पोखरा । निर्वाचन अगाडिसम्म गण्डकीको आगामी मुख्यमन्त्रीको दौडमा गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्मा आफैँ थिए । प्रत्यक्षतर्फको चुनावबाट उमेदवार बनेका गोरखाका सुरेन्द्रराज पाण्डे पनि मुख्यमन्त्रीको दौडमा थपिए । राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता बनिसकेका पाण्डे मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा झरे । गोरखा २ ‘ख’बाट चुनाव जितेपछि पाण्डे काठमाडौंमै छन् ।
तर, मुख्यमन्त्रीका अर्का आकांक्षी शुक्रराज शर्माको भने ‘च्याप्टर क्लोज’ हुन पुगेको छ । प्रदेशको खसआर्य समानुपातिकको पहिलो नम्बरमा रहे पनि शर्मा सांसद बन्न नपाउने भएका हुन् । प्रदेशका ३६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १८ सिट एक्लै कांग्रेसले जित्दा एउटा पनि महिलाले टिकट पाएका थिएनन् । प्रत्यक्षमा महिलाले टिकट नपाएकै कारण समानुपातिकबाट सांसद बन्ने र मुख्यमन्त्री हुने शर्माको सपना तुहिएको हो ।
गण्डकीमा कांग्रेसले समानुपातिकमा नौ सिट पाउने आकलन छ । तर, संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत महिला अनिवार्यताका कारण ती सबै सिट महिलाहरुको लागि सुरक्षित हुन पुग्छ । महिलाभित्र पनि जनजाति, खसआर्य र दलित महिलाहरु त्यहाँबाट चुनिनेछन् ।
३३ प्रतिशत प्रावधान पुर्याउँदा शर्माको मुख्यमन्त्री बन्ने चाहनामा ब्रेक लाग्न पुगेको हो । शर्मा रोकिँदा पाण्डेलाई केही सहज देखिए पनि संसदीय दलको नेतृत्व लिन कांग्रेसका पुराना नेता भोजराज अर्यालको पनि सशक्त दाबेदारी रहेको छ ।
स्याङजा २ ‘क’बाट पहिलोपटक संसदीय चुनाव लडेर पहिलोपटकमै सफलता पाएका भोजराजले मुख्यमन्त्री बन्ने तयारीसहित दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । पार्टीको उच्चतहमा प्रतिस्पर्धा नगरे पनि पाँच दशकदेखि उनी कांग्रेसमा निरन्तर क्रियाशील छन् ।
कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठका कारण सधैँ किनारामा पारिएका अर्यालले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका हुन् । श्रेष्ठ देउवानिकट भएका कारण अर्याल पछाडि परेको कांग्रेसकै नेता कार्यकर्ताहरुले बताउँछन् । हाल इतर समूहबाट उपसभापति बनेका धनराज गुरुङले जिल्लाको राजनीतिमा प्रभाव राख्ने अर्याललाई पनि अगाडि बढाउँदा सहज हुने ठानेर टिकट दिएका हुन् । उपसभापति गुरुङको साथ पाएका अर्याल गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्री बन्न तयार छन् ।
उता गोरखाका पाण्डे चाहिँ टिकट पाएकै दिनदेखि आफू मुख्यमन्त्री बन्नकै लागि प्रदेश झरेको बताउँदै मतदातासमक्ष पुगेका थिए । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको चुनावी कार्यक्रममा भनेका थिए, “अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री ।”
गोरखाबाट चुनाव लडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चुनावी अभियानको क्रममा पाण्डे नै मुख्यमन्त्री बन्ने बताएका थिए । यसबारेमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुराकानी भइसकेको प्रचण्डले बताएका थिए ।
गण्डकी प्रदेशसभामा प्रत्यक्षमा १८ सिट र समानुपातिकमा नौ गरी २७ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल बन्ने भएको छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनको लागि बहुमत पु¥याउन ३१ सांसद चाहिन्छ । प्रत्यक्षमा पाँच र समानुपातिकमा तीनसहित आठजना सांसदसहित नेकपा (माओवादी केन्द्र) तेश्रो दल बन्दा गण्डकीमा गठबन्धनलाई सुविधाजनक बहुमत पुग्छ ।
