद तथा अन्तरक्रिया आम दर्शकमाझ पनि पु¥याउनुपर्नेमा जोड दिन्छन् । दर्शकसामु सिनेमाका अन्तरक्रिया पु¥याउन सके कस्तो सिनेमा राम्रो र कस्तो नराम्रो भन्ने छुट्ट्याउन सहज हुने उनको धारणा छ ।
“सिनेमाको कुनै एक विषय मात्रै होइन, जुनसुकै विषयमा छलफल भए पनि त्यसले चलचित्र क्षेत्रलाई राम्रो गर्छ । यसले सिनेमा क्षेत्रमा आउन लागेको नयाँ पुस्ता चाहे त्यो कलाकार, निर्देशक वा प्रोडुसर होस्, सबैलाई फाइदा नै गर्छ,” मीन भन्छन्, “यसले चलचित्र क्षेत्रलाई चलायमान पनि बनाउँछ । चलायमान हुनु भनेको आफैँमा सकारात्मक पक्ष हो ।”
भर्खरै इन्टरनेसनल थिएटर फेस्टिभल सम्पन्न भएको प्रसंग सुनाउँदै बिहीबार सुरु भएको किम्फ र केही समयपछि हुने निफ फेस्टिभलले चलचित्रसँग सम्बन्धित थप बहस सिर्जना गर्ने उनको विश्वास छ ।
सिनेमा क्षेत्रमा चारपक्षीय बहस आवश्यक रहेकामा उनको जोड छ । नेपालमा चलचित्रको लिट्रेसी बढाउने र कन्टेन्ट बेसको सिनेमालाई प्राथमिकता दिने हो भने सिनेमा क्षेत्रसँगको बहसलाई आम नागरिसम्म लैजानुपर्ने मीन बताउँछन् ।
“चलचित्रसँग सम्बन्धित बहस जति हुन्छन्, ती प्रायः सिनेमा क्षेत्रका व्यक्तिभित्र मात्रै हुने गरेका छन् । तर, यस्ता बहस जति धेरै आम नागरिकमा पुग्छन्, त्यति नै राम्रो हुन्छ,” उनी भन्छन् ।
सिनेकर्मी, दर्शक, मिडिया र सरकारी पक्षबीच चारपक्षीय बहस भए त्यसले चलचित्र क्षेत्रको विकासमा ठूलो भूमिका खेल्ने उनको बुझाइ छ । “सके चारै पक्षबीच संवाद तथा अन्तरक्रिया भइरहेको राम्रो । होइन भने कम्तीमा दुई वा तीन पक्षबीच अन्तरक्रिया तथा बहस भए त्यसले फाइदा नै गर्छ,” उनी भन्छन्, “सरकारी पक्षसँग छलफल भए झन् धेरै उपलब्धि हुने थियो । सरकारले सिनेमा क्षेत्रसँग सहकार्य गर्ने सम्भावना हुन्थ्यो । त्यसैले संवाद तथा अन्तरक्रियाहरू घनीभूत हुनुपर्छ ।”
कोभिड–१९ संक्रमणको केही वर्ष अगाडिदेखि नै नेपाली चलचित्र क्षेत्र सुस्ताइरहेको छ । चलचित्र निर्माण र प्रदर्शन मात्र नभएर गुण र दोषका आधारमा टिप्पणी हुुनुपर्नेमा उनको जोड छ । “सिनेमा क्षेत्र शान्त देखिएको छ । हुनुपर्ने संवाद र अन्तरक्रिया पनि भएको छैन । शान्ति त आफैँमा राम्रो शब्द हो, तर अहिले सिनेमा क्षेत्रको देखिएको शान्ति मुर्दा शान्तिजस्तो देखिएको छ,” उनी अगाडि थप्छन्, “यसलाई चिर्दै चलचित्र क्षेत्रको हितार्थ संवादलाई बाक्लो बनाउँदै जानुपर्छ ।”
