site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेश : सरकार बनाउन माओवादी निर्णायक
Sarbottam CementSarbottam Cement

पोखरा । स्याङजाका २ प्रदेशसभा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । एमाले उमेदवारले लगाएको बुथ कब्जा गरेको भन्ने आरोपका कारण त्यहाँको मतगणनाको लागि निर्वाचन आयोगको टोली नै अनुसन्धानका लागि स्याङजा आएको छ । छानबिनपश्चात् प्रतिवेदन तयार गर्ने र मतगणना थाल्ने वा पुनः मतदान गर्ने भन्ने निर्णय आयोगले गरेपछि मात्र स्याङजा २ प्रतिनिधिसभा र उक्त क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रको बारेमा निर्णय होला ।

प्रदेशसभाका प्रत्यक्षतर्फका ३६ मध्ये स्याङजा २ का ‘क’ र ‘ख’ बाहेकका ३४ वटा क्षेत्रको मतपरिणाम आइसकेको छ । शुक्रबार दिउँसो आएको स्याङजा १ ‘ख’ को मतपरिणाम हालसम्म सार्वजनिक भएकामध्येकै रोचक बन्न पुग्यो । गठबन्धनबाट उमेदवार बनेका बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित हुन पुगे । ०७९ को निर्वाचनमै सम्भवतः हालसम्म सबैभन्दा कम मतान्तरले पराजित हुने उमेदवार नै राना बन्न पुगे ।

उनलाई नेकपा (एमाले)का सुधीर पौडेलले हराएका हुन् । सुधीरले १७ हजार ४४१ मत ल्याए भने रानाले १७ हजार ४३५ मत ल्याएर पराजित हुन पुगे ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले जित्न सक्ने सूचीमा राखेको यो क्षेत्रसहित एमालेले गण्डकीमा हालसम्म कूल १२ सिट जितेको छ । अघिल्लोपटकको निर्वाचनमा प्रत्यक्षमा १८ सिटमा उमेदवारी दिएर एमालेले १७ सिट जितेको थियो । अहिले एमालेले प्रदेशसभामा ५ सिट गुमाउन पुगेको छ । गण्डकीमा एमाले मात्रै होइन, कुनै पनि पार्टीको सरकार बन्ने देखिँदैन । 

गण्डकी प्रदेशका ३६ प्रत्यक्ष निर्वाचन क्षेत्रमा एमालेले सबैभन्दा बढी ३४ ठाउँमा उमेदवारी दिएको थियो । मनाङ १ ‘ख’ मा एमालेसहित ठूला दलले उमेदवार उठाएनन् भने एमालेले बागलुङ २ ‘१’ मा स्वतन्त्र उमेदवारलाई समर्थन गरेको थियो । 

Global Ime bank

०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण गण्डकीमा कांग्रेस प्रत्यक्षमा ६ सिटमा खुम्चिन बाध्य भयो । तर, अहिले गठबन्धन गर्दा कांग्रेसले हालसम्म १६ सिट जितिसकेको छ । प्रत्यक्षमा ०७४ मा नौ सिटमा चुनाव जितेको नेकपा (माओवादी केन्द्र) भने अहिले पाँच सिटमा खुम्चिएको छ । पाँचमध्येमा पनि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका एकजना उमेदवार पनि सामेल छन् । हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव जितेका कारण माओवादीले उक्त सिटलाई पनि आफ्नो सांसद भनेर गनेको छ ।

मनाङ ‘ख’बाट चाहिँ स्वतन्त्र उमेदवार गण्डकीका खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) सबैभन्दा पहिले निर्विरोध भएका थिए ।

यो त भयो, हालसम्मको सार्वजनिक परिणाम ।

समानुपातिकतर्फको हिसाब गर्ने हो भने ०७४ मा गण्डकीमा सबैभन्दा बढी मत एमालेले ल्याएको थियो । यसपटक पनि हालसम्म गणना भएको समानुपातिकतर्फको मत हेर्दा एमाले नै पहिलो बन्नेछ । अघिल्लोपटक २४ समानुपातिक सांसदमध्ये एमालेबाट १०, कांग्रेसबाट नौ, माओवादी केन्द्र तीन, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टीबाट १÷१ सांसद बनेका थिए ।

यसपटक गण्डकीमा गठबन्धनको भगबण्डामा कांग्रेसले २१, माओवादी केन्द्रले १२, नेसपा र एकीकृत समाजवादीले एक–एक सिट पाएका थिए । कांग्रेसले पाएका २१ मध्ये तीन सिट गुमाइसकेको छ । कांग्रेसका उमेदवार भएको दुई ठाउँको नतिजा आउन बाँकी छ । दुईवटै सिट जित्दा कांग्रेसको कूल १८ जना हुन्छन् । समानुपातिकमा यसअघि कांग्रेसले नौ सिट पाएको थियो । यसपटक पनि नौ सिट पाउँदा २७ हुन्छ र कांग्रेसको पनि एकल बहुमत पुग्दैन ।