सोमबारमात्रै गठबन्धनका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै गठबन्धनकै निरन्तरता हुने बताएका छन् । शीर्ष नेतृत्वको यो निर्णयले गण्डकीमा गठबन्धनकै सरकार बन्ने तर नेतृत्व कसको भन्ने चाहिँ टुंगिसकेको छैन । नेतृत्व कांग्रेसले पाएको खण्डमा भने मुख्यमन्त्री बन्नको लागि संसदीय दलको नेतामा पाण्डे र अर्यालकै प्रतिस्पर्धा हुने देखिएको छ ।
शीर्ष नेतृत्वलाई भेट्न र आफूलाई न्याय दिन भन्दै अर्याल बुधबार काठमाडौं जाने तयारीमा छन् । बाह्रखरीसँगको फोनसम्पर्क उनले आफू अनुभव र क्षमताले प्रदेशको नेतृत्व गर्न सक्षम रहेको बताए ।
“भोलि काठमाडौं जान्छु । म अहिलेको परिस्थितिमा निर्वाचित सबै सदस्यहरु जो हुनुहुन्छ, उहाँहरुको ब्याकग्राउन्ड हेर्दा पार्टीमा सबैभन्दा लामो समय काम गरेको म हुँ । अनुभवको आधारमा पनि र वरिष्ठताको आधारमा म योग्य उमेदवार हुँ भन्ने लागेको छु । नेताहरुसँग बसेर कुरा गर्न बाँकी छ,” उनले भने ।
पटकपटक महासमिति सदस्य बनेका उनी केन्द्रीय समितिमा भने एकपटक पनि प्रतिस्पर्धा गरेका छैनन् । मुख्यमन्त्रीका दाबेदारसमेत रहेका पाण्डे भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, केन्द्रीय सदस्यलाई मानक बनाउन नहुने अर्यालको तर्क छ ।
पाण्डेलाई इंगित गर्दै उनले भने, “केन्द्रीय सदस्य बन्नु नै योग्यता होइन । पार्टीमा ५३÷५४ वर्ष सक्रियतापूर्वक समय बिताएको छु । मसँग सबै प्रकारका, अहिलेको राजनीतिक आवश्यकता, चुनौतीलाई पार गर्न सक्ने क्षमता मसँग छ । मैले पार्टीलाई यो प्रदेशमा अग्रपंक्तिमा लगेर नेतृत्व प्रदान गर्न सक्छु भन्ने क्षमता छ ।”
आफूहरुले जनतालाई नै सर्वोपरि ठानेका कारण नेताहरुको नजिक हुने, केन्द्रीय सदस्य बन्नेतर्फ ध्यान नदिएको अर्यालको भनाइ छ । “हाम्रो परम्परा नेताहरुको नजिक हुने, केन्द्रीय सदस्य बन्ने चाहना देखिन्छ,” अर्यालले भने, “केन्द्रीय सदस्य नै हुनुपर्ने हो भने हामी पनि त्यहीअनुसार लागिन्थ्यो होला । हामी त जनतासँग जोडिनुपर्छ, जनता नै सर्वोपरि हो भन्ने मान्यताले लोकतन्त्रको मूलभूत सिद्धान्तलाई आधार मानेर संघर्ष गरेर आएका हौँ ।”
मुख्यमन्त्रीमा आकांक्षा राख्ने अर्याल भने इतर समूहका नेता हुन् । उपसभापति धनराज गुरुङको साथ पाएपछि नेतृत्व लिन कस्सिएका अर्यालले चुनाव भएको खण्डमा त्यसमा समेत प्रतिस्पर्धा गर्ने बताए । भने, “दलको नेताको लागि भरसक चुनाव नहोला । नेताहरुले न्याय गर्नुहोला । नत्र, चुनावको अवस्थासम्म पनि म जान तयार छु ।”
प्रचण्ड, बाबुरामदेखि शेरबहादुर देउवाले नै मुख्यमन्त्री भनेर आफूलाई प्रदेशमा झर्न भनेको हुँदा गण्डकीको मुख्यमन्त्री आफू नै बन्नेमा पाण्डे पनि विश्वस्त देखिएका छन् । काठमाडौंमा रहेका पाण्डेले भने, “मलाई मुख्यमन्त्री बनाउने भनेर मौखिक सहमति भइसकेको छ ।”
प्रचण्ड, नारायणकाजी र देउवाले आफूलाई मुख्यमन्त्री बनाउने वचन दिइसकेको उनले बताए । संसदीय दलमा चुनावै भइहालेको खण्डमा पनि जितिने उनले बताए । पाण्डे र अर्यालसँगै कांग्रेसबाट संसदीय दलको नेता बन्न बागलुङका दीपेन्द्रबहादुर थापा, लमजुङका भेषबहादुर पौडेलसहित नवलपुरका महेन्द्रध्वज जीसीले समेत दाबी गरेका छन् ।
के छ त संसदीय दलमा कांग्रेसको गणित ?
