
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चौथोपटक सांसदको दौडमा छन् । बाह्रखरीले अनुमोदन गरेका २५ उमेदवारको सूचीमा थापा पहिलो नम्बरमा परेका छन् ।
दोस्रो जनआन्दोलनमा अग्रमोर्चामा रहेका थापा तेस्रोपटक सांसदको प्रतिष्पर्धामा छन् ।
सांसद जितेरमात्रै नभइ यसपल्ट प्रधानमन्त्रीको उमेदवारका लागि पार्टीभित्रैबाट अघि सर्ने प्रतिवद्धता पनि उनले गरेका छन् ।
चुनावी प्रचारमै रहेका थापालाई बाह्रखरीका रोमन आचार्य र कुञ्जरमणी भट्टराईले सोही स्थानमा पुगेर चुनावी तयारीका प्रश्न गरेका छन् । प्रस्तुत छ संवादको सम्पादित अंश :–
तेस्रोपटक निर्वाचित सांसद बन्ने दाउमा हुनुहुन्छ । कस्तो पाउँदै हुनुहुन्छ माहोल ?
म यसअघि जनताकहाँ आउँदा जस्तो माहोल थियो अहिले पनि त्यस्तै छ । पहिलो र दोस्रोपटक चुनावी अभियानमा आउँदा जस्तो हार्दिकता थियो अहिले पनि त्यस्तै छ ।
घरदैलोको क्रममा कतिपयका गुनासा देखिए, अलमललाई बुझाउने मौका पनि पायौँ ।
आफ्नै राजनीतिको रिर्टायडमेन्टको घोषणा गरिसक्नुभएको छ । अघिल्लो पुस्ताले छाड्नुपर्छ भन्नुभएको छ । यसलाई तपाईंका मतदाताले कसरी लिएका रहेछन् ?
नेपालको संसदीय व्यवस्थाले परिणाम दिन नसक्नुको एउटा ठूलो कारण भनेको चाहिँ नेपालको राजनीतिक दलभित्र एउटा तहको नेतृत्वको पूर्णतः कब्जा रहने र प्रकारान्तरले त्यही कुरा संसद्भित्र पनि शक्तिको रुपमा रहने अवस्था छ ।
जसको कारणले नेपालमा भूतपूर्व प्रधामन्त्रीहरुले चलाएको देश बनेको अवस्था सिर्जना भएको छ । यसलाई नबदलिकन हाम्रो प्रणालीले ‘डेलिभर’ गर्न सक्दैन ।
किनकि त्यो हुटहुटी छटपटी अति आवश्यकता र डर पाका नेतृत्वमा हुँदै हुँदैन । पार्टीमा आफ्नो कब्जा छँदैछ, निर्वाचन जितिहालिन्छ अनि डर के को हुन्छ र ?
कहिल्यै छोड्नुपर्दैन भन्ने सोच देखिन्छ ।
यहाँ त नेपालको ठूलो राजनीतिक दलको संसदीय दलको चुनावसमेत नहुने भयो किनकि संसदीय दलभित्र कसैले चुनौती पनि दिन नसक्ने भयो ।
तलको जनताको तहमा चाहिँ यति ठूलो परिवर्तन खोजेको छ राजनीतिक यथार्थता चाहिँ संसदीय दलको चुनावसमेत नहुने अवस्था आउँदै गर्दा कम्तिमा मैले चाहिँ सार्वजनिक रुपमा अठोट व्यक्त गरेको भनेको चाहिँ म त्यो लडाईं लड्छु ।
म संसदभित्र गएर चुनौती दिन्छु र बदल्ने प्रयास गर्छु । मेरो अठोट चाहिँ बदलेर छाड्छु भन्ने हो ।
त्यो कुरा आफ्नो मतदातालाई भनेको छु र मतदाताले किन विश्वास गर्नुभएको छ भने उहाँहरुले नजिकबाट देख्नुभएको छ ।
म लडेर आएको र लड्छु भनेपछि लड्ने मान्छे हो भनेर उहाँहरुलाई थाहा छ । यसले आशा र उत्साहको सञ्चार गरेको छ ।
प्रधानमन्त्री बन्छु भनेर बोलिरहनुभएको छ, यो भोट तान्नमात्रै हो कि साँच्चै व्यवहारमा लागू गर्न पनि हो ?