अहिले नयाँ शक्ति पार्टी भने छैन । हँसिया हथौडा चुनाव चिह्न लिएर बाबुरामले आफ्ना उमेदवार चुनावमा उठाएपछि समानुपातिकतर्फ माओवादीको मत बढ्ने देखिन्छ । अघिल्लोपटक राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक सांसद जितेको थियो । अहिलेको मतपरिणाम हेर्दा जनमोर्चाभन्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढी देखिएको छ । तर, गणना भने सकिएको छैन । हालसम्मको मतपरिणाम हेर्दा चौथो नम्बरमा रहेको राप्रपाको समानुपातिकबाट गण्डकी प्रदेशमा ‘इन्ट्री’को सम्भावना देखिएको छ ।

निर्वाचन आयोगको वेबसाइटमा उल्लेखित विवरणअनुसार राप्रपाले हालसम्म समानुपातिकमा ३६ हजार ६१५ मत पाइसकेको छ । पहिलो एमालेले दुई लाख ४९ हजार ३६९, कांग्रेसको दुई लाख २४ हजार २१ र माओवादी केन्द्रले ९९ हजार १४१ मत पाएको छ ।

सरकार सम्भावना ः माओवादी र कांग्रेस अथवा माओवादी र एमाले 

०७४ मा वाम गठबन्धनबाट तत्कालीन नेकपाले प्रत्यक्ष र समानुपातिक गरी ४१ सिट जित्न सफल भएको थियो । एमाले प्रत्यक्ष १७ र समानुपातिक १० गरी २७ तथा माओवादी केन्द्र प्रत्यक्ष नौ र समानुपातिक तीन गरी ४१ जनाको बहुमत नेकपासँग थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको उक्त सरकारलाई प्रारम्भमा तीनजना सांसद भएको जनमोर्चाले पनि समर्थन ग¥यो ।

एकचौथाइ (१५) मा खुम्चिएको कांग्रेस र दुई सिट रहेको नयाँ शक्ति प्रतिपक्षमा बसे । तर, केन्द्रको राजनीतिक किचलोको बाछिटास्वरुप एमालेको सरकार सबैभन्दा पहिले गण्डकीमा नै ढल्यो । १५ सिटको कांग्रेस ११ सिटको माओवादी (सभामुख बाहेक), दुई सिटको नयाँ शक्ति (पछि जसपा), दुई सिटको जनमोर्चा (पार्टीको निर्देशन नमानेका कारण एकजना कारबाहीमा परेका) र स्वतन्त्र दीपक मनाङे गरी कूल ३१ सांसदसहित कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्यो । जुन अहिलेसम्म कायम छ । तर, पहिला जस्तो एकता भने छैन, झनै तिक्तता बढेको छ ।

लमजुङबाट प्रतिनिधिसभामा पराजित माओवादी महासचिव देव गुरुङले चुनाव हार्नासाथ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै वाम एकताको पहल गर्न भनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि फोनसंवाद भइसकेको छ । यिनै परिघटनाका बीच पुनः एमाले र माओवादीबीचको सरकार बन्ने हो कि भन्ने चर्चा व्यापक छ ।

तर, पहिलो पार्टी बन्ने भएका कारण सुरुमा सरकार बनाउनको लागि प्रदेश प्रमुखले ठूलो दललाई आह्वान गर्ने संवैधानिक व्यवस्था छ । कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना नभएमा मात्र दोश्रो विकल्पको रुपमा एमाले माओवादी सरकारको सम्भावना रहन्छ ।

एमालेले जितेको १२ र माओवादीले जितेको पाँचसहित प्रत्यक्षमा १७ जना सांसदले मात्रै सरकार बन्दैन । बाँकी १४ जना चाहिँ समानुपातिकबाट आउनुपर्ने हुन्छ । अघिल्लो निर्वाचनमा पाएको समानुपातिक मतकै हाराहारी आएमा मात्रै सरकार बन्न सम्भव छ ।

कांग्रेस र माओवादीको गठबन्धन सरकार

अहिले गण्डकी सरकारको नेतृत्व कांग्रेस कृष्णचन्द्र नेपाली पोखरेलले गरेका छन् । उनका अर्थमन्त्री रामजी बराल, हटाइएका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का, हटाइएका ऊर्जामन्त्री हरिशरण आचार्यको बेमेलले गण्डकी सरकारको बदनाम भयो । पोखरेलले आफ्नै पार्टीका र सरकार बनाउन मुख्य भूमिकामा रहेका कुमार खड्कालाई चुनावको सम्मुखमा हटाइदिए ।