यो निर्वाचनमा कांग्रेसले ३६ मध्ये २१ सिटका लागि उमेदवार उठाएको थियो । तर, उमेदवार बनेका मध्ये तीनजना पराजित हुन पुगे । जसको बेफाइदा इतर समूहलाई हुन पुगेको छ । पर्वत (ख) बाट पराजित ऋषिकेश तिवारी शेखर कोइराला निकट हुन् भने कास्की १ (ख) मा पराजित दीपक गुरुङ (माइला) गगन थापाको नजिकका हुन् । पराजित अर्का उमेदवार स्याङजा १ (ख) का बुद्धिबहादुर राना (कुमार) भने देउवा समूहका हुन् ।
यी तीनैजनाले जितेको खण्डमा भने कांग्रेस संसदीय दलमा संस्थापन र इतर समूहसँग बराबर सांसद हुन्थे । तर, यी तीनजना पराजित हुँदा संसदीय दलमा संस्थापन र इतर समूहबीच एक मतको फरक हुने देखिन्छ । प्रत्यक्षमा कांग्रेसका १८ जनाले चुनाव जित्दा देउवा पक्षका नौ र इतरका नौ जना छन् ।
प्रत्यक्षमा चुनाव जित्नेमध्ये संस्थापन समूहमा बागलुङबाट द्रोणकुमार कुँवर, जीत शेरचन (कृष्णप्रसाद सिटौला निकट), दीपेन्द्रबहादुर थापा छन् । कास्कीका विन्दुकुमार थापा, तनहुँका जीतप्रकाश आले (शंकर भण्डारी निकट), लमजुङका टकराज गुरुङ, मनाङका मुनिन्द्रजंग गुरुङ, गोरखाका सुरेन्द्र पाण्डे र स्याङजाका महेश भट्टराई देउवा निकट हुन् । समानुपातिकबाट आउने सांसदहरुमध्येमा चम्पादेवी खड्का, सरस्वती तिवारी, विमला गौचन, सरस्वती गुरुङ र दिलमाया पौ.वि. देउवा निकटका हुन् ।
संस्थापनइतर समूह (गगन÷शेखर÷सशांक÷पौडेल) बाट भने प्रत्यक्षमा मुस्ताङबाट विकल शेरचन र नाम्डु गुरुङ, बागलुङबाट डिल्लिराम सुवेदी, कास्कीबाट प्रकाश बराल, तनहुँबाट अशोककुमार श्रेष्ठ, लमजुङबाट भेषबहादुर पौडेल, गोरखाबाट नन्दप्रसाद न्यौपाने, नवलपुरबाट महेन्द्रध्वज जीसी र स्याङ्जाबाट भोजराज अर्यालले चुनाव जितेका छन् । समानुपातिकबाट यो समूहमा कल्पना तिवारी (कांग्रेस गण्डकी उपसभापति), रेखा गुरुङ, पार्वती तामाङ र टिकाकुमारी बस्याल सांसद बन्नेछन् ।
यो अवस्थामा निर्वाचन भएको खण्डमा र सांसदहरु आ–आफ्नै समूहमा रहेको खण्डमा संस्थापन समूहसँग १४ र इतर समूहसँग १३ जना सांसद हुनेछन् ।