चलचित्र क्षेत्रको उन्नयनका लागि गठन भएका संस्था पनि थुप्रै छन् । जस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ, निर्देशक समाज, चलचित्र प्राविधिक संघ आदि । सरकारी निकाय चलचित्र विकास बोर्ड पनि छ । तर, यी यस्ता विषयमा खासै चासो नदेखाई बसिरहेको अर्का निर्देशक दिवाकर भट्टराईको टिप्पणी छ । ‘प्रेम गीत–३’ भारतलगायत अन्तर्राष्ट्रिय बजारमा गएको अनुभव अरू निर्माता तथा निर्देशकमा साट्ने वातावरण समेत चलचित्रसँग सम्बन्धित संस्थाले नगरेको उनी बताउँछन् ।
कुनै पनि नयाँ विषय र शैली कुनै मेकर वा कलाकारले लिएर आउँदा मात्र चलचित्र क्षेत्रमा बहस तथा छलफल हुने गरेको अन्यथा यो क्षेत्र सुनसान हुने गरेको दिवाकर बताउँछन् । “लुट र कबड्डी आउँदा चलचित्रलाई लिएर बहस भयो । एक्सन हिरोका रूपमा निखिल उप्रेती र विराज भट्ट आउँदा त्यस्तै बहस भयो,” दिवाकर भन्छन्, “अन्यथा, कुनै बहस र छलफल नै हुँदैन ।”
एकार्काका विचार र रुचिबारे जानकारी लिने ठाउँ पनि यस्तै अन्तरक्रिया तथा छलफल भएको सत्यलाई नजरअन्दाज गर्न नहुनेमा दिवाकरको जोड छ । “सिनेमा मेकर, चलचित्र उद्योग र दर्शकबीच अन्तरक्रिया हुनु भनेको ओपिनियन आउनु हो । जब वास्तविक ओपिनियन आउँछ, त्यसले मेकर कुन बाटोमा हिँड्ने भन्ने तय गर्ने डिसिजन गर्न सहज हुन्छ,” उनी भन्छन्, “इन्डिपेन्डेन्ट मेकरले आफ्नो खुसीले आफ्नो प्रकारको सिनेमा बनाउनु फरक कुरा हो । तर, सिनेमाको मूलधार कुन हुने र कसरी अगाडि बढ्ने त्यसको निर्धारण साक्षात्कारबाट गरियो भने सही मुकाममा पुगिन्छ ।”
सिर्जनात्मक विषयमा बहस चलाएर मेकर र दर्शक दुवैलाई ओरेन्टेसन दिनु आवश्यक भएको तर यसमा उति धेरै चासो कसैले नदिनु दुःखद भएको दिवाकारको गुनासो छ । यसको अभावमा ट्रेन्ड मेकरको संख्या न्यून रहेको कुरालाई नजरअन्दाज गर्ने काम भइरहेको उनको गुनासो छ ।
“हाम्रोमा कतिपय यस्ता मेकर पनि हुनुहुन्छ, जसलाई प्रोफेसनल तरिकाले चलचित्र कसरी बनाइन्छ भन्ने पनि थाहा छैन,” दिवाकर अगाडि थप्छन्, “कोही कसैको लहैलहैमा लागेर, कोही आफ्नो हिडन इन्ट्रेसमा, कोही आफ्नो कथा भन्न, कोही कलाकार बन्न सिनेमा बनाइरहेका छन् । यस्तो अवस्थामा सिनेमा केका लागि किन र कसरी बनाउने भनेर जानकारीमूलक छलफल चलाए त्यसले समग्र सिनेमा उद्योगलाई नै फाइदा गर्छ ।”
राम्रो सिनेमा बनाउनेलाई प्रोत्साहन र जानकारी नहुने नयाँलाई ठगिनबाट जोगाउन पनि सिनेमा उद्योगमा बाक्लै बहस र छलफल आवश्यक रहेको दिवाकरको तर्क छ । नयाँ ट्रेन्डसेटर मेकर वा सिनेमा नआउँदासम्म चुपचाप बस्ने प्रवृत्तिले चलचित्र क्षेत्रलाई घाटा भइरहेको उनको भनाइ छ ।