अर्थमन्त्री बराल र मुख्यमन्त्रीको बजेट द्वन्द्व त बालुवाट हुँदै खुमलटारसम्म पुग्यो । बजेटमा मन्त्रिपरिषद्को निर्णय उल्लंघनदेखि मनपरि कर वृद्धिका कारणले आलोचित अर्थमन्त्रीसँग पनि मुख्यमन्त्रीको सम्बन्ध सुमधुर छैन । वास्तवमा भन्ने हो भने गठबन्धनको सरकार भएका कारण मन्त्री पद जोगिएका छन्, तर गण्डकी सरकारमा एकता होइन, तिक्तता र अनेकतामात्रै छ ।

यही तिक्तताले गर्दा माओवादी सरकारमा जान मान्छ वा मान्दैन भन्नेमा पनि शंका छ । अर्कातर्फ माओवादीको प्रारम्भिक समीक्षा बैठकमा पनि कांग्रेससँगको गठबन्धन उपयुक्त नभएको निर्णय भएको छ ।

तर, तत्कालै गठबन्धन छाड्ने भनेर निर्णय गरिनसकेको र पहिलो ठूलो पार्टी बन्ने क्रममा रहेको कांग्रेसले नै सरकार बनाउन पहल गर्ने भएका कारण माओवादीलाई साथ लिएर गण्डकीमा कांग्रेसको सरकार बन्न सक्ने सम्भावना छ ।

यसरी हेर्दा गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्नेछ । माओवादी जता मिल्छ, उसैको सरकार बन्ने देखिन्छ । माओवादीले हालसम्म चार सिट जितेको छ र समानुपातिकमा यसअघिको जस्तै तीन सिट ल्याए सात हुन्छ । 

कहाँ कसले जिते ?
कास्की १ (१) – खगराज अधिकारी, एमाले 
कास्की १ (२) – वेदबहादुर गुरुङ, एमाले 
कास्की २ (१) – भीम कार्की, एमाले
कास्की २ (२) – विन्दुकुमार थापा, कांग्रेस
कास्की ३ (१) – गणेशमान गुरुङ, एमाले
कास्की ३ (२) – प्रकाशल बराल, कांग्रेस
तनहुँ १ (१) – अशोककुमार श्रेष्ठ, कांग्रेस
तनहुँ १ (२) – हरिबहादुर चुमान, माओवादी केन्द्र
तनहुँ २ (१) – श्यामराजा महत, एमाले
तनहुँ २ (२) – जीतप्रकाश आले, कांग्रेस
लमजुङ १ – डा. टकराज गुरुङ, कांग्रेस
लमजुङ २ – भेषबहादुर पौडेल, कांग्रेस
मनाङ १ – मुनिन्द्र गुरुङ, कांग्रेस
मनाङ २ – राजीव गुरुङ (निर्विरोध निर्वाचित)
मुस्ताङ १ – नाम्डु गुरुङ, कांग्रेस
मुस्ताङ २ – विकल शेरचन, कांग्रेस
म्याग्दी १ – हरि भण्डारी, माओवादी केन्द्र 
म्याग्दी २ – रमेश जुग्जाली, माओवादी केन्द्र 
बागलुङ १ (१) – दीपेन्द्रबहादुर थापा, कांग्रेस
बागलुङ १ (२) – डिल्लीराम सुवेदी, कांग्रेस
बागलुङ २ (१) – जित शेरचन, कांग्रेस
बागलुङ २ (२) – द्रोण कुँवर, कांग्रेस
पर्वत १ – भक्त कुँवर, एमाले 
पर्वत २ – मित्रलाल बस्याल, एमाले
स्याङ्जा १ (१) – सीता सुन्दास, एमाले 
स्याङ्जा १ (२) – सुधीर पौडेल, कांग्रेसको अग्रता
स्याङ्जा २ (१) – मतगणना अनिश्चित
स्याङ्जा २ (२) – मतगणना अनिश्चित
नवलपरासी पूर्व १ (१) – महेन्द्रध्वज जीसी, कांग्रेस
नवलपरासी पूर्व १ (२) – रोशन गाहा, एमाले
नवलपरासी पूर्व २ (१) – पद्मा जीसी श्रेष्ठ, एमाले
नवलपरासी पूर्व २ (२) – लक्ष्मण पाण्डे, एमाले
गोरखा १ (१) – कृष्ण धिताल, नेकपा (माओवादी केन्द्र)  
गोरखा १ (२) – नन्दप्रसाद न्यौपाने, कांग्रेस
गोरखा २ (१) – फणिन्द्र देवकोटा, नेपाल समाजवादी पार्टी 
गोरखा २ (२) – सुरेन्द्रराज पाण्डे, कांग्रेस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC