
काठमाडौं । श्रीराम गुरुङ यतिबेला काठमाडौं क्षेत्र नम्बर ५ मा आफूलाई निर्वाचित गराउन आह्वान गरिरहेका छन् ।
पत्रकारिता विषयमा विद्यावारिधी गरिरहेका गुरुङ यो क्षेत्रमा स्वतन्त्र उमेदवार छन् ।
पछिल्लो समय उनको उमेदवारीले चर्चा पनि पाइरहेको छ । मतदातामाझ भोट मागिरहेका गुरुङसँग बाह्रखरीका रोमन आचार्य र कुञ्जरमणि भट्टराईले केही प्रश्न गरेका छन् । प्रस्तुत छ सम्पादित अंश :
निरन्तर मतदातामाझ पुगिरहनुभएको छ । प्रतिक्रिया कस्ता छन् ?
पछिल्लो समय सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । हामीसँग समय छोटो समय छ ।
सबै समक्ष हाम्रा विचार पुर्याइदिन साथीभाइहरुलाई आग्रह गरिरहेका छौं । विचार मन परे भोट दिन भनिरहेका छौं ।
नयाँ अनुहार हुनुहुन्छ । भोट माग्न सहज हुँदोरहेछ कि असहज ?
जनताहरुमा राजनीतिक नेतृत्वप्रति वितृष्णा छ । नयाँ अनुहार खोजिरहनुभएको छ ।
तर, नयाँ अनुहारहरुलाई एकैपटक विश्वास गर्ने अवस्था पनि छैन । किनभने धेरै नयाँ अनुहारहरु आइरहनुभएको छ ।
स्वतन्त्र उमेदवारहरुबीच तपाईंंलाई नै चाहिँ किन विश्वास गर्ने ?
म आफूले आफूलाई त बेस्ट भनि नै हाल्छु । तपाईंहरुले एकपटक चेक गरिदिनुहोला । मसँग शिक्षा, सामाजिक संस्थाहरुमा धेरै वर्ष लिड गरेको अनुभव छ ।
सरकारका विभिन्न तह, बोर्डलगायतमा भूमिका खेलिसकेको छु । संविधान, कानुनका बारेमा धेरै थाहा छ । म पत्रकारितामा पीचएडी गर्दैछु । धेरै कुरा बुझ्ने अवसर पाएकाले म अब्बल छु भन्ने दाबी हो ।
राजनीतिमा नै चाहिँ किन आउनुभयो ?
भविष्य निर्माता भनेको राजनीति हो । प्रतिनिधिसभामा हामी गएर आवाज नउठाउने, हस्तक्षेप नगर्ने हो भने जसले नेतृत्व गरिरहेको छ त्यहाँबाट देशले विकास पाउँदैन भन्ने निर्क्यौल हो । म विगत १० वर्षदेखि राजनीतिक अभियन्ता नै थिए ।
दलीय व्यवस्थामा एकजना स्वतन्त्र व्यक्ति संसद्मा पुगेर हस्तक्षेपकारी भूमिका खेल्न सक्छ ?
कुनै पनि दलसँग बहुमत पुग्दैन । सबैभन्दा ठूलो दल बन्नेले पनि ७०–८० सिट ल्याउला । त्यसो हुँदा केही प्र्रस्ताव पास गर्दा ३–४ वटा दलको समर्थन आवश्यक पर्ला ।
मैले लाने प्रस्तावमा पनि ३–४ वटा दलले समर्थन गरे पास भइहाल्छ नि । हाम्रो हैसियत उस्तै हो । दलका सांसदलाई ह्वीप लाग्छ । म त स्वतन्त्र छु ।
स्थानीय तहमा स्वतन्त्रमा देखिएका मतदाताहरुको साथ तपाईंलाई छ ?
मैले कुनै वर्ग भन्दा पनि देशको हक हितको कुरालाई अगाडी लिएर गएको छु । जो–जसले मेरो विचार योजना मन पराउनुभएको छ । उहाँसगै सहकार्य गरिरहेको छु ।
तपाईंले यही क्षेत्र किन रोज्नुभयो ?
म जुन टोलबाट हुर्केँ त्यहीँबाट प्रतिनिधि बन्नुपर्छ भन्ने हो । म त्यही टोललाई राम्रोसँग बुझ्दछु जान्दछु ।
यो क्षेत्रबाट निर्वाचित हुनेमा आशावादी छु । मलाई आएको प्रतिक्रियाले आशावादी छु । समय छोटो भएकाले चुनौति पनि छ ।