सिनेमा क्षेत्रको विकास र विस्तारका लागि समन्वयकारी भूमिका खेल्ने मुख्य जिम्मेवारी चलचित्र विकास बोर्डको भएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलका सञ्चालक केपी पाठक बताउँछन् । छलफल पेसागत संघसंस्थाले आयोजना गर्नुपर्नेमा निर्देशक समेत रहेका पाठक जोड दिन्छन् ।
“चलचित्रको डिस्कोर्स चलाउने, अडियन्सलाई सचेत बनाउने जिम्मा बोर्ड र पेसागत संघसंस्थाको हो । तर, यसमा बोर्ड र पेसागत संस्था कहाँ छन् थाहा छैन,” केपी असन्तुष्ट सुनिए, “म आफैँ फेस्टिभल आयोजक भएकाले फलानोले यो वा त्यो काम गरेनन् भनेर भन्ने कुरा भएन । जे जिम्मेवारी हो, त्यो नभएको कसैबाट छिपेजस्तो लाग्दैन ।”
विचार निर्माणको काम गर्ने, बजार खोज्ने र यसका लागि सहजीकरण गर्ने, चलचित्र मार्केटिङ कसरी गर्ने भन्ने विषयमा पर्याप्त छलफल आवश्यक भएकामा उनको जोड छ । अधिकांश सिनेमा नचलिरहेको अवस्थामा दर्शकले कस्ता सिनेमा खोजेका हुन् भन्ने विषयमा सम्बन्धित पक्षले छलफल चलाउनु पर्दैन ? केपीको प्रश्न छ ।
“अहिलेको नेपाली सिनेमाको नेपाली ट्रेन्ड के हो, ग्लोबल सिनेमाको ट्रेन्ड के हो, नेपालमा अडियन्सले कस्ता सिनेमा खोजिरहेका छन्,” उनी अगाडि थप्छन्, “सिनेमाको बजारीकरण कसरी गर्ने, नेपाली सिनेमा नेपालका सीमित सय÷डेढ सय हलमा झगडा गरेर चलाएर मात्रै बस्ने हो कि अन्तर्राष्ट्रिय बजारमा पनि बजार विस्तार गर्ने हो ?”
वर्षमा एकाध हुने फेस्टिभलका सीमित छलफल र बहस पर्याप्त नभएको र ती पनि चलचित्रकर्मी माझ मात्र सीमित हुनु दुःखद पक्ष भएको उनको टिप्प्णी छ । यस्ता बहस आम नागरिकसम्म पुग्नुपर्छ भनेर नै निफले आफ्नो डिस्कोर्सलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने गरेको उनी सुनाउँछन् । भलै, यो पर्याप्त नरहेको उनी स्वीकार गर्छन् ।
चलचित्र निर्माता संघका महासचिव सुनीलकुमार थापा सुस्ताएको चलचित्र उद्योग अब जुर्मुराउने जिकिर गर्छन् । “पछिल्लो समय कोभिडका कारण पनि तीन वर्ष धेरै काम चाहेर पनि गर्न सकिएन । अब अवस्था सहज बन्दै गएको छ,” सुनील भन्छन्, “संघ अब नयाँ रणनीतिसहित अगाडि बढ्दै छ । हामी बहस र छलफल गर्दै छौँ ।”
निर्माता संघले एक महिनापछि निर्माताहरूका लागि विशेष कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए । यस्ता छलफल र कार्यक्रमलाई निरन्तरता दिने उनको अठोट छ । पछिल्लो समय नेपाली सिनेमाले पनि कलेक्सन गर्न सक्छन् भन्ने उदाहरण पेस गरेको उनी बताउँछन् । सुनील भन्छन्, “नेपाली सिनेमालाई थप कसरी सशक्त बनाउन सकिन्छ भन्ने विषयमा निर्माता संघले सकेको काम गर्छ ।”