४ गते मंसिरमा चुनाव हुन्छ । ७,८ गते परिणाम आउला ।
मंसिरको मसान्तमा कांग्रेस संसदीय दलको चुनाव त होला नि अनि त्यो संसदीय चुनाव नलड्ने सुविधा त मसँग छँदै छैन ।
म १३औं महाधिवेशनमा महामन्त्री लड्छु भनेर अठोट गरेपछि आफ्नै ससुरा बासँग चुनाव लडेको हो नि ।
त्यसकारणले योसँग जोडिएको राजनीतिक जोखिम मलाई थाहा छ ।
त्यो थाहा पाएर पनि मैले किन पटकपटक भनिरहेको भने त्यो भन्ने कुराले मलाई बाँध्छ अनि म सँग दाँयाबाँया गर्ने सुविधानै रहँदैन ।
गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल संसद्मा हुनुपर्छ भन्ने नारा पनि सुनियो, त्यो सम्भावना होला ?
यो एकदमै सकारात्मक र उत्साह थप्ने विषय हो ।
यदि मान्छेले नेपालमा मानिसहरुले ठूलो राजनीतिक बदलाव खोजेको हो भने त म प्रधानमन्त्री बन्छु भनिरहेको छु म संसद्मा पुग्नुपर्ला नि ।
प्रधानमन्त्री बनाउन मेरो प्रस्तावक बस्ने विश्वप्रकाश शर्मा संसद्मा पुग्नुपर्ला । मलाई मत हाल्ने प्रदीप पौडेल पुग्नुपर्छ ।
बदलाव चाहिँ राजनीतिक दलको नेतृत्वमा चमत्कार होस् भनेर खोज्ने अनि त्यो चमत्कार नभए पनि बदलावको भूकम्प ल्याउँछु भन्ने मान्छेलाई संसद् बाहिर राखियो भने त कहीँ कतै पुगिँदैन ।
यो क्षेत्र काठमाडौं ४ का लागि गर्नुपर्ने कामहरु चाहिँ के छन् ?
यो क्षेत्रमा ०७०–७१ बाट सुरु गरिएका विकास निर्माणका पूर्वाधारहरु छन् यसलाई बिट मार्नुपर्ने बेला आएको छ ।
हामी अहिले कुरा गरिरहेको यही सडक हेर्दा ०७० मा सुरु भएको हो ।
त्यो अघि हामी हिँडेर पैदल आउथ्यौं यहाँ । आज हामी साथीहरुले निर्धक्क सवारीसाधन कुदाएर आउने मौका पाउनुभएको छ ।
यो क्षेत्र भरिएको पूर्वाधारको कुरा टुंगोमा पुर्याउन बाँकी छ केही नयाँ आवश्यक छ । मुख्य कुरा यहाँ खानेपानीको समस्या छ ।
जुन काठमाडौं उपत्यकासँग जोडिएको विषय हो । मेलम्ची खानेपानी वितरणलाई चाँडोभन्दा चाँडो ल्याउने र मेलम्ची आइसकेपछि पनि अभाव हुन्छ यहाँ ।
मेलम्ची भाग २ र ३ लाई पनि चाँडो टुंगोमा पुर्याउने त्यसकारण खानेपानीको विषयलाई टुंगोमा पुर्याउने प्राथमिकता अब मेरो हुन्छ ।
गठबन्धनभित्र सरसहयोग र समीकरण यहाँ सामान्य कि जटिल के पाउनुभयो ?
हामीकहाँ सकारात्मक वातावरण छ । स्थानीय तह निर्वाचनमा मिलेर जान नसकेको भन्ने कुराहरुको केही गुनासो थियो । त्यो कुराहरुको मनमाझ भएको छ ।
प्रदेशमा नेकपा(एस) बाट कुसुम कार्की उमेदवार हुुनुहुन्छ अर्कोतिर कांग्रेसले नै पाएको छ । तर, समानुपातिकतर्फ प्रशस्त उमेदवार हुनुभएकोले गर्दा हामी एक ठाउँमा गोलवद्ध भएर हिडेका छौं ।
कार्यतालिका कार्यदिशा मिलेर बनाएका छौं । हाम्रोबीचमा हार्दिकता छ मतदातासम्म यसलाई लिएर जानुछ ।